डरलाग्दो भारतीय सैन्यघेरामा छिमेकी

डरलाग्दो भारतीय सैन्यघेरामा छिमेकी


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, २ चैत्र २०७३
  • 17.6K
    Shares

भारतको परराष्ट्र नीतिमा सुरक्षा प्राथमिक चासो हो । हिमालयलाई सुरक्षा घेरा मान्ने नेहरु डक्ट्रिन भारतले डिफ्याक्टो रुपमा अपनाउँदै आएको छ । भारतले छिमेकलाई सुरक्षाको चस्माबाट हेर्दै आएको छ । पाकिस्तानसँगको जन्मजात शत्रुता र पटकपटकको युद्ध अनि चीनसँगको युद्धमा नराम्ररी पराजीत हुनुपरेको घटना भारतका लागि ठूलो सुरक्षा चुनौती बन्दै आएको छ ।

काश्मिर, नर्थइष्ट राज्यहरुमा जारी पृथकतावादी आन्दोलन, झारखण्ड, उडिसा, आन्ध्रप्रदेशमा जारी माओवादी विद्रोह, आतंकवादी आक्रमणलाई भारतले थप सुरक्षा चुनौतीका रुपमा लिएको छ । भारतले आफ्नो विकास बजेटको ठूलो हिस्सा सुरक्षामा खर्च गर्दै आएको छ । जनतालाई भिखारी बनाएर भारतले आफूलाई आणविक शक्ति राष्ट्रको सूचीमा दर्ज गरेको छ । चीन र पाकिस्तानसँगको हतियार र सैन्य होडबाजीका कारण भारतले सुरक्षाचासो र खर्च दुवै बढाउँदै गएको छ ।

भारत हतियारका साथै सैन्यबलमा समेत चीनसँग प्रतिस्पर्धामा छ । भारतसँग हाल १२ लाख ५२ हजार थल, ७९ हजार जल (नेभी) र एक लाख ५१ हजार वायु गरी १४ लाख ८२ हजार सेना रहेको छ । असम राइफल्स, इण्डियन कोष्ट गार्ड र विशेष सीमा बल गरी ६६ हजार असम राइफल, ११ हजार कोष्ट गार्ड र १० हजार विशेष सीमा बलसहितको प्यारामिल्ट्री फोर्स रहेको छ । सेन्ट्रल आम्र्ड पुलिस फोर्स–सीएपीएफअन्तर्गत तीन लाख नौ हजार सेन्ट्रल रिजर्भ पुलिस फोर्स (सीआरपीएफ), दुई लाख ५७ हजार बोर्डर सेक्युरिटी फोर्स (बीएसएफ) ८९ हजार इण्डो–तिबटियन बोर्डर पुलिस फोर्स (आइटीबीपी) एक लाख ४३ हजार सेन्ट्रल इन्डष्टियल सेक्युरिटी फोर्स (सीआइएसएफ) ८२ हजार सशस्त्र सीमा बल (एसएसबी)का साथै ७५ हजार रेल्वे प्रोटेक्सन फोर्स (आरपीएफ), १३ हजार न्याश्नल डिजास्टर रेस्पोन्स फोर्स (एनडीआरएफ) र अन्य फोर्स ३५ हजार गरी १० लाख सुरक्षा फौज रहेको छ ।

भारत सरकारसँग सेन्ट्रल आम्र्ड पुलिस फोर्सेस् (सीएपीएफ) अन्तर्गत बोर्डर सेक्युरिटी फोर्स (बीएसएफ), सेन्ट्रल रिजर्भ पोलिस फोर्स सीआरपीएफ, सेन्ट्रल इन्डष्टियल सेक्युरिटी फोर्स (सीआइएसएफ), इन्डोतिब्बटियन बोर्डर पुलिस फोर्स (आइटीबीपी), सशस्त्र सीमा बल (एसएसबी) र न्याशनल सेक्युरिटी गार्ड (एनएसजी) गरी ६ वटा सुरक्षा बल रहेका छन् । यी सुरक्षाफौजमध्ये भारतले नेपाल र भुटानसँगको सीमामा एसएसबी, बंगलादेश पाकिस्तानसँगको सीमा बीएसएफलाई तैनाथ गरेको छ । जहाँ छिमेकी राष्ट्रहरुको सीमामा तैनाथ भारतीय सुरक्षा दस्ताबाट त्यहाँका नागरिकले हत्या, हिंसा, बलात्कार, घरपकड, लूटपाट, दुव्र्यवहारको सामना गर्दै आएका छन् । भारतसँग रहेका यी सुरक्षा दस्ताहरु निम्नानुसार रहेका छन्ः

