काठमाण्डौमा खैरो हेरोइन मगाउने मुख्य व्यक्तिलाई गोली हानेर घाइते अवस्थामा पक्राउ

काठमाण्डौमा खैरो हेरोइन मगाउने मुख्य व्यक्तिलाई गोली हानेर घाइते अवस्थामा पक्राउ


  • जनसञ्चार डट कम संवाददाता
  • शनिबार, ६ असार २०८३
  • 1.5K
    Shares

प्रहरीको गोली लागेर घाइते भएका काठमाण्डौमा लागू औषध खैरो हेरोइन मगाउने मुख्य व्यक्ति पर्सा जिल्लाको पटेर्वा सुगौली गाउँपालिका–४ निवासी ३९ वर्षीय किशोर प्रसाद ओझैया

पोखरा , ६ असार २०८३।

काठमाण्डौमा लागू औषध खैरो हेरोइन मगाउने मुख्य व्यक्तिलाई प्रहरीले गोली हानेर घाइते अवस्थामा पक्राउ गरेको छ।

नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरो समेतको टोलीले आज ललितपुरको बालकुमारी क्षेत्रमा गोली हानेर घाइते बनाई काठमाण्डौमा लागू औषध खैरो हेरोइन मगाउने मुख्य व्यक्ति पर्सा जिल्लाको पटेर्वा सुगौली गाउँपालिका–४ निवासी ३९ वर्षीय किशोर प्रसाद ओझैयालाई पक्राउ गरेको हो। गोली लागेका ओझैयाको दाहिने खुट्टामा गोली लागेको र उपचारका लागि अस्पताल पठाइएको प्रहरीले बताएको छ। उनी यसअघि लागुऔषध मुद्दामा थुनामा परेर २०८२ पुस १७ मा रिहा भएका थिए र रिहाइपछि पुनः कारोबारमा संलग्न भएको प्रहरीको दाबी छ।

ललितपुर र काठमाडौँको सिमानामा पर्ने बालकुमारी पुल आसपास, ललितपुर र काठमाडौँ महानगरपालिका–३२ क्षेत्रमा पुलमुनि भएको उक्त कारबाही क्रममा प्रहरीले तीन राउन्ड गोली चलाएकोमा दुई राउन्ड हवाई फायर गरिएको लागुऔषध नियन्त्रण ब्युरोका एसएसपी सुवास बोहराले जानकारी दिए।

घटनास्थलबाट कैलालीका २५ वर्षीय अशोक भुल र सप्तरीको राजगढ गाउँपालिका–३ का १८ वर्षीय नीरज कुमार मण्डल पक्राउ परेका छन् र मण्डलको साथबाट ३०२ ग्राम खैरो हेरोइन बरामद भएको प्रहरीले जनाएको छ। प्रहरी देखेपछि भागेका अशोक भुललाई भने पछि काठमाडौँ महानगरपालिका–१० स्थित बुद्धनगरबाट पक्राउ गरिएको ब्युरोले जनाएको छ।

प्रतिक्रिया