पुष्पलाल र मनमोहनका बारे नखुलेका केही तथ्य

पुष्पलाल र मनमोहनका बारे नखुलेका केही तथ्य


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, १२ चैत्र २०७३
  • 19.6K
    Shares

अरबिन्द रिमाल इतिहास अन्वेषक

पुष्पलाल स्मृति प्रतिष्ठानले सन् २०१०, जुलाईमा हिस्टोरिकल नोट्स (इतिहास–विषयक टिपोटहरू), ०७० साउनमा ‘नेपाल कम्युनिस्ट पार्टी: दस्ताबेज संग्रह (भाग–१)’ प्रकाशित गरेको थियो । सँगसँगैजसो ०७१ असोजमा ‘फर्केर हेर्दा’ शीर्षकमा विभिन्न कालखण्डमा नेपाल कम्युनिस्ट आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेका ३३ जना पुराना कम्युनिस्टको संस्मरण ग्रन्थ पनि प्रतिष्ठानले प्रकाशित ग¥यो । ती प्रकाशनले पुष्पलालबारे थप चिन्तन एवं विचार प्रवाहित गर्न सघाएका छन् । आजको वस्तुस्थितिबाट तिनताका पुष्पलालका राजनीतिक अवधारणा तथा क्रियाकलापलाई सही ढंगले बुझ्न ती ग्रन्थ सहायक हुन्छन् ।
वास्तवमा कर्मशील मानिसका लागि समय नै एक मात्र समुचित निर्णयकर्ता र जीवन नै एक मात्र विश्वविद्यालय हो । यस अर्थमा पुष्पलाल विशिष्ट पात्र हुन् ।
नेपाल कम्युनिस्ट पार्टीको पहिलो राष्ट्रिय सम्मेलनमा महासचिवका हैसियतले पुष्पलालले राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका थिए, जसलाई सर्वसम्मतिबाट पारित गरियो । त्यही प्रतिवेदनका आधारमा उनको वामपन्थी पथ ‘चलनवाद’ बापत उनलाई महोत्तरीको बटेश्वरमा ००८ सालमा हठात आयोजित पोलिटब्युरो बैठकद्वारा महासचिव पदबाट खारेज गरिएको थियो भन्नेजस्ता काल्पनिक ‘तथ्य’ उनका आलोचकले प्रस्तुत गर्दै आएको देखिन्छ ।

सन् १९५१–५२ को राजनीतिक दृश्यावली हेरौँ । त्यतिवेला अंग्रेजको औपनिवेशिक शासनबाट स्वाधीनता ल्याएका भारतीय नेतृत्वलाई आम तवरमा र विशेषगरी प्रधानमन्त्री जवाहरलाल नेहरूलाई सोभियत कम्युनिस्ट पार्टीका ‘सिद्धान्तकार’ भनिनेहरू र तिनको प्रभावमा परेका भारतीय कम्युनिस्ट नेतृत्वले ‘अंग्रेज–अमेरिकी साम्राज्यवादको लुते कुकुर’ भन्ने डाम लगाउँथे । स्वतन्त्र भारतको शासनसत्तालाई सशस्त्र संघर्षद्वारा विस्थापित गर्ने नीतिको वकालत गरिन्थ्यो । सोभियत रुसका सर्वोच्च शासक स्टालिन नै त्यस्तो नीतिका रचयिता थिए । उनी कम्युनिस्ट आन्दोलनका विधातासरह कायम थिए । त्यस्तो किसिमको बन्धनकारी बाह्य परिस्थित रहँदासम्म देशको वस्तुगत सामाजिक, आर्थिक र राजनीतिक संरचनाको आधारमा कम्युनिस्ट आन्दोलनको वर्तमान लाइन वा भावी दिशा निक्र्योल गर्न सक्ने आँट को पो राख्न सक्थ्यो होला ? आफ्नो राष्ट्रिय विशेषताअनुरूप समाजवादी कार्यक्रम लागू गर्ने युगोस्लाभियाका जोसेफ टिटो पनि ‘गद्दार’ घोषित भइसकेका थिए । उता राष्ट्रिय विशेषता र परिवेशका पक्षधर इटलीका कम्युनिस्ट नेता पालमेरो तोग्लियाती र एनरिको बर्लिनगुएर समूह शंकाको घेरामा परिसकेका थिए । विश्व कम्युनिस्ट आन्दोलनको यस्तो पृष्ठभूमिमा भारतभरि भारतीय कम्युनिस्ट पार्टीका महासचिव बिटी रणदिवेको घोर अतिवादको बिगबिगी थियो । त्यस्तो वेला पुष्पलालले चाहेरै पनि त्यसबाहेकको अर्को नीतिको सूत्रधार गर्न सक्ने थिएनन् । तर, नेपालको मामलामा सर्वाधिक महत्वपूर्ण कुरा के भने पुष्पलालले ‘धोका’ भनेको ००७ सालको क्रान्तिलाई परिपूर्णता दिनका लागि मुलुकमा सशस्त्र संघर्षको वकालत कहीँ पनि गरेको देखिँदैन ।