सशस्त्र सीमा बल (एसएसबी)

गृहमन्त्रालय मातहत रहेको सशस्त्र सीमा बल–एसएसबी भारतको सेन्ट्रल आम्र्ड पुलिस फोर्सेस्–सीएपीएफअन्तर्गतको सुरक्षा दस्ता हो । यसको गठन भारत–चीन युद्धपछि १९६३ डिसेम्बर २० मा भएको हो । भारतले एसएसबीलाई सीमा निगरानी, सीमा सुरक्षा, सीमा घुसपैठ एवम् अवैध आप्रवास रोकथाम तथा अन्तरसीमा तस्करी नियन्त्रणको जिम्मा दिएको छ । शुरुमा उत्तरी असम, बङ्गालको उत्तरी पहाडी क्षेत्र, उत्तरप्रदेश, हिमाञ्चलप्रदेश र लद्दाखमा तैनाथ एसएसबीलाई भारतले सन् १९६५ पछि मणिपुर, त्रिपुरा र जम्मुमा खटाएको थियो । सन् १९७५ मा मेघालय, १९७६ मा सिक्किम, १९८९ मा राजस्थान–गुजरात, १९८८ मा मणिपुर–मिजोरम, १९८९ मा दक्षिणी बङ्गाल र नागाल्याण्ड तथा सन् १९९१ मा एसएसबीलाई जम्मु–कश्मिरको नुब्रा, रजौरी र पुन्चको सुरक्षा जिम्मा दिएको थियो । २००१ जनवरीदेखि भारतले एसएसबीलाई नेपाल–भारत सीमाअन्तर्गत उत्तराखण्डको २ सय ६३ कि.मि., उत्तरप्रदेशको ५ सय ६० कि.मि., विहारको ७ सय २९ कि.मि. तथा सिक्किमको ९९ कि.मि. गरी कूल १ हजार ७ सय ५१ कि.मि.मा तैनाथ गरेको हो । भारतले एसएसबीलाई लिड इन्टेलिजेन्स एजेन्सी–एलआइएको समेत जिम्मेवारी दिएको छ । नेपाल–भारत सीमाक्षेत्रमा शुरुमा १० हजारको संख्यामा रहेको एसएसबीको संख्या भारतले यतिबेला ४५ हजारभन्दा माथि पु¥याएको छ । २००४ को मार्चदेखि भुटानसँगको ६ सय ९९ कि.मि. सीमा क्षेत्रमा समेत एसएसबीलाई खटाएको छ । ७३ बटालियनमा एसएसबीका ८२ हजार जवान छन् ।

इण्डो–तिबटियन बोर्डर पुलिस (आईटीबीपी)

इण्डो–तिबटियन बोर्डर पुलिस फोर्स भारतको केन्द्रीय अर्धसैनिक सुरक्षा दस्ता हो । सन् १९६२ को भारत–चीन युद्धपछि भारतले १९६२ अक्टोबर २४ मा आईटीबीपी गठन गरेको हो । यस सुरक्षा बललाई भारतले काराकोरम–लद्दाख हुँदै अरुणाचलको दिफुलासम्मको ३ हजार ४ सय ८८ कि.मि. लामो भारत–चीन सीमा क्षेत्रमा तैनाथ गरेको छ । आईटीबीपी ५४ बटालियनमा ८९ हजार जवान छन् । हिमालय क्षेत्रमा २१ हजार फिट (६ हजार ४ सय मिटर) उँचाइसम्म पोष्ट खडा गरी बसेको यस सुरक्षा बलसँग उच्च पर्वतीय तथा स्की तालिम प्राप्त जवान÷अधिकृत रहेका छन् । ‘हिमवीर’ उपमा दिइएको यो सुरक्षा बल अत्याधुनिक हतियार तथा तालिम प्राप्त छ ।

