भारतीय सांसदले भने– चीनको आड लिएर नेपालले धम्क्यायो

भारतीय सांसदले भने– चीनको आड लिएर नेपालले धम्क्यायो


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, २९ बैशाख २०७३
  • 10.6K
    Shares

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीकै पार्टीका एक सांसदले नेपालले चीनको आड लिएर भारतलाई धम्क्याइरहेको आरोप लगाएका छन् ।  बुधबारको लोकसभा बैठकमा बोल्दै भारतीय जनता पार्टीका सांसद निशिकान्त दुबेले नेपालले चीनको आडमा भारतलाई धम्क्याइरहेको आरोप लगाएका हुन् । सांसद दुबेले शून्य समयमा लोकसभामा बोल्दै भने, ‘चीनको आड लिएर नेपालले भारतलाई धम्क्याइरहेको छ ।’
 दुबेले भारतले नेपालप्रति कठोर नीति बनाएर नेपालको सीमामा पूरै बार लगाउनुपर्ने समेत बताएका छन् । कमजोर मुलुक भए पनि नेपालले भारतलाई धम्क्याएकोप्रति आक्रोशित भएका दुबेले नेपालको सीमामा भारतले पाकिस्तान र बंगलादेशमा जस्तै बार लगाउनुपर्ने बताएको इन्डियन एक्सप्रेसले जनाएको छ ।

 उनले  नेपालसँगको १४ सय ८५ किलोमिटर दूरीमा पूरै बार लगाउनुपर्ने धारणा व्यक्त गरेको समाचारमा उल्लेख छ ।उनले नेपालले राष्ट्रपति विद्यादेवी भण्डारीको भ्रमण स्थगित गरेको, भारतका लागि नेपाली राजदूत फिर्ता बोलाएकोप्रति समेत आक्रोश व्यक्त गरे । उनले नेपालले भारतीय राजदूतलाई समेत फिर्ता पठाउने योजना बनाएकाले भारतले नेपालप्रति कठोर नीति अबलम्बन गर्नुपर्नेमा जोड दिए ।

सांसद दुबेले सन् १९५० को सन्धि अनुरुप भारतले नेपाललाई सहयोग गरेको तर नेपालले चीनको आडमा भारतलाई धम्क्याउने गरेका दाबी गरे ।
कांग्रेसका सांसद ज्योतिरादित्य सिंधियाले भने नेपाल भारतसँग परनिर्भर रहेको र यो कुरा सही नभएको बताएको हिन्दुस्थान अनलाइनले जनाएको छ । नेपालको चर्को विरोधमा उत्रिएका दुबेले नेपालप्रति जवाहरलाल नेहरु, इन्धिरा गान्धी र राजीव गान्धीले अघि सारेको नीतिकै कारण समस्या आइपरेको समेत बताए ।

प्रतिक्रिया