भारतका एक कम्युनिस्ट नेता मोहित सेनले आफ्नो आत्मकथामा रणदिवेको उग्रताका कारण पार्टीभित्र दमनचक्रमा परेका भारतीय कम्युनिस्टको चित्रण गरेका छन् । त्यस्तो अवस्थामा तिनीहरूसँग नेपालको कम्युनिस्ट पार्टीका घरेलु मामलालाई खोतल्ने र तिनमा विचारधारात्मक हस्तक्षेप गर्न सक्ने स्थिति कहाँ थियो होला र ? पुष्पलाल काठमाडौं उपत्यकाको उत्पादन भएकाले बाहिरी विश्वसित अर्थात् भारतसित उनको पत्यारपर्दो वैचारिक निष्ठा त्यतिबिघ्न पक्का नभएको भन्ठान्ने कतिपय भारतीय कम्युनिस्ट नेताहरू थिए होलान् । तर, नेपाल कम्युनिस्ट पार्टी नेतृत्वमा त्यस्तो घातक परिवर्तन अथवा विदेशबाट उत्प्रेरित ‘कु’जत्तिकै घटनाका लागि त्यति नै पर्याप्त कारण हुन सक्दैनथ्यो । भारतीय कम्युनिस्ट नेतृत्वको विश्वास जित्न पुष्पलालविरोधीहरूले गरेको षड्यन्त्र ठान्नु पनि त्यति मनासिब ठहर्दैन ।

मनमोहन अधिकारी, शैलेन्द्रकुमार उपाध्याय, डिपी अधिकारी तथा डा. केशरजंग रायमाझीले पनि व्यक्तिगत मनोकांक्षाका आधारमा पुष्पलालसँग पार्टी संस्थापनको विषय र औचित्यलाई लिएर आ–आफ्नो असन्तुष्टि व्यक्त नगरेका होइनन् । तथापि यस घटनाको प्रत्यक्ष लाभ चतुर खेलाडी पोलिटब्युरो सदस्य शैलेन्द्रकुमार उपाध्यायले चाहिँ उठाउन चुकेनन् भन्ठान्नु गलत नठहर्ला । उपाध्यायसँग भारतीय कम्युनिस्ट आन्दोलनमा भाग लिएको अनुभव र नेताहरूसँग प्रत्यक्ष सम्पर्क पनि थियो । त्यस आधारमा र देशभित्र नेकपामा पनि मनमोहन अधिकारीपछिका प्रभावशाली व्यक्ति रहेका कारण उपाध्याय नेतृत्वका लागि महत्वाकांक्षी हुन सक्थे । तर, तत्काल त्यस्तो पाइला सार्नु भविष्यका लागि प्रत्युत्पादक हुने ठानेर नै उपाध्यायले पुष्पलालविरुद्ध मनमोहन अधिकारीलाई उठाएको हुनुपर्छ ।

चिताउँदै नचिताएको उक्त घटनाले पार्टी सदस्यहरू असमञ्जसपूर्ण स्थितिमा पर्नु स्वाभाविक थियो । पार्टी गोप्यता र अनुशासनका कारण ‘असहमत’ हुने परिस्थिति नै थिएन । यस्तो घटनालाई तथाकथित ‘जनवादी केन्द्रीयता’को नामले उचित ठहर्‍याउने गरिन्थ्यो । पुष्पलाल नै महासचिव भएका वेला डिपी अधिकारी र तुलसीलाल अमात्यलाई क्रमशः पार्टीभित्र ‘पुँजीवादी व्यक्तिहरूलाई घुसाएको’ र ‘पार्टीभित्र दक्षिणपन्थी विचलनवाद’ ल्याउन खोजेको आरोपमा पोलिटब्युरोबाट निलम्बन गरिएको थियो । पोलिटब्युरोले लिएको निर्णय केन्द्रीय समितिबाट पारित हुनेमा निश्चिन्त उपाध्याय पुष्पलालबाट विरोध नहुनेमा ढुक्क थिए । त्यतिवेलाको कम्युनिस्ट राजनीतिमा ‘अन्तरपार्टी संघर्ष’को नाम दिइएको वैचारिक वाद–प्रतिवादबाहेक अर्को बाटो लिनु सर्वथा पार्टीविरोधी कार्य हुन जान्थ्यो । अहिले पनि विद्यमान पार्टीहरूमा त्यस्तो स्थिति छँदै छ । फलस्वरूप केन्द्रीय समितिले र त्यसपछि प्रान्तीय, जिल्ला, नगर तथा टोलस्तरीय नेतृत्व गर्दै पूरै पार्टी समुदायले पोलिटब्युरोको अल्पमत एवं घातक निर्णयको आँखा चिम्लेर समर्थन गर्‍यो ।