सीमा उल्लङ्घनको निगरानी, अन्तरसीमा घुसपैठ नियन्त्रण, सीमा सुरक्षा, अवैध आप्रवास तथा अन्तरसीमा तस्करी रोकथाम तथा सुरक्षा खतरा रहेका उच्च व्यक्तिहरूको सुरक्षालगायतको जिम्मा यसै अद्र्धसैनिक बललाई दिइएको छ । दैवी प्रकोप तथा प्राकृतिक विपत्तिका बेला उद्धार कार्यमा समेत यस सुरक्षा बलले सघाउने गरेको छ । यो सुरक्षा बल संयुक्त राष्ट्रसङ्घीय शान्ति मिशनअन्तर्गत अङ्गोला, नामिबिया, क्याम्बोडिया, बोस्निया–हर्जगोभिना, मोजाम्बिक, कोसोभो तथा कङ्गोमा समेत कार्यरत छ । राजधानी दिल्ली तथा जम्मु–कश्मिरमा भीआईपीहरूको सुरक्षाको जिम्मा यसै सुरक्षा बललाई दिइएको छ । सन् २००२ देखि अफगानिस्तानको काबुलस्थित भारतीय दूतावासका साथै जलालावाद र कन्धारमा रहेका भारतीय कन्सुलर कार्यालयको सुरक्षासमेत आईटीबीपीले हेर्दै आएको छ ।

आईटीबीपी दार्चुला जिल्लाको पश्चिमोत्तर लिपुलेक–लिम्पियाधुरा क्षेत्रमा स्थायी क्याम्प खडा गरी बसेको छ । आईटीबीपीका जवानहरूबाट सीमावर्ती दार्चुलावासीले वर्षौंदेखि अनावश्यक दुःख हैरानी झेल्दै आएका छन् । आईटीबीपीबाट महाकालीमा आवत–जावतका लागि बनाइका तुइन चुडाउने, नेपालीहरूको आवागमनमा रोक लगाउने र घरपकड गर्ने कामसमेत हुने गरेको छ । २०५४ कात्तिकमा छाँगरुमा चिनियाँ गुप्तचर घुसेको हल्ला फैलाउँदै २० जनाभन्दा बढी आईटीबीपीका जवान गैरकानुनीरुपमा नेपाल प्रवेश गरी १५ दिनसम्म छाँगरुस्थित कैलाश निम्नमाध्यमिक विद्यालयमा अड्डा जमाएर बसेका थिए । बसाइका क्रममा उनीहरूले छाँगरुका प्रत्येक घरको तलासी लिंदै स्थानीयवासीलाई दुःख दिएका थिए । तर, आईटीबीपीको गैरकानुनी नेपाल प्रवेशबारे सरकारले भारतसँग कहिल्यै कुरा उठाएन ।

बोर्डर सेक्युरिटी फोर्स (बीएसएफ):

पाँच वटा केन्द्रीय सशस्त्र पुलिस बलमध्ये बोर्डर सेक्युरिटी फोर्स (बीएसएफ) सीमा सुरक्षा बल एक हो । यो फोर्स शुरुमा बोर्डर गार्डिग फोर्सका रुपमा गठन भएको थियो । सीमा सुरक्षाका लागि यस बलको गठन भारतले सन् १९६५ को भारत–पाकिस्तान युद्धपछि १९६५ डिसेम्बर १ मा गरेको हो । गृहमन्त्रालयको मातहतको यो बलसँग एयर र मेरिन विंग, आर्टिलरी रेजिमेन्ट कमाण्डोसहित १ सय ८६ बटालियनमा २ लाख ५७ हजार २६ संख्या रहेको छ । संसारकै ठूलो सीमा बल भारतले मानिने बीएसएफलाई भारतले पाकिस्तान र बंगालदेशसँगको सीमा क्षेत्रमा तैनाथ गरेको छ ।

