त्यो एकता के एकता ?: मोहन वैद्य किरण

त्यो एकता के एकता ?: मोहन वैद्य किरण


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, ७ असार २०७३
  • 10.2K
    Shares

जनवादी क्रान्तिको मूलभूत कार्यभार सामन्तवादी, वैदेशिक प्रतिकृयावादी उत्पीडन अथवा साम्राज्यवादी विस्तारवादी उत्पीडनको अन्त्य गर्ने भन्ने हो । सामन्तवादका केही अवशेषहरुको अन्त्य भएको छ । खासगरी राजतन्त्रको अन्त्य भएको छ र गणतन्त्रको स्थापना भएको छ । तर सामन्तवादी उत्पादन सम्बन्ध अझै स्थापित हुन सकेको छैन । संविधानमा गणतन्त्र, धर्मनिरपेक्षता, सङ्घीयता, समानुपातिक प्रतिनिधित्व लगायतका विषयहरु आंशिकरुपमा र मात्रात्मक रुपमा उल्लेख भएका छन् । समग्रमा हेर्ने हो भने अहिले पनि राज्यसत्ता दलाल, नोकरसाही पुँजीपति र सामन्तवादीहरुकै हातमा छ । त्यसकारणले केही परिर्वतन भए पनि मूलभूतरुपमा सामन्तवादलाई पल्टाउन बाँकी नै छ । सामन्ती उत्पादन सम्बन्धमा जुन क्रान्ति गर्नुपर्ने हो सामन्त अर्धऔपनिवेशिक, नवऔपनिवेशिक उत्पादन सम्बन्धमा जुन क्रान्ति गर्नुपर्ने हो अझै पनि त्यो पूरा हुन सकेको छैन ।

सामन्तवादी उत्पीडनको साथसाथै वैदेशिक प्रतिकृयावादी उत्पीडन झनै बढेर गएको छ । तीव्र हुँदै गएको छ । साम्राज्यवादको नवउदारवादी अर्थतन्त्रअन्तर्गत जुन प्रकारले शोषण उत्पीडनको प्रक्रिया अगाडि बढेको छ, विस्तारवादी उत्पीडन झनै चर्किंदै गएको छ । सामान्तवाद र साम्राज्यवादविरुद्ध लड्नुपर्ने विषय त सिङ्गो बाँकी नै छ । तसर्थ जनवादी क्रान्तिका मूलभूत कुराहरु बाँकी नै रहेका छन् । त्यसका लागि अब सङ्र्घष गर्ने बेला आएको छ ।

आंशिकरुपमा रुपान्तरित र परिवर्तित भएका छन् ती कुराहरु ठिकै छन् । समग्रमा रुपान्तरित नभएको कुरामा ध्यान दिँदै साम्राज्यवाद र विस्तारवादका बीचको उत्पीडनलाई कसरी अन्त्य गर्ने भन्ने विषयमा गम्भीरतापूर्वक सोचेर एउटा कार्यदिशा बनाउनु पर्दछ र त्यो कार्यदिशा भनेको नयाँ जनवादी क्रान्तिको कार्यदिशा नै हो । सामान्तवादी भूमण्डलीकरण तीव्र बन्दै गइरहेको अवस्थामा नवउदारवादी अर्थनीति र नवऔपनिवेशिक उत्पीडन तीव्र बन्दै गएको छ । यस्तो अवस्थामा नयाँ ढङ्गले जनवादी क्रान्तिका कार्यभारलाई सम्पन्न गर्नुपर्दछ ।

जनवादी क्रान्ति सम्पन्न गर्ने राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक आधारहरु छन् । दलाल पुँजीपति वर्ग, नोकरसाह पुँजीपतिवर्ग र सामन्तवर्गको पुरानो राज्यसत्ता अन्त्य गर्ने राजनीतिक कार्यदिशा नै मूलरुपमा जनवादी क्रान्तिको आधार रहेको छ । भने राजनीतिमा सर्वहारावर्गको नेतृत्वमा जनताको जनवादी राज्यसत्ता गठन गर्ने राजनीतिक आधार हो । त्यसैगरी दलाल, नोकरसाही, पुँजीवादी अर्थतन्त्रको अन्त्य गर्ने जनवादी क्रान्तिको दोस्रो महत्वपूर्ण आर्थिक आधार हो । जसमा साम्राज्यवादी, नवउदारवादी अर्थतन्त्र, नवऔपनेवेशिक, विस्तारवादी हतोत्साहित उत्पीडन छ, त्यसको समूल नष्ट गर्ने कुरा आउँदछ ।