त्यही बटेश्वर बैठकको दुष्परिणामले गर्दा भविष्यको तथाकथित ‘रायमाझीवाद’को जग हाल्ने काम भयो । त्यसका प्रमुख सूत्रधार मनमोहन अधिकारी, शैलेन्द्रकुमार उपाध्याय तथा केन्द्रीय समिति सदस्य धनुषचन्द्र गौतम भएको देखिन्छ । अनि त्यही ‘रायमाझीवाद’ पछि गएर गुटमाथि गुटमा विभक्त भएको कम्युनिस्ट समूहहरूलाई एक–अर्काविरुद्ध तथाकथित ‘वैचारिक संघर्ष’मा घोर दुरुपयोग हुन थालेको तथ्य त जगजाहेरै छ ।

०४६ को प्रजातन्त्र पुनः प्राप्ति आन्दोलनताका र पछिका घटनाबाट पनि मनमोहनको नेतृत्व वा तथाकथित वैचारिक ‘धार’को कटु आलोचना भएको छ । ०५१ मंसिरमा एमाले सरकारका प्रधानमन्त्री रहँदा पनि मनमोहनले आफ्नो उच्च पदअनुरूप उल्लेखनीय भूमिका खेलेको पाइएन । 

आफ्नो पदच्यूतिलाई भारतीय कम्युनिस्ट पार्टीमार्फत् आएको मस्कोको अभिमत भन्ने ठानेर होला पुष्पलालले करैले स्वीकार गरेको हुनुपर्छ । कम्तीमा पोलिटब्युरो सदस्यता कायमै  रहेकालाई उनले चमत्कार नै ठानेको हुनुपर्छ किनभने कम्युनिस्ट पार्टी संस्कारमा यस्तो ‘उदारता’ कमै देख्न पाइन्छ । यसै परिणामबाट पनि पुष्पलालको पदच्यूतिमा बाह्य प्रभावभन्दा आन्तरिक प्रपञ्च नै बढी भएको शंका उठ्छ ।

नेकपाको कायममुकायम महासचिव बनाइएका मनमोहन ०१० माघमा भएको पहिलो पार्टी महाधिवेशनमा विधिवत महासचिव चुनिए । पुष्पलालले धेरैपछि भनेअनुसार मनमोहन ‘मास लिडर’ त होलान् तर उनमा नेतृत्व कौशल र संगठनात्मक क्षमताको विशिष्टता थिएन । अतः उनी धेरै हदसम्म पार्टी संरचनामा उपाध्यायबाट परिचालित थिए । यो स्थिति अन्त्यमा गएर उपाध्यायका लागि सर्वोच्च पद प्राप्ति गर्न अनुकूल हुन सक्थ्यो । तर, उपाध्याय र गौतमले कम्युनिस्ट आचरणलाई छाड्दै गएकाले उनीहरू अनुशासनको कारबाहीमा परे । अन्ततः दुवैले सधैँका लागि पार्टी नै छाडेर गए । यस्तो नभएको भए नेकपा नेतृत्वको हालत कालान्तरमा कस्तो हुन्थ्यो होला भनी कल्पना गर्न पनि गाह्रो पर्छ ।
मनमोहन पुष्पलालको साथ लाग्दै काठमाडौं जिल्ला नेतृत्वका कार्यकर्तामाथि धेरैजसो निर्भर हुन थाले । ००८–००९ सालदेखि ०१३ वैशाख ३ मा पार्टी वैध भएपश्चात चीनको कम्युनिस्ट पार्टीको महाधिवेशनमा भाग लिन जाउन्जेलसम्म मनमोहनको नेतृत्वमा पार्टीले देशव्यापी रूपमा संगठनात्मक वृद्धि गर्न सकेन । धेरै ठाउँमा पार्टी केन्द्र जिल्लास्तरीय कार्यक्रमले सजीव र सक्रिय रह्यो, जसमा पार्टी अवैध भएपछि पुष्पलालको अग्रसरतामा खडा भएका जनअधिकार सुरक्षा समितिले उल्लेखनीय भूमिका खेलेको थियो । प्रसंगवश एउटा तथ्य राखिहालौँ, देशका साहित्यिक तथा सांस्कृतिक फाँटका उच्च व्यक्तित्वमाझ पार्टीको राजनीति लैजान पुष्पलालले निर्वाह गरेको भूमिका उल्लेखनीय छ । भारतीय कम्युनिस्ट पार्टीका महासचिव रणदिवेको नेतृत्व कालखण्डमा ठुल्ठूला साहित्यिक– सांस्कृतिक व्यक्ति निष्कासित गरिए । यता ‘अति वामपन्थवाद’का बाहक भन्ने डाम लगाइएका पुष्पलाल नेतृत्वबाट हटाइएकोमा कुनै कुण्ठा नराखी अर्कै छविमा निस्कन्छन् । ०१० सालमा किसान संघको काठमाडौं जिल्ला सम्मेलनको अवसरमा उनकै अग्रसरतामा पार्टी कार्यकर्ताले तीन दिनसम्म साहित्यिक कार्यक्रम आयोजना गरे, जसमा लेखनाथ पौड्याल, लक्ष्मीप्रसाद देवकोटा, बालकृष्ण सम, केदारमान सिंह ‘व्यथित’, सिद्धिचरण श्रेष्ठजस्ता कवि मात्र होइन, विश्वेश्वरप्रसाद कोइरालालगायत धेरै नाम चलेका साहित्यिक व्यक्तित्वको पनि उपस्थिति थियो ।