म्यान्मारसँगको सीमा क्षेत्रमा तैनाथ गर्ने योजना बनाएको छ । पाकिस्तानसँगको वागा बोर्डरमा पाकिस्तानी रेन्जरसँगको डिलमा देखिने यही फोर्स हो । यस बलको हेडक्वाटर दिल्लीमा रहेको छ ।

सीमा क्षेत्रमा ज्यादती मच्चाउने कार्यबाट यो फोर्ससमेत मुक्त छैन । बंगलादेशका गृहमन्त्री सहारा खातुनले २४ मार्च २०११ मा आफ्नो संसदलाई जानकारी गराएअनुसार बीएसएफले सन् २००९ मा मात्रै ६७ बंगलादेशी नागरिकको हत्या गर्नुको साथै ८० जनालाई घाइते बनाएको थियो । सन् २०१० मा बीएसएफबाट मारिने बंगलादेशी नागरिकको संख्या ६० र घाइतेको संख्या ८७ थियो । २००१ अप्रिल १६ का दिन मेघालयको सीमा क्षेत्र डौकीस्थित पौदा÷पिरदिवामा बंगलादेशी सीमा गार्डबाट (बंगलादेश राइफल्स बीडीआर) भएको जवाफी कारबाहीमा १६ जना बीएसएफ र २ जना बंगलादेशी बोर्डर गार्डको मृत्यु भएको थियो । भारतीय सहयोगमा बंगलादेश निर्माणपछि बंगलादेशी सुरक्षाबलबाट भएको यो सबैभन्दा ठूलो कारबाही थियो । बंगलादेशको सेलिट जिल्लाको तामविलसँग जोडिएको सो क्षेत्रको ६.६ किमी भूमि भारतले अवैधरुपमा कब्जामा लिएको दाबी बंगलादेशको थियो । १६ अप्रिलका दिन ५ सयको संख्यामा बंगलादेशी बोर्डर गार्डका जवानहले पौदा गाउँ नियन्त्रणमा लिई त्यहाँ रहेको बीएसएफ पोष्ट कब्जा गरेका थिए । नियन्त्रणमा लिएका बीएसएफका दुई जवानलाई उपचारका लागि भन्दै ढाका लगिएको थियो । अप्रिल १७ का दिन बंगलादेशी राइफल्सका डीजी फजलुर रहमानले आफ्नो भूमिमाथिको हक पुनस्र्थापित गर्न आफ्नो मिसन सफल रहेको बताएका थिए ।

न्याशनल सेक्युरिटी गार्ड (एनएसजी):

गृहमन्त्रालय मातहतको यो भारतको विशेष फोर्स हो । यस बलको गठन सन् १९८४ मा अपरेशन ब्लूस्तार र तत्कालीन भारतीय प्रधानमन्त्री इन्दिरा गान्धीको हत्यापछि आन्तरिक अवरोध, प्रतिरोध र आतंकवाद नियन्त्रणका लागि भएको हो । एनएसजी विशेष शक्ति, म्याण्डेट र विशेष अपरेशन क्षमता राख्दछ । भारतमा एनएसजी ब्ल्याक क्याटका रुपमा समेत परिचित छ । यस बललाई आन्तरिक–बाह्य भीआईपीको सुरक्षा, आतंकवाद प्रतिरोध, जल, थल, वायु तथा अपहरण प्रतिरोधलगायतको जिम्मा दिइएको छ ।

सेन्ट्रल रिजर्भ पुलिस फोर्स (सीआरपीएफ):

केन्द्रीय रिजर्व पुलिस बल सन् १९३९ जुलाई २७ मा क्राउन रिपे्रजेन्टेटिभ पुलिसका रुपमा गठन भएको थियो । भारत स्वतन्त्र भएपछि १९४९ डिसेम्बर २८ मा यस बललाई सेन्ट्रल रिजर्भ पुलिस फोर्स नाम दिइयो । कानुनी व्यवस्था कायम राख्नुको साथै काउण्टर इन्सरजेन्सी, आतंकवाद प्रतिरोध, विशेष हतियार सञ्चालन, अन्तर्राष्ट्रिय तथा आन्तरिक भीआईपीहरुको सुरक्षा, राज्य सम्पत्तिको सुरक्षालगायतको जिम्मा दिइएको छ । २ सय ३५ बलाटियलसहित ३ लाख ९ हजार जवान रहेको यो फोर्स भारतको सबैभन्दा ठूलो अर्धसैनिक बल हो । २००८ मा नक्सलाइट प्रतिरोधी कारबाहीका नाममा कमाण्डो बटालियन फर रिसोलुट एक्सन कोब्रालाई समेत यसै फोर्समा राखिएको छ । आतंकवाद प्रतिरोधका लागि कमाण्डो ४ सय ६९ र दू्रत कार्य बल यसै फोर्ससँग छ ।

