पोखरा ,२ बैशाख २०८३।
सामाजिक सञ्जालमार्फत चिनजान गरेर भेट्न बोलाई स्कुटर लुटेको आरोपमा चितवनबाट एक युवतीसहित दुई जना पक्राउ परेका छन्।
फेसबुकमा चिनजान गरेपश्चात मेसेन्जरमा कुराकानी भएकी aneey tmg लाई भेट्न पुगेका भरतपुर महानगरपालिका–३ बस्ने ४९ वर्षीय पुरुषको स्कुटर लुटेको आरोपमा प्रहरीले एक युवतीसहित दुई जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा कालिका नगरपालिका–७ नमुना टोलका १८ वर्षीय एनी तामाङ र २५ वर्षीय विजय सुनार रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ।
प्रहरीका अनुसार , ‘ANEEY TMG’ नामको फेसबुक एकाउन्ट मार्फत पीडित संग चिनजान भई फोनमा समेत कुराकानी भइरहेको अवस्थामा ती युवतीले गएको गत फाल्गुन २९ गते ति पुरुषलाई जुटपानीको मिठुचोकबाट गुम्बाजाने भित्रि बाटोमा भेट्न बोलाएकि थिइन् । उक्त स्थानमा पुगेपछि योजनाबद्ध रूपमा अन्य व्यक्तिलाई समेत बोलाई पीडितलाई कुटपिट गरी उनीसँग रहेको बा.प्र–००४ प ५८८९ नम्बरको स्कुटर लुटेर भागेको प्रहरीले जिकिर गरेको छ ।
पछि पीडितले स्कुटर फिर्ता माग्दा रकम माग्ने तथा रकम नदिए जबर्जस्ती करणी मुद्दा लगाइदिने भन्दै धम्की दिएको उजुरी प्रहरीमा परेको थियो।
उनीहरु दुवै जनालाई प्रहरीले भरतपुर महानगरपालिका- १० वीरेन्द्र क्याम्पस रोडबाट आइतबार पक्राउ गरेर अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।