काठमाण्डौ, १० असार २०८३।
नेपाललाई खुला दिशामुक्त राष्ट्र घोषणा गरिएको करिब आठ वर्ष बितिसक्दा पनि धनुषाको शहिदनगर नगरपालिका–५ स्थित पचहर्वा मुसहर बस्तीका अधिकांश परिवार अझै खुला स्थानमा शौच गर्न बाध्य छन्।
एक सयभन्दा बढी घरधुरी रहेको बस्तीमा तीन घरमा मात्र शौचालय छ। बाँकी परिवारले खेतबारी, बाँसघारी र खोल्साको किनारामा दिशापिसाब गर्दै आएका छन्। उक्त वडा २०७५ सालमै खुला दिशामुक्त घोषणा गरिएको भए पनि दलित मुसहर बस्ती सरसफाइ सुविधाबाट वञ्चित छ।
स्थानीय उर्मिला सदाले घरमा शौचालय नहुँदा बिहान सबेरै वा रातिको समयमा खेततिर जानुपर्ने बाध्यता रहेको बताइन्। खुला स्थानमा शौच गर्दा लाज, असुरक्षा र खेतधनीको गालीसमेत सहनुपर्ने उनको गुनासो छ।
स्थानीयका अनुसार बस्तीमा करिब तीनसय ७० जनाको बसोबास छ। अधिकांश परिवार सुकुमवासी भएकाले शौचालय निर्माणका लागि पर्याप्त जग्गा र आर्थिक स्रोतको अभाव छ। महिलाहरू विशेष गरी राति र बिहान अँध्यारोमा शौच गर्न जान बाध्य हुने गरेका छन्।
खुला दिशा[इसाबका कारण झाडापखाला, आउँ, टाइफाइडलगायत रोगको जोखिम बढेको स्थानीय रामदयाल सदाले बताए। उनका अनुसार सरसफाइको अभावले बालबालिका र वृद्धवृद्धा बढी प्रभावित भएका छन्।
हरवाचरवा अधिकार मञ्चका केन्द्रीय सचिव रामदयाल सदाका अनुसार सहिदनगर नगरपालिकामा मात्रै एक हजारभन्दा बढी परिवार शौचालयविहीन छन्। धनुषाका अन्य स्थानीय तहका विपन्न बस्तीमा पनि यस्तै समस्या रहेको उनले बताए।
२०७५ सालमा नेपाललाई दक्षिण एसियाकै पहिलो खुला दिशामुक्त राष्ट्र घोषणा गरिए पनि पचहर्वा मुसहर बस्तीको अवस्था भने सरकारी घोषणाको प्रभावकारितामाथि प्रश्न उठाउने खालको रहेको स्थानीयको भनाइ छ।