काठमाडौँ, ३ बैशाख २०८३ ।
तीन घण्टा पैदल हिँडेर राती प्रेमिकालाई भेट्न प्युठानको एक सामुदायिक वन क्षेत्रस्थित जंगलमा पुगेका एक युवाको गोली लागेर मृत्यु भएको छ भने उनकी प्रेमिका घाइते भएकी छिन।
तीन घण्टा पैदल हिँडेर प्युठानको गौमुखी गाउँपालिका–४ सुँङगुरखालस्थित जुपाल सामुदायिक वनमा गएको चैत २९ गते राति पुगेका नौबहिनी गाउँपालिका–४ खबाङका १९ वर्षीय सुशिल परियारको गोली लागेर मृत्यु भएको हो भने उनको गौमुखी गाउँपालिका–४ की १८ वर्षीया प्रेमिका घाइते भएकी छिन्।
उक्त घटनामा संलग्न रहेको आरोपमा गौमुखी–४ खलाबाङका २७ वर्षीय वीरेन्द्र केसी, उनका भाइ विश्वास केसी, १९ वर्षीय रवी केसी र एक १५ वर्षीय बालकलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी निरीक्षक हरि भट्टराईले जानकारी दिए । घटनामा प्रयोग गरिएका दुई थान भरुवा बन्दुक पनि ब’रामद गरिएको प्रहरीले जिकिर गरेको छ।
प्रहरीका अनुसार गौमुखी–४ खलाबाङका २७ वर्षीय वीरेन्द्र केसीसहित चारजना शिकार खेल्न जंगल पुगेका थिए । राति करिब १०ः४५ बजे झाडी हल्लिएको र प्लास्टिक बजेको आवाज सुनेपछि जंगली जनावर भएको आशंकामा केसीले भरुवा बन्दुकबाट गोली हाने । बँदेल ढलेको ठानेर घटनास्थल पुग्दा किशोर र किशोरी घाइते अवस्थामा भेटिएका थिए । त्यति बेला गोली लागेर गम्भीर घाइते भएका सुशिल परियारको बुटवलस्थित लुम्बिनी सिटी हस्पिटलमा उपचारका क्रममा उनको चैत ३० गते मृत्यु भएको प्रहरी निरीक्षक हरि भट्टराईले बताए ।
परियारसँगै रहेकी गौमुखी गाउँपालिका–४ की १८ वर्षीया किशोरी पनि घाइते भएकी छन् । उनको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।
प्रारम्भिक अनुसन्धान अनुसार मृतक परियार आफ्ना साथी सन्जु परियार (दुर्जे दमाई)सँग करिब साढे तीन घण्टा पैदल हिँडेर उक्त जंगल क्षेत्रमा पुगेका थिए । उनले फोनमार्फत किशोरीलाई भेट्न बोलाएका थिए । किशोर र किशोरी सँगै रहेको बेला गोली लागेको हो । चारजना जंगलमा बसेर गफ गर्दै बन्दुक चलाएको प्रहरीले जनाएको छ ।
घटनापछि प्रहरीले मुख्य आरोपी वीरेन्द्र केसीलाई चैत ३० गते पक्राउ गरेको थियो । उनीसँगै शिकार खेल्न गएका उनका भाइ विश्वास केसी, १९ वर्षीय रवी केसी र एक १५ वर्षीय बालकलाई पनि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । घटनामा प्रयोग गरिएका दुई थान भरुवा बन्दुकसमेत बरामद गरिएको छ ।
मृतकका बुबा गाजिराम दमाईको जाहेरीका आधारमा पक्राउ परेका चारै जनामाथि ज्यानसम्बन्धी कसुर तथा हातहतियारसम्बन्धी मुद्दा चलाउने तयारी गरिएको छ । प्युठान जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिई अनुसन्धान अघि बढाइएको प्रहरी निरीक्षक भट्टराईले जानकारी दिएका छन् ।