बिप्लव माओवादी निकट युवा राष्ट्रिय जनस्वंसेवक यतिबेला राष्ट्रिय राजनीतिमा निकै चर्चाको शिखरमा छ । कुनैबेला योंग कम्युस्टि लिग (वाइसिएल) ले जस्तै कमाएको चर्चा अहिले युवा जनस्वंसेवकको हातमा छ ।
देशका भ्रष्ट, कमिशनखोर र माफियाहरुलाई तारो बनाएर जनस्वंसेवकका युवाहरु संघर्षमा गएपछि धेरैको सातोपुत्लो उडेको छ । यसै सेरोफेरोमा राष्ट्रिय युवा जनस्वंसेवकका केन्द्रीय अध्यक्ष झकबहादुर मल्ल सुदीपसँग एसियन समाचारले लिएको वार्ता प्रकाशित गरेका छौं ।
यहाँको संगठनले केमा व्यस्त छ अहिले ?
हामी हाम्रो पार्टी नेकपा (माओवादी)को घोषित नीति बमोजिम उपत्यकालगायत देशभरी भ्रष्टाचार, कमिशनखोर, दलाल र माफियाहरुको अन्त्य गर्ने अभियानमा क्रियाशिल छौं । जनताका अगाडि यो देश सदियौंदेखि लुटिरहेका लुटेराहरु पत्ता लगाउने र तिनीहरुलार्इ नाङ्गेझार पार्ने अभियान सञ्चालन गरिरहेका छौ ।
उपत्यकामा अलि बढी सक्रियता हो ?
अवश्य, उपत्यकामा देशैभरिका मानिसहरु रहने र यो मुलुकको केन्द्र पनि भएकाले हाम्रा गतिविधि पनि बढी यतै केन्द्रीत छन् । पछिल्लो समयमा बाग्मती नदी सरसफाइ, नयाँ बसपार्कको सरसफाइ र व्यवस्थापनसँगै फुटपाथहरुको उचित प्रयोगबारे राजधानीबासीलार्इ जनचेतना जगाउने र स्वम् युवाहरु अघि सरेर राजधानीको सरसफाइमा सहभागी भएका छौं । राजधानीलाई स्वच्छ र सफा राख्दा नेपालको पहिचान स्वच्छ र सफा हुन्छ भन्ने हाम्रो बुझाइ छ ।
तपार्इहरु बाग्मती सरसफाइका कुरा गर्नुहुन्छ । तर, मान्छेहरु सवैभन्दा बढी फोहोर सिंहदरबारभित्र थुप्रिएको छ भन्छन् नि ?
मैले तपाइले संकेत गर्न खोजेको कुरो बुझें, जुन निकै गम्भीर विषय हो । हो, त्यही फोहोर अन्त्यका लागि नै हो हाम्रो पार्टी र हाम्रो सङ्गठनले यसरी आन्दोलन गरिरहनु परेको । यस मुलुकलार्इ अनिर्णयको बन्दी बनाउने, अग्रगमन रोक्ने र विदेशी दलालहरुको नेपाललाई कृडास्थल बनाउने कुरामा त्यही फोहरकै महत्त्वपूर्ण हात छ । यसकारण ती दलाल, कमिसनखोर र विदेशी टट्टुहरुलार्इ तह लगाउने र सुशासन कायम गर्ने कुरामा हामी तल्लीन छौं । सामन्तवादका अवशेषहरु कहाँ–कहाँ लुकेर देश निचोरिरहेका छन्, त्यो पत्ता लगाउने र जनताका अगाडि फैसला गर्ने हाम्रो उद्देश्य हो ।
यतिबेला संघीयताको विषयलार्इ लिएर राजनैतिक दलहरु विभाजित छन्, यसलार्इ तपाइहरुले कसरी लिनु भएको छ ?
