एमालेभित्र नेतृत्व परिवर्तनको बहस तीव्र : ओलीलाई हटाउने असन्तुष्ट समूहको देखियो यस्तो योजना

एमालेभित्र नेतृत्व परिवर्तनको बहस तीव्र : ओलीलाई हटाउने असन्तुष्ट समूहको देखियो यस्तो योजना


  • जनसञ्चार डट कम संवाददाता
  • बुधबार, ३ असार २०८३
  • 1.2K
    Shares

काठमाडौँ, ३ असार २०८३।

नेकपा एमालेभित्र अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वलाई लिएर आन्तरिक विवाद चर्किएको छ। पार्टीका केही शीर्ष नेताहरूले केन्द्रीय कमिटीबाटै नेतृत्व परिवर्तनको प्रक्रिया अघि बढाउने तयारी गरिरहेको बताइएको छ भने अध्यक्ष ओली पक्षले भने केन्द्रीय कमिटीमा आफ्नो बहुमत कायम रहेको भन्दै त्यहीँबाट आफूविरुद्धको प्रस्ताव रोक्न सकिने विश्वास राखेको छ।

मंसिर २७ देखि पुस ३ गतेसम्म सम्पन्न ११औँ महाधिवेशनबाट ओली पक्षले ठूलो संख्यामा केन्द्रीय सदस्य जितेको थियो। यही आधारमा ओली पक्षले पार्टीभित्र आफ्नो पकड बलियो रहेको दाबी गर्दै आएको छ।

तर, पार्टीका केही नेताहरूले भने वडादेखि केन्द्रसम्मका कमिटी पुनर्गठन गर्दै विशेष वा अर्ली महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन गर्नुपर्ने प्रस्ताव अघि सारेका छन्। उनीहरूको प्रस्तावअनुसार सबै तहका कमिटी भंग गरी आयोजक समिति गठन गरेर अधिवेशनको प्रक्रिया सुरु गर्ने तयारी रहेको बताइएको छ।

यस प्रक्रियाका लागि आयोजक समितिको नेतृत्व पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी लाई दिने विषयमा समेत छलफल भइरहेको स्रोतहरूको दाबी छ। पार्टीका उपाध्यक्ष विष्णु पौडेल, गोकर्ण विष्ट, महासचिव शंकर पोखरेल र उपमहासचिव योगेश भट्टराई लगायतका नेताहरू पुनर्गठन पक्षमा सक्रिय रहेको बताइएको छ।

पार्टीभित्रको असन्तुष्ट समूहले तल्लो तहका कार्यकर्ताबाट समेत अध्यक्ष ओलीको नेतृत्वमा अघि बढ्न कठिन भएको सुझाव आएको दाबी गरेको छ। चुनावी समीक्षा र पार्टी पुनर्गठनका लागि गठन गरिएको १५ सदस्यीय कार्यदलले प्रदेशस्तरबाट सुझाव संकलन गरिरहेको छ।

बागमती प्रदेशस्तरीय भेलामा अध्यक्ष ओलीको नेतृत्वबारे प्रश्न उठाइएको बताइएको छ। भेलामा सहभागी एक नेताका अनुसार, “अध्यक्षले जिम्मेवारी छोड्नुपर्ने र उहाँकै नेतृत्वमा पार्टी अगाडि बढ्न नसक्ने अवस्था रहेको” सुझाव आएको थियो।

पुनर्गठन पक्षधर नेताहरूले केन्द्रीय कमिटी बैठकमा पार्टी संरचना परिवर्तनसम्बन्धी प्रस्ताव प्रस्तुत गर्ने तयारी गरेका छन्। उनीहरूका अनुसार टोल, वडा, पालिका, जिल्ला, प्रदेश र केन्द्रसम्मका संरचना पुनर्गठन गरी नयाँ प्रक्रियाबाट नेतृत्व चयन गर्नुपर्ने आवश्यकता छ।

अध्यक्ष ओली भने पद छोड्ने पक्षमा छैनन्। निर्वाचित प्रक्रियाबाट अध्यक्ष बनेकाले कसैले माग्दैमा जिम्मेवारी त्याग नगर्ने अडान उनले राख्दै आएका छन्।

यसैबीच, एमाले महासचिव शंकर पोखरेलले पार्टीलाई नयाँ ढंगले अघि बढाउनुपर्ने आवश्यकता रहेको बताएका छन्। उनले चुनावी समीक्षा र कार्यकर्ताको सुझावका आधारमा आगामी निर्णय हुने बताएका छन्।

“यथास्थितिमा पार्टीलाई एकताबद्ध गर्न सम्भव छैन। नयाँ ढंगले अगाडि बढ्ने कुरा स्वाभाविक हो,” पोखरेलले बताएका छन्।

उपाध्यक्ष रघुजी पन्तले पनि कार्यदलको प्रतिवेदनपछि केन्द्रीय कमिटी बैठक बसेर आवश्यक निर्णय गरिने बताएका छन्।

कार्यदलले असार मसान्तसम्म प्रतिवेदन बुझाउने तयारी गरेको छ। त्यसपछि केन्द्रीय कमिटी बैठकमा पार्टीको आगामी दिशा तय हुने बताइएको छ।

पुनर्गठन पक्षधर नेताहरूले विशेष वा अर्ली महाधिवेशनमार्फत नयाँ पुस्ताको नेतृत्व ल्याउनुपर्ने धारणा राख्दै आएका छन्। उनीहरूको दाबी छ कि नेतृत्व परिवर्तनसँगै पार्टीलाई नयाँ विचार, कार्यक्रम र जनतासँग जोडिने नयाँ अभियान आवश्यक छ।

प्रतिक्रिया