पहिरोमा परी म्याग्दीमा मृत्यु हुनेको सङ्ख्या सात पुग्यो, दुई जना अझै बेपत्ता

पहिरोमा परी म्याग्दीमा मृत्यु हुनेको सङ्ख्या सात पुग्यो, दुई जना अझै बेपत्ता


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, १३ असोज २०८३
  • 532
    Shares

म्याग्दी, १३, असोज २०८३ ।

गएको तीन दिनदेखि परेको निरन्तर वर्षापछि आएको पहिरोका कारण म्याग्दीमा ज्यान गुमाउनेको सङ्ख्या सात पुगेको छ। विपद्मा परी दुई जना अझै बेपत्ता छन्।

पहिरोको उच्च जोखिममा रहेका अन्नपूर्ण गाउँपालिका–५ का पाउद्वार, गिवाङ, नेपाने, घिरवाङ, धोस्केखोर र किन्दुका १०६ जनालाई उद्धार गरिएको छ। नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएका उनीहरूलाई शिख र घारमा स्थापना गरिएका अस्थायी शिविरमा राखिएको छ।

सडक यातायात सम्पर्कविच्छेद भएपछि अस्थायी शिविरमा रहेका प्रभावितका लागि बेनीबाट हेलिकप्टरमार्फत खाद्यान्न, लत्ताकपडा तथा आवश्यक बन्दोबस्तीका सामग्री पठाइएको म्याग्दीका सहायक प्रमुख जिल्ला अधिकारी कुलप्रसाद आचार्यले जानकारी दिए।

पहिरोमा परी बेपत्ता भएकी बेनी नगरपालिका–३ छेपारेकी कुमारी वली विकको खोजी जारी रहेको छ। यस्तै, अन्नपूर्ण गाउँपालिका–५ का ७५ वर्षीय ओमबहादुर तिलिजाको शव सोमबार फेला परेको छ।

यसअघि अन्नपूर्ण गाउँपालिका–३ की शिलकुमारी पाइजा र योगमाया पाइजा, अन्नपूर्ण–८ का सविन गर्बुजा, मालिका गाउँपालिका–३ का चिरन पुन र देवबहादुर पुन तथा अन्नपूर्ण–५ की जेनी पुर्जाको शव फेला परेको थियो।

पहिरोका कारण जिल्लाभर करिब २०० घरपरिवार विस्थापित भएको प्रारम्भिक विवरण प्राप्त भएको प्रमुख जिल्ला अधिकारी गणेश गैरेले बताएका छन्।

यता, पहिरोका कारण अवरुद्ध बनेको बेनी–बागलुङ सडक आंशिक रूपमा सञ्चालनमा आएको छ। बेनी–दरबाङ सडकअन्तर्गत बेनी–तातोपानी खण्डमा एकतर्फी यातायात सञ्चालन गर्न मिल्ने गरी मर्मत गरिएको छ।

रघुगङ्गा र अन्नपूर्ण गाउँपालिका हुँदै मुस्ताङको कोरला नाका जोड्ने बेनी–जोमसोम–कोरला सडकअन्तर्गत बेनीदेखि गलेश्वरसम्मको सडक पनि सञ्चालनमा आएको छ।

जिल्ला सदरमुकाम बेनीमा सञ्चार तथा विद्युत् सेवा आंशिक रूपमा सञ्चालनमा आए पनि ग्रामीण क्षेत्रमा यी सेवा अझै अवरुद्ध छन्। सञ्चार तथा विद्युत् सेवा अवरुद्ध हुँदा विपद्बाट भएको क्षतिको विवरण सङ्कलनमा समेत समस्या भइरहेको प्रशासनले जनाएको छ।

क्षतिको विवरण सङ्कलनलाई प्रभावकारी बनाउन प्रत्येक स्थानीय तहबाट दुई–दुई जना जनशक्ति उपलब्ध गराउन माग गर्ने निर्णय सोमबार बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले गरेको छ।

यसैबीच, म्याग्दी, मुस्ताङ र बागलुङ राष्ट्रिय राजमार्गसँगको सम्पर्कबाट विच्छेद भएकाले इन्धन अभाव हुनसक्ने भन्दै प्रशासनले जिल्लाका पेट्रोल पम्पहरूमा मौजुदा पेट्रोलियम पदार्थको व्यवस्थापन गर्न निर्देशन दिएको छ।

प्रशासनका अनुसार मौजुदा इन्धन सुरक्षा निकाय, एम्बुलेन्स, अस्पताल तथा सडक अवरोध हटाउन प्रयोग हुने सवारीसाधनलाई प्राथमिकताका आधारमा उपलब्ध गराइनेछ। अन्य सवारीसाधनका लागि भने आवश्यकता र प्राथमिकताका आधारमा इन्धन उपलब्ध गराउने व्यवस्था मिलाइएको छ।

प्रतिक्रिया