त्यसैगरी सांस्कृतिक क्षेत्रमा नयाँ जनवादी संस्कारको विकास गर्ने कुरा आउँछ, जनवादी संस्कारक भनेको सामान्तवाद, साम्राज्यवाद, वैदेशिक प्रतिकृयावाद विरोधी क्रियाकलाप गर्नु नै हो । त्यो वैज्ञानिक हुन्छ, द्वन्द्वात्मक भौतिकवादी दृष्टिकोणद्वारा त्यो संस्कृति आलोचित हुन्छ । त्यो संस्कृति राष्ट्रिय संस्कृति हुन्छ र त्यो जनताको जनवादमा आधारित संस्कृति हुन्छ । यसरी हेर्दा हामीलाई जनवादी क्रान्तिका लागि सांस्कृतिक आधार पनि प्रशस्त रहेको छ । जनवादी क्रान्तिका लागि पहिले सङ्घर्षका रुपहरु आउँछन् र त्यतिबेला क्रान्तिकारी पार्टीले सङ्र्घषका सबै रुपहरुको प्रयोग गर्न सक्दछ । त्यतिबेला आवश्यकता अनुसार संसदीय, गैरसंसदीय, शान्तिपूर्ण वा सशस्त्र सङ्घर्ष गरेर जनताको जनवादी व्यावस्था ल्याउन सकिन्छ । तर सङ्घर्षविना, बल प्रयोग नगरिकन जनवादी राज्यसत्ता प्राप्त गर्न सकिँदैन् । कुनै उपलब्धि हुन सक्दैन । हामीले पनि क्रान्तिकारी माओवादीको राष्ट्रिय भेलामार्फत दिन खोजेको कुरा यही हो ।

कम्युनिस्ट पार्टीमा समाजका अन्तर्विरोध, समाजको केही प्रभाव त पर्छ । सर्वहरावर्गको पार्टी भए तापनि विभिन्न समस्याहरु आइरहन्छन् कम्युनिस्ट पार्टीमा । यहाँ विभिन्न वर्ग क्षेत्रका मानिसहरु पनि हुन्छन् । तसर्थ पहिलो कुरो निम्न पुँजीपति चिन्तन प्रवृत्तिका विरुद्धमा सङ्घर्ष जारी राख्नुपर्दछ भने दोस्रो कुरा निम्न पुँजीवादी संस्कृतिमा सामन्तवाद, साम्राज्यवाद, प्रतिकृयावादहरु अलि बढी नै खेल्दछन् । त्यसैले क्रान्तिकारी आन्दोलनलाई रुपान्तरित गर्दै जानुपर्दछ । क्रान्तिकारी पार्टीभित्र टुटफुट विभाजन हुने कारणहरु पनि यी नै हुन् । एकातिर आन्तरिकरुपमा निम्न पुँजीवादी चिन्तन प्रवृत्ति अनि अन्य मानिसहरुको घुसपैठ, अब यी दुवैखालका खतरालाई रोकेर हामीले एउटा जुझारु क्रान्तिकारी पार्टीको विकास गर्नु पर्दछ । बेलाबेलामा पार्टीमा शुद्धीकरण अभियान पनि निरन्तर चलाउँदै जानुपर्दछ । पार्टीलाई चुस्त पारेर अघि बढाउनु पर्दछ । अनि मात्र जनवादी क्रान्ति गर्न सकिन्छ । पार्टीलाई मजबुत नबनाइकन क्रान्ति हुन सक्दैन ।

कम्यनिस्ट पार्टीभित्र जनवादी केन्द्रीयताको पुनस्र्थापना गर्नै पर्दछ । त्यसैगरी रणनीति र कार्यनीतिको पनि सश्लेषण गरेर नयाँ ढङ्गले क्रान्तिको आवश्यकतालाई पूरा गर्नसक्ने खालको माओवादी पार्टीको विकास गर्नु पनि जरुरी हुन्छ । सबै खालको पुरानै तरिकाले अबको क्रान्तिको आवश्यकतालाई धान्न सक्दैन । सामन्तवाद, नवऔपनिवेशिक, वैदेशिक प्रतिकृयावादलगायतको बदलिएको पछिल्लो अवस्थामा नयाँ ढङ्गले वर्ग विष्लेषण गर्नु जरुरी हुन्छ । राष्ट्रिय र अन्तर्राष्ट्रिय सबै हाम्रा आदर्शहरुको नयाँ आधारमा नयाँ ढङ्गको विकास व्याख्या गरिनु आवश्यक छ ।

