नुवाकोटको एक होटलमा सशस्त्र प्रहरीकी महिला जवान मृत भेटिइन् : प्रेमी नेपाल प्रहरीका जवान नियन्त्रणमा

नुवाकोटको एक होटलमा सशस्त्र प्रहरीकी महिला जवान मृत भेटिइन् : प्रेमी नेपाल प्रहरीका जवान नियन्त्रणमा


  • जनसञ्चार डट कम संवाददाता
  • शुक्रबार, २९ जेष्ठ २०८३
  • 7K
    Shares

नुवाकोट, २० जेठ २०८३ । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर ६, खम्बा क्याम्पस्थित एक होटलमा सशस्त्र प्रहरी बलमा कार्यरत एक महिला प्रहरी जवान मृत अवस्थामा भेटिएकी छिन्।

खम्बा क्याम्प नजिकै रहेको ‘फेमिली लज एण्ड होटल’ को कोठाभित्र मङ्गलवार रुकुम पश्चिम घर भएकी काठमाडौँको जगन्नाथदेवलस्थित केन्द्रीय कारागार सुरक्षा बेसमा कार्यरत २४ वर्षीया सशस्त्र प्रहरी जवान सुनिता बुढामगर झुन्डिएको अवस्थामा मृत भेटिएकी हुन्।

होटलको कोठामा अचेत अवस्थामा भेटिएकी उनलाई तत्काल उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल त्रिशूली लगिएको थियो। तर, अस्पताल पुर्‍याउनासाथ चिकित्सकहरूले उनलाई मृत घोषित गरेका थिए। मृतक बुढामगरको शव अहिले पोस्टमार्टमका लागि त्रिशूली अस्पतालमै राखिएको प्रहरीले जानकारी दिएको छ।

प्राप्त विवरण अनुसार, सशस्त्र प्रहरी जवान सुनिता काठमाडौँको जगन्नाथदेवलस्थित केन्द्रीय कारागार सुरक्षा बेसमा कार्यरत नेपाल प्रहरीका जवान वासुदेव थापामगरलाई भेट्न नुवाकोट आएकी थिइन्। जवान थापामगर हाल नुवाकोटको खम्बा क्याम्प (खुला कारागार) मा ड्युटीमा खटिएका थिए। उनीहरू विगत केही समयदेखि प्रेम सम्बन्धमा रहेको र सोही क्रममा भेटघाटका लागि सुनिता नुवाकोट पुगेको खुलेको छ।

घटनाको प्रकृति र प्रेम सम्बन्धको पाटोलाई हेर्दै जिल्ला प्रहरी कार्यालय नुवाकोटले अनुसन्धानका लागि सुनिताका साथी भनिएका प्रहरी जवान वासुदेव थापामगरलाई नियन्त्रणमा लिएको छ। घटना आत्महत्या हो या अन्य कुनै कारण, भन्नेबारे पोस्टमार्टम रिपोर्ट र थप अनुसन्धानपछि मात्रै वास्तविक तथ्य बाहिर आउने प्रहरीले जनाएको छ।

प्रतिक्रिया