असम राइफल्स ः

इष्ट इण्डिया कम्पनी सरकारका पालामा गठित यो पुरानो अर्धसैनिक बल हो । सन् १८३५ मा यस बललाई कचार लेबी भनिथ्यो । त्यसपछि विभिन्न नामबाट चिनिएको यो फोर्सलाई सन् १९१७ मा असम राइफल्स नाम दिइएको थियो । केन्द्रीय रिजर्व पुलिस बलझैं यस फोर्सलाई पनि कानूनी व्यवस्था कायम राख्ने, काउण्टर इन्सरजेन्सी, आतंकवाद प्रतिरोध, विशेष हतियार सञ्चालन, राज्य सम्पत्तिको सुरक्षालगायतको जिम्मा दिइएको छ । असम राइफल्सको वर्तमान संख्या ६६ हजार रहेको छ ।

भारतीय सुरक्षा छिमेकीलाई थ्रेट:

भारतले यसरी मजबुत बनाउँदै लगेको सैन्य र आणविक शक्ति उसका छिमेकीका लागि भने ठूलो खतराका रुपमा रहेको छ । आफ्नो सुरक्षा मजबुत बनाउने नाममा भारतले सीमा क्षेत्रमा ठूलो संख्यामा अर्धसैनिक तथा ब्याक फोर्सका रुपमा सैनिक खटाएर साना छिमेकी राष्ट्रहरुलाई त्रसित बनाएको छ । सीमा क्षेत्रमा खटाइएका हजारौं भारतीय अर्धसैन्य बलबाट अर्को राष्ट्रको सार्वभौमिकतालाई चुनौती दिंदै सीमा अतिक्रमण गर्ने, हतियारसहित गैरकानुनी रुपमा अर्को देश प्रवेश गर्ने, सीमावर्ती क्षेत्रका वासिन्दालाई कुटपिट, घरपकड, दुव्र्यवहार गर्ने, छोरीचेलीको अस्मिता लुट्नेदेखि निर्दोष–निहत्था जनतालाई गोली हानी मार्ने लगायतका कार्य हुँदै आएका छन् । २००१ जनवरीदेखि भारतले नेपालसँगको सीमामा परिचालन गरेको एसएसबी र आईटीबीपीका कारण थुप्रै निर्दोष नागरिकले कुटपिट, धरपकड, बलात्कार तथा हत्या–हिंसाको शिकार हुनुपरेको छ । नेपाली नागरिकमाथि एसएसबी र आईटीबीपीले मच्चाएको हत्याहिंसा, लुटपाट, बलात्कार, अपहरणको शृङ्खला लामो छ । ताप्लेजुङ, झापा, मोरंग, बारा, पर्सा, सुस्ता, रुपन्देही, बर्दिया, कैलाली, कञ्चनपुर हुँदै दार्चुलासम्म एसएसबी र आईटीबीपीले नेपाली भूमि मिच्ने, नेपाली नागरिक कुटपिट गर्ने दर्जनौ घटना घटिसकेका छन् ।

सीमा क्षेत्रमा एसएसबीका ज्यादतिबारे नेपालले ०६७ को चैतमा भारतको पुनामा सम्पन्न द्विपक्षीय परामर्श समूहको आठौँ बैठकमा भारतसँग पहिलोपटक औपचारिक रुपमा कुरा उठाएको थियो । एसएसबीलाई अनुमतिबिना नेपाली भूमिमा छिर्न नदिन, नेपाली नागरिकमाथि हातपात नगर्न, भारतबाट फकर्ने नेपाली मजदूरहरूमाथि लुटपाट नमच्चाउने गरी नियन्त्रणमा राख्न नेपालले कुरा राखेको थियो । भारतले नेपालको प्रस्ताव स्वीकार गरे पनि सीमा क्षेत्रमा एसएसबीले आतंक मच्चाउन कहिल्यै छोडेन । यही फागुन २६ गते कञ्चनपुरको पुनर्वासमा नेपाली भूमिमै आएर स्थानीय गोविन्द गौतमलाई गोली हानी हत्या गर्नु एसएसबीको आतंक–शृङ्खलाको निरन्तरता हो ।

