एकै व्यक्तिद्वारा एक सय १८ पटक सुन तस्करी

एकै व्यक्तिद्वारा एक सय १८ पटक सुन तस्करी


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, २३ फाल्गुन २०७३
  • 17.1K
    Shares

हरिशरण खड्का

गुल्मीका विष्णु सुवेदी सन् २०१६ मा एक सय चारपटक दुबई पुगे । सामान्य आर्थिक हैसियत भएका उनी वर्षमा एकपटक पनि दुबई घुम्न सक्ने व्यक्ति होइनन्, तर सुनका बिस्कुट ओसार्न सुवेदी सातामा दुईपटकसम्म दुबई पुग्ने गरेका थिए । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)का अनुसार सुवेदी सुन तस्करीका विश्वासिला भरिया हुन् । उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै पछिल्लो डेढ वर्षमा एक सय १८ पटक सुन ओसारेको सिआइबीका निर्देशक डिआइजी नवराज सिलवालले बताए । ‘उनीजस्तै धेरै भरिया प्रयोग गरी विमानस्थलबाट लामो समयदेखि सयौँ केजी सुन नेपालमा तस्करी भइरहेको रहेछ,’ सिआइबीले बरामद गरेको साढे ३३ किलो सुन प्रकरणबारे जानकारी दिन आइतबार आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘देशको अर्थतन्त्रलाई नै धक्का दिने गरी ठूलो मात्रामा सुन तस्करी हुँदै आएको देखियो ।’ उनीजस्तै भोला मगर, राजन सुवेदी, संकेत उपाध्यय, गोपाल शाहीलगायतले पटक–पटक दुबईबाट सयौँ केजी सुन नेपालमा तस्करी गर्दै आएका थिए ।

दुई महिनापछि साढे ३३ किलो सुन तस्करीमा संलग्न ३३ जनाविरुद्ध सिआइबीले आइतबार जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ । १२ जनालाई पक्राउ गरेर तथा अन्य २१ जनालाई फरार प्रतिवादी बनाएर संगठित अपराध मुद्दामा जिल्ला सरकारी वकिल कार्यालयमार्फत मुद्दा दायर गरिएको हो । उनीहरूलाई सात वर्षसम्म कैद सजायको माग गरिएको छ ।

मुख्य नाइकेहरू फरार
सिआईबीले सुन तस्करीमा संलग्न एसएसपी र भन्सारका कर्मचारीलाई पक्राउ गरे पनि मुख्य नाइकेलाई भने पक्राउ गर्न सकेको छैन । विदेशमा रहेकाले उनीहरूलाई पक्राउ गर्न नसकिएको डिआइजी सिलवालले बताए । प्रहरीले एसएसपी श्याम खत्रीसहित १२ जनालाई पक्राउ गरेरै मुद्दा दायर गरेको छ । एयरपोर्टका भन्सारका कर्मचारीहरू श्रीनारायण यादव, राज ढकाल, श्याम श्रेष्ठ, न्युरोडस्थित वैभव लक्ष्मी गोल्ड एन्ड सिल्भर प्यालेसका सञ्चालकहरू राजेश शाक्य, सुनिल श्रेष्ठ, मनोज श्रेष्ठ र नारायण श्रेष्ठविरुद्ध पनि मुद्दा दायर गरिएको छ । तस्करीमा संलग्न रामहरि कार्की, दिलबन्धु थापा, सन्तोष काफ्ले र गोपाल शाहीलाई प्रहरीले पक्राउ गरेको थियो । अन्य २१ जनालाई फरार प्रतिवादी बनाइएको छ ।

बरामद सुनका मुख्य नाइके हरिशरण खड्का
बरामद सुनको मुख्य नाइके काभ्रेका हरिशरण खड्का भएको प्रहरीले जनाएको छ । उनी हाल विदेशमा छन् । त्यस्तै, रोशन (गुप्तलाल भुसाल), राजन पन्थ, अर्जुन खरेल, किसनगोपाल अग्रवाल, चूडामणि उप्रेती, सीताराम खरेल, केशव चापागाईं र गोपी भुसालसमेतको बरामद सुनमा लगानी रहेको सिआइबीले सार्वजनिक गरेको छ । उनीहरूसहित वैभव लक्ष्मी गोल्ड एन्ड सिल्भर प्यालेसका प्रमोद श्रेष्ठ पनि फरार छन् ।

त्यस्तै, तस्करीमा सहयोगीको भूमिकामा उत्तरढोकास्थित दरबार दोहोरी क्लबका सञ्चालकद्वय रामप्रसाद खड्का र प्रकाश खरेलसमेत संलग्न थिए । सो दोहोरीका एक सञ्चालक रामहरि कार्की भने पक्राउ परिसकेका छन् । सुन ओसारपसारमा संलग्न भोला मगर, संकेत खतिवडा, विष्णु सुवेदी, माधव सुवेदी तथा एयरपोर्ट भन्सारका कर्मचारीहरू गंगा भुसाल, तेजबहादुर श्रेष्ठ र प्रद्युम्नहरि श्रेष्ठलाई फरार प्रतिवादी बनाइएको छ ।

यसैगरी, विशालबजारस्थित आरके ज्वलर्स र दरबारमार्गस्थित आरके डायमन्डका सञ्चालक राजेन्द्र शाक्य र मलिका बज्राचार्य शाक्य, सालिमार ज्वेलर्सका सञ्चालकहरू रामकृष्ण गोयल, कुसुम गोयल र राहुल गोयल फरार छन् । वटुस्थित साइराम ज्वेलर्सका सञ्चालक अमोल विभूते भाइचन्द्रलाई पनि प्रहरीले फरार प्रतिवादी बनाएर मुद्दा दायर गरेको छ ।

