प्रधानमन्त्री पुष्पकमल दाहालले मंगलबार संसदमा सम्बोधानपछि राजिनामा दिने भएका छन् । उनले उक्त जानकारी मन्त्रिपरिषद्को बैठकमा दिएका हुन् ।
‘बैठकमा उहाँ (प्रधानमन्त्री) ले आलोपालोको सहमति भएको हो, सहमति अनुसार नै राजिनामा दिन्छु भन्नुभयो’ सहकारी तथा गरिवी निवारण मन्त्री ह्दयराम थामीले भने, ‘संसदमा सम्बोधनपछि राष्ट्रपतिसमक्ष राजिनामा दिने जानकारी गराउनु भयो ।’
यसअघि दाहाल नेतृत्वमा सरकार गठनकै बेला नौ महिनापछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा समर्थन गर्ने सहमति माओवादी केन्द्र र कांग्रेसबीच भएको थियो ।
मन्त्रिपरिषद्को बैठक लगतै प्रधानमन्त्री दाहालका पुत्र तथा स्वकीय सचिव प्रकाश दाहालले पनि आफ्नो फेसबुक पोष्टमा प्रधानमन्त्रीले राजिनामा दिने उल्लेख गरेका छन् । उनले लेखेका छन्, ‘सडकमा राजिनामा माग्दै नाराबाजी हुँदा, संसदमा बहुमत गुम्दा, अविश्वास प्रस्ताव दर्ता हुँदा पनि राजिनामा नदिने नेता हरेको मुलुकमा प्रधानमन्त्री प्रचण्डले नेपाली राजनीतिमा सहमतिका पालनामा इमान्दार बन्नुपर्छ भन्ने स्थापित गर्न राजिनामा दिँदैछन् ।’