एसएसबीद्वारा नेपालमाथि जारी आतंक ः

एसएबीले हालसम्म नेपाली नागरिकमाथि थुप्रै निन्दनीय हर्कत गरेको छ । ०६६ मंसिर १२ गते भारतबाट १० किलो चिनी लिएर फर्किरहेका विद्यार्थीसँग घुस माग्दा नदिएपछि एसएसबीका जवान नेपाल पस्दै नेपाल प्रहरी र सर्वसाधारणमाथि जाइलागेका थिए । ०६७ मंसिर २० गते रौतहटको टिकुलियामा एसएसबी जवान गैरकानुनीरूपमा प्रवेश गरी ६ जना बढी नेपाली नागरिकलाई निर्घात कुटेका थिए । ०६७ फागुन ५ गते बर्दिया, जमुनी–शान्तिपुरका ५२ वर्षीय हर्कबहादुर शाहीलाई एसएसबीले नेपालमै आएर घेरा हाली गोली हानेको थियो । गोली लागी घाइते भएका शाहीलाई नियन्त्रणमा लिए फेरि बन्दुकको कुन्दा र बुटले हान्दै अचेत बनाएका थिए । त्यसपछि शाहीलाई एसएसबीले मोटरसाइकलमा भारततिर लगेका थिए । जिप्रका बर्दियाले एसएसबीको गोली र कुटाइका कारण शाहीका मृत्यु भएको पुष्टि गरेको थियो । हत्यापछि शाहीको परिवारले दोषीलाई कारबाही र काजक्रियाका लागि लाशको आशा गरेका थिए तर लाशसम्म पाएनन् । ०६७ चैत्र १३ गते एसएसबीले सर्लाहीको बलारा, लक्ष्मीपुरका अवधेश मिश्र र उनका छोरा राजीव मिश्रलाई सुतिरहेकै अवस्थामा घर घेरा हाली पक्राउ गरेको थियो । ६० जनाको संख्यामा आएका एसएसबी जवानले मिश्रलाई पक्राउ गर्नुका साथै अन्य ३ जनालाई कुटपिट गर्दै सीमामा लगेर छोडेको थियो ।

०६७ जेठ ११ गते मोरङ अमाहीबरियातीका हरिशचन्द्र मण्डल सीमाबजार कुवाडीबाट खाने तेल लिएर फर्किरहँदा एसएसबीका जवानले घुस मागेका थिए । मण्डलले ‘घुस’ नदिएपछि इन्स्पेक्टर हितेन्द्र सिंह अन्य एसएसबी जवानसहित मण्डललाई पछ्याउँदै नेपाल छिरेका थिए । एसएसबीले नेपाली नागरिकमाथि ज्यादति गरेपछि स्थानीय प्रहरी चौकीका हवल्दार शम्भु चौधरी घटनास्थल पुग्दा इन्सपेक्टर हितेन्द्रले हवल्दार चौधरीमाथि गोली हानेका थिए । तर गोली चौधरीको शरीरमा नलानी स्थानीय वासुदेव साहको छातीमा लाग्दा उनको त्यहीं मृत्यु भएको थियो । साहको परिवारले कुनै क्षतिपूर्ति पाएन ।