जनअधिकार सुरक्षा समिति जतिसुकै सक्रिय भए पनि पार्टीले अवैध रहनुपरेकाले सोझो जनसम्पर्कमा जान र खुला संगठन कार्य गर्न सक्दैनथ्यो । यसले गर्दा पार्टीको नोक्सानी अतुलनीय नै रह्यो । किंकर्तव्यविमुढताका कारण डा. केआई सिंहको आमन्त्रणमा टंकप्रसाद आचार्यसँगै सिंहदरबार जान चुके । केआई सिंहको फौजी विद्रोहको समर्थनमा उत्तेजनात्मक तरिकाले पर्चाबाजी गरेका कारण र गौरीभक्त प्रधानद्वारा घोर आपत्तिजनक तरिकाले माइक प्रचार गरिएका कारण पार्टीमाथि प्रतिबन्ध लगाउन मातृका सरकारलाई सजिलो भयो । यसका लागि कामु महासचिव मनमोहन उत्तरदायी नभइरहन सक्दैनथे । यसप्रकार देशव्यापी रूपमा शक्तिशाली हुँँदै आएको नेकपालाई रोक्न तात्कालीन सरकारलाई सहज भयो ।

सोझो राजनीतिक तरिकाबाट पार्टी नीति जनसाधारणमाझ लैजाने उद्देश्यबाट नेपाल सोसलिस्ट पार्टी खोलियो । त्यसका अध्यक्ष केन्द्रीय समिति सदस्य डा. केशरजंग रायमाझी र महासचिव काठमाडौं जिल्ला पार्टी सचिव अरविन्द रिमाल (पंक्तिकार) लाई बनाइयो । तर, त्यो पार्टी पनि सीमित साधन र दुर्बल संगठनात्मक भरथेगका कारण सक्रिय हुन सकेन । त्यो सहज रूपमा बिलायो । नेतृत्वकै सहमतिबाट खोलिएको यो पार्टीलाई डा. रायमाझीको सत्तालिप्सा तथा नेकपालाई दक्षिणपन्थी विचलन मार्गमा लैजाने उनको षड्यन्त्रको रूपमा निन्दा गरियो । जबकि उनी त्यतिवेला पार्टीका कामु महासचिव बनेकै थिएनन् । डा. रायमाझीले आत्मसंस्मरणमा सोसलिस्ट पार्टी उनकै अग्रसरतामा खोलिएको भन्नु पनि उत्तिकै भ्रामक हो ।

पुष्पलाललाई ‘अकर्मण्यवादी’को आरोप लगाउनेहरूले उनी पञ्चायत शासन प्रणालीको अन्त्यका लागि र प्रजातन्त्रको पुनर्बहालीका लागि नेपाली कांग्रेस तथा वामपन्थी सम्मिलित संयुक्त जनआन्दोलनका सहअभियन्ता कसरी भए र किन भए भन्ने अत्यन्त महत्वपूर्ण सैद्धान्तिक प्रश्नको उत्तर आजसम्म पनि दिन सकिरहेका छैनन् ।

