साझा यातायात सहकारी लिमिटेडका अध्यक्ष तथा पत्रकार कनकमणि दीक्षितलाई आज सर्वोच्च अदालतले रिहा गर्न आदेश दिएको छ । पक्राउ गर्नुको कारण स्पष्ट नखुलेको भन्दै अदालतले सो निर्णय गरेको हो । कायममुकायम प्रधानन्यायाधीस सुशिला कार्की र न्यायाधीस जगदीश पौडेलको संयुक्त इजलासले दिक्षितलाई साधारण तारेखमा लिएर अनुसन्धान अगाडि बढाउन अख्तियार दुरुपयो अनुसन्धान आयोगलाई निर्देशन दिएको छ ।
आयोगले हिरासतमा राखेका पत्रकार दीक्षितको स्वास्थ्यमा समस्या आएपछि वीर अस्पतालमा उपचार हुँदैआएको थियो । आज अदालतको आदेशअनुसार सर्वोच्चमा उपस्थित गराइएको थियो । यही वैशाख १५ गते कानुनी प्रक्रिया नपु¥याई हिरासतमा राखेको भन्दै उनकी पत्नी शान्ता दीक्षितले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दायर गरेकी थिइन् ।
यसअघि यही वैशाख १२ गते विशेष अदालतले साझा यातायातका अध्यक्ष दीक्षितलाई अनुसन्धानका लागि १० दिन थुनामा राख्न अनुमति दिएको थियो । इजलाशले यसअघि विशेष अदालतले दिएको आदेश खारेज गरेको छ। अकूत सम्पत्ति जोडेको अभियोगमा अख्तियारले यही वैशाख १० गते दीक्षितलाई पक्राउ गरेको थियो ।