पूर्वराजा ज्ञानेन्द्र शाहले जनताको मनोभावना अनुसार आफूले काम गर्ने बताएका छन् । पूर्वी नेपालको भ्रमणका क्रममा सिन्धुलीमाढी पुगेका ज्ञानेन्द्रले उनलाई स्वागत गर्न भेलाभएका सर्वसाधारणसँग भने–‘सबै कुराको समय र महत्व हुन्छ, जनताको मनोभावना बुझेको छु । केही समय पर्खनुहोस् ।’
आफ्नो स्वागतका लागि उभिएका सहभागीहरुलाई ज्ञानेन्द्रले सबैको कुरा बुझेको बताउँदै भने–‘समय आउँछ । समयमा आवश्यकता अनुसारका काम हुन्छ । मैले तपाइहरुको कुरा बुझेको छु ।’
शाहलाई सरकारको मुख्य घटक राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका नेता तथा कार्यकर्ताहरुले स्वागत गरेका थिए ।
गाडीबाटै स्वागत ग्रहण
कडा सुरक्षाविच सिन्धुलीमाढी आफैले ड्राइभिङ गर्दै पुगेका पूर्वराजा ज्ञानेन्द्रले गाडीबाटै स्वागत ग्रहण गरेका थिए । झण्डै २० मिनेटको अनौपचारीक तर संक्षिप्त स्वागत ग्रहण गरेका थिए । स्वागतका क्रममा शाह गाडीबाट भने ओर्लीएका थिएनन् ।
सिन्धुलीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक उमाशंकर पञ्जियारले औपचारिक कार्यक्रम बिनानै पूर्वराजा आएको बताए । उनले भने–‘शाहको आवगमनका क्रममा सिन्धुलीको खुर्कोट र ढुङ्ग्रेवासमा राप्रपा नेपाल र राजाका समर्थकहरुले स्वागत गरेका थिए । अन्य कुनै औपचारीक कार्यक्रम भएको छैन् । शाहले वीपी राजमार्ग प्रयोग गर्दै पूर्व हिडेको जानकारी पाएका हौं, तर कहाँ कता जाने भन्ने थाहा छैन ।’