पार्टीमाथिको प्रतिबन्ध फुकाउन तत्कालीन प्रधानमन्त्री टंकप्रसाद आचार्यस“ग औपचारिक वार्ताक्रममा केन्द्रीय समितिका सचिव एवं पोलिटब्युरो सदस्य पुष्पलाल पनि पूरै सहभागी भएको तथ्य उल्लेखनीय छ । पार्टीको तात्कालिक र भावी अवधारणा औपचारिक रूपमा सरकारसमक्ष आउनुपर्ने राजा महेन्द्रको जिकिर थियो । सोअनुसार प्रधानमन्त्री आचार्यले त्यसो गरे पार्टी प्रतिबन्ध फुकाउन सहज हुने बताए । तत्काल नै पंक्तिकारले ‘वर्तमान समयमा पार्टीको ध्येय राजतन्त्रको उन्मूलन नभई संवैधानिक राजतन्त्रलाई मान्यता दिनु’ हो आदि भनी स्कुले कापीको एउटा पृष्ठमा लेख्यो, त्यसमा महासचिव मनमोहन अधिकारीले हस्ताक्षर गरे । सो दस्ताबेज पुष्पलालसमेतको सहमतिमा प्रधानमन्त्री आचार्यलाई हस्तान्तरण गरिएको थियो ।

०१३ वैशाख ३ कै मिति राखेर ‘नेकपाका प्रधानमन्त्री (?) का. मनमोहन अधिकारीको प्रेस वक्तव्य’ जारी गरियो । त्यसमा लेखिएको थियो, ‘समाजवादी समाजलाई स्थापना गर्ने पार्टीको उद्देश्य शान्तिपूर्ण तौरबाट पनि प्राप्त गर्न सकिनेछ भन्ने कुरामा पार्टी आफ्नो विश्वास प्रकट गर्छ । वर्तमान कालमा पार्टीले राजालाई वैधानिक मुख्य (मुखिया ?) मानी समाजवादी सिद्धान्तलाई जनतामा प्रचार गर्दै लानेछ । पार्टी आजसम्म शान्तिपूर्ण र वैधानिक तौरले अगाडि बढ्दै आएको हो र अब पनि वैधानिक तथा शान्तिपूर्ण तौरले अगाडि बढ्नेछ ।’ (स्रोत: ‘नेपालमा कम्युनिस्ट आन्दोलनको इतिहास’, डा. सुरेन्द्र केसी) यसपछि पार्टी जीवनभित्र जुन विभाजन प्रक्रिया सुरु भयो, त्यसको औपचारिक बिन्दु यसै घटनालाई मानियो । प्रतिबन्ध हटेपछि आयोजित केन्द्रीय समितिको बैठकमा पोलिटब्युरोले

पदले पार्टीको आधिकारिक प्याडमा सम्बोधित महासचिव मनमोहन आफ्नो नीतिको पराजयलाई स्वीकार नगरेर किन महासचिव पद नै ओगटेर बस्न सके वा पाए त्यो अर्को विराट् भ्रम थियो । यसबाट अस्वाभाविक प्रक्रियाले पार्टीको सर्वोच्च पद ओगटेका मनमोहनमा अडानमा रहन नसक्ने आरोपको पुष्टि हुन्छ । डा. केआई सिंह फौजीकाण्डको समर्थनबापत महासचिव पद नगुमाएका मनमोहनले बरु २०१३ को जेठमा राजीनामा गरेका भए पार्टी विभाजन पनि हुने थिएन । त्यो भएको भए न तथाकथित ‘रायमाझीवाद’को जन्म नै हुने थियो न ‘रायमाझी’को भूतले प्रचण्डलगायत पछिका नेतालाई तर्साउने थियो । २००८ सालमा आफूविरुद्ध भएको ‘कु’को बदला लिन पुष्पलालले मनमोहन वक्तव्यप्रतिको समर्थन फिर्ता लिई उनीमाथि ‘सुधारवादी दक्षिणपन्थ’को आरोप लगाउनुलाई अस्वाभाविक ठान्न सकिन्न । घोर अस्वाभाविकता त पार्टी ‘प्रधानमन्त्री’ आफैं  पुष्पलालको पछि लाग्नुलाई ठान्न सकिन्छ । मनमोहनले त्यस्तो गर्नुमा नै आफ्नो हित ठाने होलान् । मनमोहनको एकातिर व्यावहारिक अकौशल र अर्कोतिर दुस्साहसिकताका कारण प्रतिबन्ध फुक्का भएकोमा पाँच दिन पनि खुसियाली मनाउन नपाउँदै पार्टी नेतृत्वमाथि ‘राजावादी’को आरोप लाग्यो । त्यो अन्त्यमा गएर सम्पूर्ण पार्टीकै लागि महाबिघ्नकारी सावित भयो ।