०६८ असोज ३० गते कञ्चनपुरको सीमावर्ती गाउँ भुजेलामा हतियारधारी ३५ जना एसएसबीका जवान गैरकानुनीरुपमा प्रवेश गरी स्थानीय कल्याण लुहार, अजित पाल र भक्तबहादुर रानाका घर–पसल भत्काएका थिए । एसएसबीले अन्धाधुन्ध धरपकडसहित स्थानीयका घरटहरा भत्काउन थालेपछि भुजेला तनावग्रस्त बनेको थियो । कात्तिक १ गते बिहानै भुजेलामा एसएसबी सहकमाण्डर सी. गेहेसको नेतृत्वमा १५–१६ जना हतियारधारी एसएसबी जवान तैनाथ भएपछि भुजेला झन् तनाबग्रस्त बनेको थियो । त्यसपछि स्थानीय प्रशासनले नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली भुजेला पठाएको थियो । कञ्चपुरका प्रजिअ वासुदेव दाहालले एसएसबीको ज्यादतिबारे भारतीय समकक्षीसँग कुरा गरी विवाद सुल्झाएका थिए ।

०७१ मंसिर २६ गते महोत्तरीको मटिहानीस्थित दशगजामा एसएसबीका महिला सुरक्षाकर्मीको शरीरमा मोटरसाइकलले छोएको विषयलाई लिएर एसएसबी नेपाली भूमिमा प्रवेश गरी निर्दोष नेपाली नागरिकलाई कुटपिट गरेका थिए । विहार, मधवापुरका संजय पूर्वेले भारतीय नम्बरको मोटरसाइकलमा नेपाल प्रवेश गर्ने क्रममा एसएसबीका महिला सुरक्षाकर्मीको शरीर छोएका थिए । सो क्रममा विवाद हुँदा नेपाल पसेका संजयलाई पछ्याउँदै एसएसबीका जवान नेपाल प्रवेश गरी राइफलको कुन्दाले त्यहाँ उपस्थित सबैलाई कुटेका थिए । एसएसबीको कुटाइबाट मटिहानीका राजेश मण्डल, उर्मिलादेवी, मझौरा–विष्णपुरका राजुप्रसाद गुप्ता, राकेश यादव, गणेश चौधरी र शिवा साह घाइते भएका थिए ।

०७१ चैत्र पहिलो साता चितवनको माडी क्षेत्रमा एसएसबीका जवानहरू हतियारसहित प्रवेश गरेका थिए । माडीको वसन्तपुरबाट ९ किमि दूरीमा रहेको सोमेश्वरगढीमा चैतै दशैं मेलामा सोमेश्वर–कालिकाको दर्शनका लागि आएका तिर्थालुहरुलाई ठूलो संख्यामा रहेका हतियारधारी एसएसबीका जवानहरूले फोटो खिच्न समेत नदिई तर्साएका थिए । एसएसबीले मन्दिरलाई गैरकानूनीरुपमा पोशाक परिवर्तन तथा विश्रामस्थलका रुपमा प्रयोग गर्दै आएको स्थानीयले बताएका थिए ।

०७२ जेठ अन्तिम साता भारतीय वन रक्षक र एसएसबीले बर्दियाको जमुनी बजार नजिकै बाख्रा चराई घरतर्फ फर्किरहेका स्थानीय धनबहादुर सुनार, किरण राई र गोरे नेपालीलाई ५५ वटा बाख्रासहित नियन्त्रणमा लिएका थिए । घटनाबारे बर्दियाका प्रजिअ र प्रहरी प्रमुखलाई जानकारी गराए पनि सम्बन्धित निकायबाट खोजतलासको प्रयास नभएको स्थानीयको आरोप थियो । ०७२ असोज २४ गते विराटनगरस्थित दशगजामा धर्ना बसेका मधेसी मोर्चाका कार्यकर्ता र नेपाल प्रहरीबीच झडप भइरहेको थियो । सोही मौकामा एसएसबीका जवान रानीस्थित नेपाली भूमिमा प्रवेश गरी असई प्रदीप गिरिमाथि जाइलागेका थिए । गिरिलाई कुटपिट गर्दै उनीसँग रहेको चाइनिज पेस्तोल र सात राउन्ड गोली खोसेर लगेका थिए । घटना लगत्तै दुई देशका अधिकारीबीच हतियार फिर्ताबारे वार्ता भएको थियो । तर, एसएसबीले पेस्तोल फर्काएन ।