हिजो जनवादी व्यावस्थाका लागि सँगै जनयुद्ध गरेका अवसर परस्त मानिसहरुले कम्यनिस्ट आचरणमै आशंका हुने खालको र अत्यन्तै लाजमर्दो गरी जनवादी क्रान्ति पूरा भई सक्यो भन्दै भागेर पुरानो हुने बाटोमा लाग्नु भएको देखिन्छ । बाबुरामको नयाँ शक्ति गैरकम्युनिस्ट खालको देखिएको छ । तसर्थ जनवादी क्रान्तिको बाटोबाट डराएर भागेकाहरुले शक्ति वा केन्द्रको नाम बदलेर मात्र उनीहरुबाट कुनै पनि प्रकारको क्रान्ति गर्न सक्ने सङ्केत देखिँदैन । अबको जनवादी क्रान्ति वास्तविक माओवादीले गर्छन् । त्यसलाई पूर्णतामा पुर्याएरै छाड्ने अठोट यतिबेला सबै क्रान्तिकारीहरुले गर्नैपर्ने हुन्छ ।

बाबुराम अब नयाँ भइसक्नु भयो । उहाँ कम्यनिस्टमा कही पनि अटाउन नसक्ने गरेर धोई पखाली माक्सवाद छाडिसक्नुभएको छ । उहाँबाट शोषित पीडित जनताले धोका सिवाय अरु केही पाएको पनि छैन र पाउने पनि देखिँदैन । तर त्यहाँभित्र भएका केही माओवादी विचार बोकेका मानीसहरु पनि होलान्, तिनीहरु ढिलो चाँडो क्रान्तिकै बाटोमा आउँछन् । तर बाबुराम अब कुनै पनि कम्युनिस्ट आन्दोलनको धाराअन्तर्गत रहनुभएन ।

त्यसैगरी बिप्लवले अहिले भनिराखेको एकीकृत क्रान्तिको नाराले पनि अहिलेको आन्दोलनको नेतृत्व गर्नसक्ने देखिएको छैन । उहाँहरुले आफ्ना कमी कमजोरीहरु सच्याउँदै आउनुभयो भने जनवादी क्रान्तिको बाटोमा सफलता धेरै टाढा पनी छैन । तर पहिलो कुरा उहाँहरु पनि सच्चिनु जरुरी छ । उहाँले ल्याउनुभएको एकीकृत क्रान्तिको कार्यदिशा बिचल्लीमा आधारित छ । नेपाली समाजको आन्दोलन र क्रान्तिका लागि त्यो कार्यदिशा गलत रहेको छ ।
अनि एकताका नाममा विचार कार्यनीति रणनीति केही नमिली हुने एकता के एकता ? त्यस्तो प्रकारको एकताको नारा फुक्नेहरु जनताका आँखामा भ्रम मात्र हालिरहेका छन् । उहाँहरुबाट कुनै पनि प्रकारको मुक्तिगामी आन्दोलन, क्रान्ति सम्भव हुने देखिन्न । उहाँहरु सरकार र मन्त्रीकै रमझममा व्यस्त हुनुहुन्छ । उहाँहरूबाट आउने एकताको कुनै पनि अर्थ छैन । त्यसले क्रान्तिकारी धारका साथीहरुलाई भ्रमित बनाउने मात्र गरेको छ ।

तसर्थ अबको जनवादी क्रान्तिका लागि समय र आन्दोलनको मागअनुसार क्रान्तिकारी कार्यदिशा र कार्यनीतिका साथ अगाडि बढ्नुको विकल्प देखिँदैन । हामीले नै इतिहासको यो जिम्मेवारीलाई पूरा गर्ने साहस राख्नुपर्दछ । त्यसका लागि सबै आआफ्नो ठाउँबाट तयारीको अवस्थामा बसौँ, आफ्नो जिम्मेवारी पूरा गरौँ ।

(अध्यक्ष, नेकपा (क्रान्तिकारी) माओवादी अध्यक्ष वैद्यसँग लोकराज जैसीले गरेको कुराकानीमा आधारित)

प्रतिक्रिया