पुष्पलालका निन्दकहरू उनलाई महत्वाकांक्षी, वैचारिक दृढता नभएका र नीति बदलिरहने भनी आरोप लगाउँछन् । तर, सत्य त ती निन्दक आफैँ सो अवगुणका सिकार भएका पाइन्छन् । बरु यसमा एक मात्र अपवाद डा. रायमाझी देखिन्छन्, जसले न कामु महासचिव हुनका लागि कुनै महत्वाकांक्षा राखेका थिए, न त एउटा पार्टी समूहको सर्वेसर्वा रहुन्जेल सही वा गलत जेहोस्, संवैधानिक राजतन्त्रअन्तर्गत शान्तिपूर्ण तबरले समाजवाद प्राप्त गर्ने नीति र व्यवहारको अडिगताका साथ वकालत र पालन गर्न कहिल्यै छाडे । तथापि, यसका लागि उनले विश्व कम्युनिस्ट आन्दोलनको नेतृत्वबाट उनको नीतिका लागि समर्थन प्राप्त भएको र यसप्रकार पुष्पलालसँग समिपता रहेको मिथक रचे । परन्तु ब्रेझनेभ कालखण्डमा अफगानिस्तानमाथि सोभियत रुसको सशस्त्र हस्तक्षेपको समर्थन नगर्दा नेतृत्व गुमाउनुपरेको धारणा राख्ने डा. रायमाझी वास्तवमा पुष्पलालप्रति अरूभन्दा बढी नै सहिष्णुताको भाव राख्थे ।

पुष्पलालको नीतिगत आलोचना तथा निन्दा गर्ने क्रममा यता आएर ‘मनमोहन धार’ भनिने सैद्धान्तिक परिकल्पनाको पनि प्रयोग गरिएको पाइन्छ । नेकपा एमालेभित्रका ‘स्वस्थ विचारधारा’ राख्ने युवा समुदायलाई पार्टी इतिहास बुझ्न सही बाटो देखाउने अभिप्रायबाट त्यस विचारको उठान भएको भनिन्छ । तर, वास्तवमा नेकपा आन्दोलनको कुनै पनि कालखण्डमा ‘मनमोहन धार’ भन्ने झिनो अभिव्यक्ति भएको स्मरण यस पंक्तिकारलाई छैन । शैक्षिक डिग्रीधारी भए पनि वैचारिक प्रौढताको कमी देखिने मनमोहन पार्टीभित्र वैचारिक धारका अभियन्ता बनेको कुनै ठाउँ पाइँदैन । माथि बताइएका अनेक संगीन अवस्थामा पार्टी नेतृत्वको सर्वोच्च पदको दायित्व निर्वाह गर्न मनमोहन चुके । यति मात्र होइन, ०४६ सालको प्रजातन्त्र पुनः प्राप्ति आन्दोलनताका र पछिका घटनाबाट पनि मनमोहनको नेतृत्व वा तथाकथित वैचारिक ‘धार’को कटु आलोचना भएको छ । ०५१ मंसिरमा एमाले सरकारका प्रधानमन्त्री रह“दा पनि मनमोहनले आफ्नो उच्च पदअनुरूप उल्लेखनीय भूमिका खेलेको पाइएन । उनी विपक्षीलाई तटस्थ, तटस्थलाई समर्थक र समर्थकलाई मित्रवत् बनाउने दायित्व पूरा गर्नमा पनि विफल भए । फलस्वरूप स्वयं कम्युनिस्ट समूहहरू आफूप्रति उनको सरकारको अमैत्रीपूर्ण व्यवहार र साना दललाई थिचोमिचो गर्ने एमाले नेतृत्वको प्रवृत्तिप्रति उनको उदासीनता अथवा मुक समर्थनले गर्दा उनका विरोधी भए ।

सबभन्दा खेदजनक कुरा त के छ भने ०५६ को दोस्रो महानिर्वाचनको निर्णायक घडीअघि उनले एमाले अध्यक्षको हैसियतले पार्टी विभाजनलाई रोक्नमा आफ्नो पूरै शक्ति र सामथ्र्य लगाउनुपर्नेमा उल्टै पार्टी टुक्रिन दिन उद्यत बहुमत पक्षलाई नै अन्ध समर्थन गरे । फलतः एमाले निश्चितप्रायः चुनावी विजयबाट वञ्चित भयो । यसप्रकार मनमोहनको नाममा काल्पनिक अथवा मिथक धारको वकालतबाट उसै त नेकपाको इतिहासलाई विकृत ढंगले प्रस्तुत गर्ने गरिएको सिलसिला झनै भ्रमपूर्ण ढंगले चालू रहन जानेछ । साथै युवा कम्युनिस्ट पुस्तामाझ विचारधाराहीन पार्टी गतिविधिमा झनै पाखण्ड मतले टेवा पाउने खतरा रहनेछ । नयाँ पुस्ताका पार्टी कार्यकर्तामा यो चेत हुनु अत्यन्त जरुरी छ ।