फेसबुकमार्फत सेटिङ
फेसबुक च्याटमार्फत उनीहरूबीच सुन तस्करीको सेटिङ हँुदै आएको डिआइजी नवराज सिलवालले बताए । उनीहरूले दुबईबाट सुन राखेको लगेज र व्यक्तिको फोटो म्यासेन्जरमै पठाउने गर्दथे । सोही आधारमा चेकिङमा सुन पास गरिदिन्थे । ‘भन्सारका कर्मचारीहरूले हाकिमसँग नभई तस्करहरूसँग आफ्नो बिदा माग्ने गर्दा रहेछन्,’ डिआइजी सिलवालले भने, ‘सुन नआउने दिन मात्र उनीहरू बिदा बस्ने गरेका थिए ।’ सुन आउने वेला उनीहरूलाई नै ड्युटीमा पार्नुले तस्करीमा भन्सारका उच्च अधिकारीहरूको समेत मिलेमतो हुन सक्ने अनुसन्धानमा आबद्ध प्रहरी अधिकारीको आशंका छ ।
सुन तस्करीका वेला कर्मचारी र भन्सारबीच भएको फेसबुक च्याटलाई समेत प्रहरीले अनुसन्धान प्रतिवेदनमा प्रमाणका रूपमा राखेको छ । ‘एक किलो सुनको ५० देखि ८० हजारसम्म भन्सारका कर्मचारी र प्रहरीलाई दिने गरेको देखिन्छ,’ डिआइजी सिलवालले भने, ‘हरेकपटक सामान पास भएको भोलिपल्ट कर्मचारीको खातामा उनीहरूले पैसा हाल्थे ।’ सेटिङमा तस्करी हुने सुन बरामद भए पनि आफूहरू नफस्ने गरी उनीहरूले गोप्य नम्बर र फेसबुकमार्फत मात्र कुरा गर्दै आएका थिए ।

एसएसपीको सेटिङ
‘एसएसपी सा’बले भनेको न्युरोडतिर सिभिल प्रहरी खटाइएको छ,’ एयरपोर्ट भन्सारका कर्मचारी राज ढकाल र सुन तस्करीमा संलग्न दिलबन्धु थापाबीचको फेसबुक च्याट हो यो । गत २० डिसेम्बरमा उनीहरूबीच कुराकानी भएको थियो । यसले सुन तस्करीमा प्रहरी र भन्सार कर्मचारीको कति मिलेमतो छ भन्ने प्रस्ट हुन्छ । उनले एसएसपी सा’ब भनेर श्याम खत्रीलाई भनेका हुन् । खत्री ३३ किलो सुन तस्करीको आरोपमा एक महिनादेखि सिआइबीको हिरासतमा छन् । त्यसबाहेक पक्राउ परेका अन्य कर्मचारीले पनि एसएसपी खत्रीले सहयोग गरेको बयान दिएका छन् । गोप्य नम्बरबाट भन्सार कर्मचारी, एसएसपी र तस्करहरूबीच पटक–पटक कुराकानी भएको सिआइबीले जनाएको छ ।

तस्करहरूसँग कुरा गर्न एसएसपी खत्रीले छुट्टै नम्बर लिएका थिए । जुन नम्बर २१ पुसदेखि स्विच अफ थियो । सोही दिन बेलुका उनले भन्सारका कर्मचारीलाई फोन गरी आफूहरूले कुरा गर्ने नम्बर र मोबाइल डिस्पोज गरेर फाल्न लगाएका थिए । सो विषय श्रीनारायण यादवले दिएको लिखित बयानमा उल्लेख छ । सोहीअनुसार उनीहरूले आइफोन फाइभसम्म ढुंगाले टुक्रा–टुक्रा बनाएर हनुमन्ते खोलामा फालेका थिए ।

मजदुरबाट करोडका मालिक

काभ्रे चलाल गणेशस्थान घर भएका हरिशरण खड्का चार वर्षअघिसम्म दुबईस्थित एक कम्पनीमा मजदुरी गर्दथे । त्यहीक्रममा दुबईमा सुन तस्करी गर्दै आएका रामकिसन अग्रवाल र चूडामणि उप्रेतीको समूहसँग उनको चिनजान भयो । उनीहरूसँग मिलेर खड्काले भरियाका रूपमा सुन ओसारपसार सुरु गरे । जब सुन तस्करीको सेटिङ बुझे र यसमा करोडौँ कमाइ देखे, त्यसपछि उनी आफैँ तस्करीमा लागेको प्रहरीको भनाइ छ ।

एयरपोर्ट भन्सारका कर्मचारीसँग अग्रवाल समूहको पहिलेदेखि नै सेटिङ थियो, त्यही सेटिङलाई प्रयोग गरी खड्काले तस्करी सुरु गरेका हुन् । तीन वर्षमै उनले करोडौँको सम्पत्ति जोडिसकेका छन् । उनी दुबईमा याक एन्ड यती नेपाली रेस्टुरेन्ट, याक एन्ड यती सुन पसल तथा बागमती ट्रेडिङलगायत कम्पनीका मालिक हुन् । उनले लाजिम्पाटमा पनि घर किनेका छन् । खड्काका पार्टनर रोशन भुसालको पनि करोडौँको सम्पत्ति भेटिएको प्रहरीले जनाएको छ । कुनै समय काठमाडौंमा ट्याक्सी चलाउने भुसालको नाममा एक दर्जन कम्पनी छन् । उनीसँग करोडौँंको सम्पत्ति भेटिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार