पोखरा ३० चैत्र २०८२ ।
काठमाण्डौमा गएराती ट्रकले मोटरसाइकललाई ठक्कर दिंदा एक जना ट्राफिक प्रहरी निरिक्षक घाइते भएका छन्।
ड्युटी सकेर घर फर्किदै गरेका उपत्यका ट्राफिक प्रहरी कार्यालयको मानव स्रोत व्यवस्थापन शाखामा कार्यरत ट्राफिक प्रहरी निरिक्षक (इन्सपेक्टर) अभय लामा सवार बा प्र०२–०२९ प ९४१५ नम्बरको मोटरसाइकललाई बा प्र ०३–००१ ख १७१५ नम्बरको ट्रकले आइतबार राति सवा ११ बजे तारकेश्वर नगरपालिका–८ डाँडागाउँमा ठक्कर दिएको प्रहरीले जानकारी दिएको छ।
उक्त दुर्घटनामा परेर गम्भीर घाइते भएका रामेछाप घर भई हाल तार्केश्वरक-७ फुटुङमा बस्दै आएका ट्राफिक प्रहरी निरिक्षक लामाको हाल बिएण्डबी अस्पतालमा उपचार भइरहेको छ।
प्रहरीले ठक्कर दिने ट्रक चालक मकवानपुरको मनहरी-५ का ३८ वर्षीय राम मोक्तानलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।
२०७२ सालमा प्रहरी जवानमा भर्ना भै खुला प्रतिस्पर्धाद्वारा प्रहरी सहायक निरीक्षक बनेका प्रहरी निरिक्षक लामा पछि फेरि खुला प्रतिस्पर्धाबाटै प्रहरी निरीक्षकमा नाम निकालेका थिए ।