कारको ठक्करबाट तीन वर्षीया बालिकाको मृत्यु भएपछि अष्ट्रेलियामा पक्राउ परेका नेपाली युवा जमानतमा रिहा

कारको ठक्करबाट तीन वर्षीया बालिकाको मृत्यु भएपछि अष्ट्रेलियामा पक्राउ परेका नेपाली युवा जमानतमा रिहा


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, ३१ भाद्र २०८३
  • 589
    Shares

पोखरा , ३१ भदौ २०८३ ।

कारको ठक्करबाट तीन वर्षीया बालिकाको मृत्यु भएपछि अष्ट्रेलियामा पक्राउ परेका एक नेपाली युवा जमानतमा रिहा भएका छन्।

अष्ट्रेलियाको पश्चिमी सिड्नीस्थित अर्बनमा कारको ठक्करबाट तीन वर्षीया बालिकाको मृत्यु भएको घटनामा पक्राउ परेका नेपाली युवक २७ वर्षीय सन्दीप अधिकारी अदालतको आदेश वमोजिम जमानतमा रिहा भएका हुन्।

लापरवाहीपूर्वक सवारी चलाएर मृत्यु निम्त्याएको आरोपमा प्रहरीले पक्राउ गरेका अधिकारी हाल जमानतमा छन्। उनलाई आगामी अक्टोबर २७ मा पुनः अदालतमा उपस्थित हुन आदेश दिइएको छ।

समाचार संस्था द अस्ट्रेलिया टुडेका अनुसार घटनाको २४ घण्टाभन्दा कम समयमै अधिकारी बुधबार बर्वुड स्थानीय अदालतमा उपस्थित भएका थिए। अदालतमा उपस्थित हुँदा उनले आफूविरुद्ध लागेको आरोपबारे स्वीकार वा अस्वीकार गर्ने कुनै प्रतिक्रिया दिएका छैनन्।

अदालतबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरूले प्रश्न गर्दा अधिकारीसँग केही समर्थक पनि देखिएका थिए। रिपोर्टअनुसार उनले कागजको पानाले आफ्नो अनुहार छोप्ने प्रयास गरेका थिए।

अधिकारीका वकिल ड्यानी इडले घटनालाई ‘अत्यन्तै दुःखद’ बताएका छन्। उनका अनुसार अधिकारी घटनापछि निकै तनावमा छन् र मृतक बालिकाको परिवार तथा उनीहरूको अवस्थाप्रति चिन्तित छन्।

प्रहरीका अनुसार मंगलबार दिउँसो करिब २ बजे अर्बनको नर्मनबी रोडमा रहेको ड्राइभवेमा खेलिरहेकी बालिकालाई कारले ठक्कर दिएको खबर पाएपछि आपत्कालीन सेवाका टोली घटनास्थल पुगेका थिए।

गम्भीर घाइते बालिकालाई तत्काल वेस्टमिड अस्पताल लगिएको थियो। उपचारका क्रममा केही घण्टापछि उनको मृत्यु भएको थियो।

घटनामा अधिकारी भने घाइते नभएको बताइएको छ। अनिवार्य परीक्षणका लागि उनलाई अर्बन अस्पताल लगिएपछि प्रहरीले नियन्त्रणमा लिएर अर्बन प्रहरी स्टेसन पुर्‍याएको थियो।

घटना अदालतमा विचाराधीन रहेकाले अधिकारीमाथि लगाइएको आरोप अहिलेसम्म प्रमाणित भएको छैन। अदालतको अन्तिम निर्णय नआएसम्म उनलाई आरोपित व्यक्तिका रूपमा मात्र लिनुपर्ने हुन्छ।

प्रतिक्रिया