दोस्रो पार्टी महाधिवेशनमा पुष्पलालले ‘मशाल’ साप्ताहिकमा छापिएको आफ्नो लेखको अवधारणालाई बढाएर लगेको अथवा भनूँ ‘गणतन्त्रवाद’को उरन्ठ्याउलो हाहामा नलागेका भए उनी पार्टी महासचिव निर्वाचित हुने निश्चित थियो । डा. रायमाझी आफैँ पनि त्यति साह्रो यस पदका लागि महत्वाकांक्षी देखिँदैनथे किनभने उनी आफ्नो योग्यता र अवस्था बुझ्थे । अन्ततः बालहठरूपी गणतन्त्रवादले उनलाई त्यो ऐतिहासिक अवसरबाट वञ्चित गर्‍यो । यसरी दोस्रो ‘रायमाझीवाद’को प्रकरणले मलजल पायो । तर, यहाँ पनि पुष्पलाल एक विलक्षण अपवाद निस्के । यति साह्रो हानि–नोक्सानी गराउँदा–गराउँदै पनि उनी राजतन्त्रात्मक निरंकुशताविरुद्ध मुलुकमा प्रजातन्त्रको पुनः प्राप्तिका लागि, प्रजातन्त्रवादी शक्ति र वामपन्थी शक्तिबीच कार्यगत एकताको अभियन्ता बन्न पुगे आफ्नै बलबुताले । उनले प्रजातन्त्रको स्थापनापश्चात मुलुकको भावी दिशा कोर्ने, कानुनी शासन व्यवस्थाको जग बसाल्ने ध्येयमा लौहपुरूष गणेशमान सिंहलाई समेत लचिलो बनाउन सके, जसका लागि यिनको नाम नेपालको इतिहासमा स्वर्णाक्षरले लेखिनेछ । पुष्पलालले त मुलुकप्रति र समाजप्रतिको आफ्नो ऋण चुक्ता गरे । के अरू आमाका लाल यस पंक्तिमा आउलान् ?

पुष्पलालको शब्दचित्र कोर्दा उनको जीवनको यो पक्षको वर्णन पनि छुटाउनै नहुने देखिन्छ । त्यो हो– राजनीतिक निर्वासनको कठोर संघर्षमय जीवन र अभावग्रस्त अवस्थामा पनि उनको मानवीय संवेदनशीलताका अभिव्यक्ति । यी अभिव्यक्ति उनको तेजस्वी व्यक्तित्व जस्तै गरी उजागर हुने गरेको सम्झना उनका निष्ठावान् सहयोगी र उनीसँग भेटेका मानिस बताउँछन् ।

नेपालको पहिलो प्रजातान्त्रिक कालखण्डमा कहिले राजनीतिक सहकर्मी त कहिले शासक तथा शासितको भूमिका निर्वाह गरेका थिए, विश्वेश्वरप्रसाद कोइराला र पुष्पलालले । राजनीतिक दृष्टिबाट यी दुवै एक–अर्काका प्रतिरोधी थिए । समयले यिनीहरूलाई आफ्नो लक्ष्य प्राप्तिका लागि विदेशी भूमिबाट संघर्षको नेतृत्व गर्ने भूमिका खेल्न लगायो । लक्ष्य एउटै भए पनि संघर्षको तौरतरिका फरक–फरक थिए । यी दुवैको कार्यक्षेत्र सम्पूर्ण नेपाल भूमि थियो भने त्यसको केन्द्रबिन्दु एक–अर्काको नगिच थियो । कोइरालाको हकमा त्यो बिन्दु सारनाथको एउटा घर थियो भने पुष्पलालको हकमा वनारसको दसपुत्र गल्लीको के २९÷३० को नम्बर अंकित घर । तर, यसबाट उनीहरूको एक–अर्कोप्रतिको आदर–सम्मानमा कुनै बाधा परेन । बरु आपसमा संवेदनशीलता बढ्यो । आफूकहाँ संघर्षको मार्गदर्शनका लागि वा सहानुभूति प्राप्तिको भाव लिएर आउने प्रत्येक लडाका तथा व्यक्तिलाई पुष्पलाल सारनाथ गएर कोइरालालाई भेट्न जान भन्न कहिल्यै चुक्दैनथे । उता कोइराला पनि वेलाबखत पुष्पलालले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टीको हेडक्वाटर रहेको माथि बताइएको घरमा उनलाई भेट्न पुग्थे । अलि उच्चस्तरको बसाइ व्यवस्था भएको घरबाट टड्कारो अभावग्रस्त देखिने घरमा आउ“दा पनि कोइराला आफू बढी उन्मुक्त अनुभव गरेको ठान्थे भन्ने कुरा यो पंक्तिकारले सुनेको हो । किनभने त्यतिवेला उनको तथाकथित सुरक्षाका लागि भनेर खटिएका भारतीय सरकारी गुप्तचरका मानिस ती दुई नेताको आपसी वार्तालाप भएका वेला कोठाबाहिरै बसेका हुन्थे । यो आपसी सद्भाव एवं संवेदनशीलताका बाबजुद यी दुवैको जीवनकालमा मुलुकको राजनीतिलाई कार्यगत एकताको निकट ल्याएको देखिएन, तर पनि यो मानवीय सम्बन्धले नेपालमा प्रजातन्त्रको पुनः प्राप्तिको संघर्षमा कहीँ न कहीँ, कुनै न कुनै योगदान पुर्‍याएको तथ्यलाई नकार्न सकिँदैन ।

