एमाओवादी र बादल पक्षबीच हुन भनिएको एकता बाहिर जति होहल्ला र चर्चा छ, तर एमाओवादीका अधिकांश नेता र कार्यकर्तालाई भने सो एकताप्रति कुनै चासो र चिन्ता नभएको देखिएको छ । एकता भन्दा त धेरै नेता र कार्यकर्तामा खुशीयाली र उमंग छाउनु पर्ने हो, तर सोही पार्टीका कार्यकर्ताहरुलाई कुनै खुशी र उमंग नभएपछि यो कस्तो एकता भन्नेबारे जिज्ञासा उत्पन्न भइरहेको छ । त्यसैले यो एकता एमाओवादी कार्यकर्ताका लागि नेपाली उखान–‘कौवालाई बेल पाक्यो, हर्ष न विस्मात’ जस्तै हुन पुगेको छ ।
बादलहरुले फुटको सैद्धान्तिक औचित्य पनि पुष्टि गर्न सकेनन् र अब हुने एकताको अर्थ र औचित्य पनि पुष्टि गर्न नसक्ने भन्दै एमाओवादीका नेता र कार्यकर्ताहरुले प्रचण्डसँग प्रश्नहरु गरिरहेका छन् ।
फुट र एकताको अर्थ–औचित्यबारे आधारहरु नप्रष्टयाइँ गरिने एकता भनेको कार्यकर्ताहरुलाई उल्लु बनाउने काम मात्र हुने एमाओवादीका कार्यकर्ताहरुको बुझाइ रहेको छ । एमाओवादी विभाजन के कारणले भएको थियो ? अब के कारणले एकता हुँदैछ भन्नेबारे एमाओवादीका अधिकांश कार्यकतालाई कुनै जानकारी नै नभएको भन्दै स्वयंम कार्यकर्ताहरुले सडकमा छताछुल्ल बोल्ने गरेका छन् ।
केही दिनअघि एमाओवादीमा बादलहरु आउने प्रसँगबारे राजधानीको भृकुटीमण्डपको खुला चौरमा एमाओवादीका अखिल क्रान्तिकारीका कार्यकर्ताहरु आपसमा कुरा गर्दै थिए । उनीहरु बादलहरु आउने कुरालाई कुनै महत्व नदिएको बरु हिजो के गर्न पार्टी फुटाएका थिए र अब केका लागि आउदैछन् भनेर खुचिङ गरिरहेका थिए ।
बादलहरुको सैद्धान्तिक र सांगठनिक आधार नभएकोले एमाओवादीमा आउन थालेको बरु अब उनीहरुलाई पार्टीमा कसरी भागबन्डा मिलाउने भन्नेमा समस्या पर्ने उनीहरुले चिन्ता व्यक्त गरिरहेका थिए ।
‘वैद्य र बादलसँग कुनै मान्छेहरु नै छैन । माथि केही नेताहरु छन्, तर तल संगठनको आधार नै छैन ।’ सुदूर पश्चिम घर भएका एमाओवादी विद्यार्थीका एक कार्यकर्ता सडकमा भन्दै थिए, ‘आफ्नो जीवन व्यवस्थापन गर्न र राजनीतिक उचाइँ माथि उठाउन बादलहरु एमाओवादीसँग एकतामा आउदैछन् । तर, हामीलाई यसबारे कुनै मतलव छैन ।’
अहिले आएर पार्टी अध्यक्ष मोहन वैद्य किरणले एमाओवादीसँगको एकता विचारहीन एकता हुने भन्दै विरोध जनाइरहेको बेला बादलहरु एमाओवादी जाने कुरा एकता नभइ त्यो एमाओवादीमा विलय हुने वैद्य पक्षको बुझाइरहेको छ ।
वैद्यसहित बादलहरु एमाओवादीमा आएको भए केही हदसम्म एकताको अर्थ हुन जान्थ्यो तर बादलमात्रको एकताको कुनै मुल्य नभएको एमाओवादी कार्यकर्ताहरुको बुझाइ रहेको छ ।
अझ वास्तविक एकता त विप्लवसहितको एकता हुनु पर्ने एमाओवादीका अधिकांश नेता र कार्यकर्ताहरुको बुझाइरहेको छ ।तर यता नेत्रविक्रम चन्द विप्लव नेतृत्वको माओवादीले प्रचण्डमा हिजो जुन विचलन थियो, त्यो विचलनामा कुनै रुपान्तरण नआएको भन्दै अहिले प्रचण्ड–बादल एकता गाइजात्रे एकता प्रकरण भएको बुझाई छ ।