०७२ मंसिर १३ गते झापाको केचना नाकाबाट एसएसबीका १३ जवान एकाविहानै ह्वार्रह्वार्ती नेपाल छिरेका थिए । तस्कर लखेट्ने निहुँ बनाएर नेपाल पसेका एसएसबी जवानले केचना–४ का मोहम्मद आलमलाई कुटपिट गरे । आलमलाई एसएसबीले कुटेपछि स्थानीय प्रतिकारमा उत्रिए । त्यसपछि मात्रै ४० मिटरको दूरीमा रहेको सीमा सुरक्षा पोष्टका सशस्त्र प्रहरी त्यहाँ पुगी एसएसबी जवानलाई नियन्त्रणमा लिएका थिए । फौजी पोशाकमा रहेका एसएसबीका जवानहरुमा चार जनाले इन्सास राइफल बोकेका थिए । ७ घण्टासम्म नियन्त्रणमा लिई गल्तीबस नेपाली सीमामा प्रवेश गरेको स्पष्टीकरण दिएपछि उनीहरुलाई एसएसबी फिल्ड इन्चार्जको जिम्मा लगाइएको थियो ।

०७२ मंसिर ९ गते बिहान एसएसबीले सुनसरीको भण्टाबारीस्थित नेपाली भूमिमा प्रवेश गोली बर्साउँदा हरिपुर–७ का अशोक यादव, नरेश यादव, मनोज यादव र सरोज यादव गम्भीर घाइते भएका थिए । एसएसबीले प्रहार गरेको गोली अशोक यादवको पेट, नरेश, मनोज र सरोजको ढाड र शरीरका अन्य भागमा लागेको थियो । गोली लागेर गम्भीर बनेका उनीहरू सबैलाई स्थानीयवासी र नेपाल प्रहरीले उद्धार गरी उपचारका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएका थिए । स्थानीयवासीका अनुसार भारतीय बजारबाट इन्धन लिएर आउँदै गरेका उनीहरूलाई एसएसबीले लखेटीलखेटी गोली हानेको थियो । नेपालीमाथि गोली बर्साएपछि एसएसबीको टोली भारतीय भूमितर्फ फर्केको थियो

अत्यमा ः

भारतले नेपालमाथि आतंकवादी घुसपैठको बहानामा जहिल्यै सुरक्षा हस्तक्षेपको नीति लिएको छ । भारत खुला सीमाका कारण नेपालबाट आतंककारी घुसपैठ भयो भन्छ, तर खुला सीमा बन्द गरी नियमन गरौँ भन्दा नेपालसँग रोटीबेटीको सम्बन्ध भएकोले खुला सीमा बन्द गर्न मिल्दै पनि भन्छ । भारतको यो हलो अड्काएर गोरु कुट्ने चरित्र सुरक्षाको निहुँ बनाएर नेपालमाथि निरन्तर हस्तक्षेप कायम राख्नु हो तर बुझ्नुपर्ने कुरा के हो भने भारतसँगको खुला सीमा बन्द गरी नियमन नगरिएसम्म नेपालमा भारतीय सुरक्षा थ्रेट कायमै रहनेछ । नेपाली भूमिमाथिको भारतीय अतिक्रमणले, गैरनागरिक आप्रवासन तथा एसएसबी ज्यादतीले निरन्तरता पाउँदै जानेछ । थुपै्र गोविन्द गौतमहरु शहीद हुँदै जानेछन् । त्यसैले नेपालमा जारी भारतीय अतिक्रमण, गैरकानुनी आप्रवासी घुसपैठ र एसएसबी ज्यादती रोक्न नेपालले भारतसँगको खुला सीमा बन्द गरी नियमनका लागि पहल गर्न ढिलो भइसकेको छ । खुला सीमाका कारण जारी बाह्य अतिक्रमण, एसएसबीको ज्यादती र निहत्था नागरिकले ज्यान गुमाउँदै आएका यस्ता घटनाबाट अझै पाठ नसिक्ने हो भने यसले भविष्यमा निम्त्याउने दुस्परिणाम भयावह हुनेछ । तसर्थ भारतसँगको खुला सीमा बन्द गरी नियमन गरी एकअर्को देशबाट ओहोर–दोहोर गर्ने सबैको अभिलेख राखौँ !

प्रतिक्रिया