यता पुष्पलाल स्मृति प्रतिष्ठानले उनका विचारलाई समाजको बृहत् भागमा ल्याउने जमर्कोअनुसार केही पुस्तक, संस्मरण तथा पुराना ऐतिहासिक दस्ताबेज प्रकाशनमा ल्याएको छ । यो प्रशंसनीय कार्य हो । राष्ट्र र राष्ट्रियताका सम्बन्धमा उनको ऐतिहासिक निबन्ध पनि अहिलेको परिस्थिति र सन्दर्भमा महत्वपूर्ण दस्ताबेज ठहर्छ । यसको बृहत् मात्रामा प्रचारप्रसार हुनुपर्‍यो । अनि यस्ता जाज्वल्यमान, निरन्तर आन्दोलनरत रहेका नेताको, एउटा सिंगो संस्थासरहको व्यक्तित्वको प्रतिमा जुन कीर्तिपुरको चम्पादेवी टोलमा स्थापित छ, उनका गुणहरूको प्रतिबिम्बित गर्नेअनुरूप हुनुपर्‍यो । वर्तमान प्रतिमाले कसैलाई पनि प्रभावित गर्न तथा प्रेरणा दिन सक्दैन । तसर्थ साधनसम्पन्न पुष्पलाल स्मृति प्रतिष्ठानले अर्को आकर्षक प्रतिमा शीघ्र नै स्थापना गर्नुपर्छ भन्नु अत्युक्ति नहोला ।

अन्त्यमा, पुष्पलालका विरुद्ध विभिन्न धारे कम्युनिस्ट गुटले प्रहार गरेका एउटा साझा कथाकथित आक्षेप उनको ‘अकर्मण्यता’बारे थियो । पुष्पलालबाट फुटेर निस्केका माक्र्सवादी मुक्ति मोर्चा होस् वा केन्द्रीय न्युक्लियस, कोअर्डिनेसन केन्द्र, चौथो महाधिवेशन वा त्यसपछिको एकताकेन्द्र नै किन नहोस्, सबैले एकै स्वरले यो प्रहाररूपी अलाप गरेको पाइन्छ । कतिसम्म भने योबाहेक अन्य गुटभित्रका अनेक ‘सिद्धान्तवादी’ले पनि वेलावेलामा तिनीहरूलाई साथ दिएको पाइन्छ ।

तर, सबभन्दा आश्चर्यको कुरा त के भने त्यस्तो ‘अकर्मण्यवादी’ पुष्पलाल पञ्चायत शासन प्रणालीको अन्त्यका लागि र प्रजातन्त्रको पुनर्बहालीका लागि नेपाली कांग्रेस तथा वामपन्थी सम्मिलित संयुक्त जनआन्दोलनका सहअभियन्ता कसरी भए र किन भए भन्ने अत्यन्त महत्वपूर्ण सैद्धान्तिक प्रश्नको उत्तर आजसम्म पनि कसैले दिन सकिरहेका छैनन् । वा थाहा भएर पनि बुझ पचाइरहेका छन् । यो इतिहासको घनघोर विकृति हो ।

वास्तवमा पुष्पलाल त त्यो नदीजस्तैै हुुन् जसबाट उनका सहयात्री, सहयोगी तथा समर्थकले आ–आफ्नो श्रद्धा, आदररूपी पात्रअनुसार जल झिक्दा कहिल्यै घटेन र जसमा निन्दकहरूले डुंगुरका डुंगुर फोेहोरमैला फाल्दा पनि कहिल्यैै प्रदूषित भएन, बरु आफ्नै प्रवाहलाई एकनासले अविचल रूपमा गन्तव्यसम्म पुर्‍याउन सचेष्ट एवं क्रियाशील रहयाे ।

प्रतिक्रिया