संसदवादी राजनैतिक पार्टीहरुले थालेको यो बेतुकको बहसलार्इ हामीले खासै चासो दिएका छैनौं । तर, यो देशको दीर्घकालीन विकास र परिवर्तनको पाटोमा भने हामी निकै चिन्तित छौं । केवल सत्ता र कुर्सीका लागि भइरहने यस्ता फोहोरी संसदीय खेलमा हाम्रो खास रुचि पनि छैन । त्यसैले हाम्रो सम्पूर्ण ध्यान मुलूकमा सामन्तवादको समुल अन्त्य कसरी गर्ने भन्नेमै बढी केन्द्रीत छ । त्यसका लागि हामी खासगरी युवाहरुमा विचार निर्माण र विस्तार गर्ने अभियानमा छौ । यहाँ एउटा संघीयता मात्रै होइन सबैखाले मानवीय उत्पीडनको अन्त्य हाम्रो यतिबेलाको मुख्य एजेन्डा हो ।
सिमांकनका सन्दर्भमा तपार्इको दृष्टिकोण त होला नि ?
यहाँ विडम्बना नै के भएको छ भने नेपालका केही राजनैतिक दल र नेताहरु सिमांकनका सन्दर्भमा आफैले शुरुमा उठान गरेको मान्यतामा समेत अडिग रहन सकेनन्। उनीहरुले सङ्घीयताको आगमनको पाटो के थियो ? भन्ने नै बिर्सेका छन् । र, विदेशको इशारामा सिमांकन मात्रै हो र, देश नै सामन्तवादलाई बुझाउने भए कि कतै भन्ने हाम्रो चिन्ता हो । त्यसैले, संघीयता सुरुमा हामीले उत्पीडनमा परेका वर्ग, समुदाय, जातजाती, एवं क्षेत्रहरुको अग्रगती र प्रगतिलाई आधार बनाएर प्रदेशहरु निर्माण गरिनुपर्छ भनेका थियौ । आज पनि हाम्रो मान्यता त्यही हो ।
यतिबेला नेपालको राष्ट्रियता निकै खतरामा परेको भनिन्छ, यतातिर तपार्इहरुको क्रियाशिलता देखिदैन नि ।
यो सत्य होइन, हाम्रो पार्टीको सबैभन्दा ठूलो चिन्ता केही हो भने नेपालको राष्ट्रियता हो । देश जोगिन्छ कि जोगिदैन भन्ने अहिलेको मूल प्रश्न हो । हाम्रो चिन्ता दिनदहाडै विदेशी दूतावास पुगेर कुर्सीको भिख माग्ने व्यक्तिवादी र स्वार्थीहरुबाट मुलुक बचाउने र स्वाधिनताको पक्षमा खरो पैरवी गर्ने हो, हामी अहिले त्यही गरिरहेका छौं । मुलुकमा समाजवादको बाटोमा लामवद्द हुने युवाहरुको जमात तयार गर्दै जनता जागरुक बनाउने अभियानमा हाम्रो सङ्गठन रातदिन नभनी क्रीयाशिल छ । वैज्ञानिक समाजवादले मात्रै विद्यमान संकट र अस्वस्थ शासन प्रणालीको स्थान लिन्छ । नेपालको हकमा संसदीय व्यवस्थाले राष्ट्रियता र जनतन्त्र वा प्रजातन्त्र दुवै वचाउन सक्दैन ।
सारमा केही भन्न चाहनुहुन्छ ? माथिका प्रश्नभन्दा पृथक तपाईले वोल्नै पर्ने विषय ?
हेर्नुहोस, अब मुलूक युवाहरूले जोगाउनुपर्ने बेला आएको छ । नेपाललार्इ युद्धमा धकेलेर रणमैदान बनाउने र यसलार्इ विदेशीको परेड खेल्ने ठाउँ बनाउने साम्राज्यवादीहरुको सपना चकनाचुर बनाउनुपर्ने चुनौती हाम्रो सामु छ । हामीले अन्ततः वैज्ञानिक समाजवादकै बाटोमा जाने हो र त्यसका लागि माओवादी विचारधारामा आम युवाहरु गोलबन्द हुनुको विकल्प छैन ।
तपार्इले भनेजस्तो गर्ने युवाहरु बाँकी छन र अब नेपालमा ?
त्यही त, यसको मूल कारण संसदवादी राजनैतिक दलहरुले गर्ने सत्ता र कुर्सीको खिचातानी हो । विदेशीको नाङ्गो हस्तक्षेप हो । सरकारमा बसिरहनेहरुले रोजगारीमा र विकासमा ध्यान नदिने भएपछि युवाहरु विदेशिनु स्वभाविक छ । तर, अब त्यो रोक्न जरुरी छ ।