गणतन्त्र दिवसको अवसर पारेर यही जेठ १५ गतेदेखि पोखराको रत्न मन्दिर सर्वसाधारणका लागि खुला गरिँदै छ।
राजसंस्थाको अन्त्यपछि २०६४ सालमा नेपाल ट्रस्टको स्वामित्वमा आएसँगै उक्त दरबार हालसम्म बन्द थियो। नवौँ शाहवंशीय राजा महेन्द्रले आफ्नी कान्छी रानी रत्नको नाममा ‘रत्नमन्दिर’ बनाएका थिए । शाहवंशीय राजाको इतिहाससँग गाँसिएको उक्त मन्दिर सर्वसाधारणका लागि खुला गर्नुपर्ने स्थानीयले माग गर्दै आएका थिए।
नेपाल ट्रस्टका सञ्चालक सदस्य योङजोम शेर्पाले पहिलोपटक यही जेठ १५ गतेदेखि सर्वसाधारण र पर्यटकका लागि दरबार खुला गर्न लागिएको जानकारी दिए।
‘देशविदेशका पर्यटकलाई लक्ष्य गरी दरबार परिसर खुला गर्दैछौं,’ उनले भने, ‘रत्न मन्दिर खोल्ने वषौंदेखिको प्रयासले सार्थकता पाएको छ।’
दरबारको संवेदनशीलता र प्राविधिक कठिनाइका कारण दरबारको सबै भाग भने खुला नहुने सञ्चालक सदस्य शेर्पाले बताए।
‘अहिलेलाई दरबार परिसर खुला हुनु नै ठूलो कुरा हो, तत्काललाई दरबारका सबै कक्ष र कोठासम्म पर्यटक लैजान मिल्ने अवस्था छैन,’ उनले भने।
दरबारका कोठा, भर्याङदेखि भित्री संरचना साँघुरा छन्। एकैपटक सबै खोल्दा दरबारमा रहेका ऐतिहासिक सामग्रीको सुरक्षादेखि आन्तरिक व्यवस्थापनमा चुनौती छ।
पोखरा महानगरपालिका–६ फेवाताल किनारमा रत्न मन्दिर अवस्थित छ। गौरीघाट कटेपछि बाराहीघाट नपुग्दै बीचमा रत्न मन्दिर आइपुग्छ। रत्न मन्दिर विसं २०१३ मा निर्माण आरम्भ भएर विसं २०१५ निर्माण सम्पन्न भएको थियो।
पोखरा आउँदा ठाउँ मन परेपछि पूर्वराजा महेन्द्रले सो दरबार बनाएका थिए। राजा महेन्द्रले रानी रत्नलाई दिएको उपहारका रूपमा समेत रत्न मन्दिरलाई लिने गरिन्छ। प्राकृतिक सौन्दर्यका दृष्टिले पनि रत्न मन्दिर र वरपरको वातावरण मनमोहक छ। तीनतले दरबारमा ११ कोठा छन्। भूइँ तलामा अतिथिकक्ष, भोजनालय, राजाका सुरक्षा अधिकृत (एडिसी) बस्ने कोठा र आरामकक्ष छन्।
दोस्रो तलामा पाँच कोठा छन्। कोठाबाहिरको मुख्य हलमा बैठककक्ष छ। जसमा राजपरिवारका सदस्यमात्र बैठक बस्ने गर्थे। राजपरिवारले क्यारेमबोर्ड, चेस, तास आदि खेल्ने कोठा पनि सोही तलामा छ। त्यो बेलाका खेल सामग्री सुरक्षित छन्। दोस्रो तलामा युवराजको शयनकक्षसहित तीन पाहुना कोठा छन्। राजपरिवारका निकटस्थ नातेदार र आफन्तका लागि ती कोठा प्रयोग गरिन्थ्यो।
सबैभन्दा माथिल्लो तलामा राजारानीको शयनकक्ष र पूजा कोठा छ। बाहिरपट्टि आरामकक्ष र दृश्यावलोकनका लागि कौशी छ। हरेक कोठामा रहेका पलङ, खाट, कुर्ची, टेबललगायत फर्निचरका सामग्री बेतबाट बनेका छन्। मुख्य कोठामा सजावट र उपहारका सामग्री राखिएका छन्। राजपरिवारका सदस्यले प्रयोग गर्ने भान्छादेखि शृङ्गारसम्मका सामग्री सुरक्षित राखिएका छन्।
भित्तामा पूर्वराजा तथा पूर्वयुवराजका तस्बिर सजाइएका छन्। नेपाली कला झल्काउने हस्तकलाका सामग्री र आकर्षक ‘पेन्टिङ’हरु दरबारभित्र छन्। दरबारमा प्रयोग हुने टेलिभिजन, रेडियो, टेलिफोन सेटलगायत सञ्चार र सूचना प्रविधिका सामग्री सङ्ग्रहित छन्।
काठ र ढुङ्गाबाट दरबार बनेको छ। निर्माणमा रैथाने सीप र प्रविधि प्रयोग भएको देखिन्छ। दरबारको पछाडिपट्टि भान्छा, कर्मचारी र सुसारेका लागि बनाइएका स-साना कोठा छन्। सुरक्षाका लागि नेपाली सेनाको छुट्टै भवन छ। अहिले रणचण्डी गणले रत्न मन्दिरमा सुरक्षा पहरा दिइरहेको छ।
२३ वर्षदेखि रत्न मन्दिरको रेखदेखमा खटिँदै आएकी कार्यालय सहयोगी दुर्गा पराजुलीले राजपरिवारले प्रयोग गर्ने गरेका सबै सामग्री सुरक्षित राखिएको बताइन्।
‘विस्तारा, भाँडाकुँडादेखि सबै सरसामान जोगाएर राखेका छौं,’ उनले भनिन्,‘राजपरिवारले प्रयोग गर्ने सियोदेखि महँगा उपहारसम्म दरबारभित्र छन्।’
नेपालमा दुई सय ४० वर्षसम्म शासन गरेको शाहवंशसँग जोडिएको रत्न मन्दिर खुला गर्न यसअघि पनि प्रयास भएका थिए। गत चैत २६ मा रत्न मन्दिरको अवलोकनपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले छिट्टै रत्नमन्दिरलाई सर्वसाधारणका लागि खुला गरिने बताएका थिए। गण्डकी प्रदेशका मुख्यमन्त्री, पोखरा महानगरका प्रमुखलगायत राजनीतिक नेतृत्वले पनि रत्न मन्दिर खुला गर्न पहल गर्दै आएका थिए।
पोखरा महानगरका प्रमुख धनराज आचार्यले लामो प्रयासपछि रत्न मन्दिर खुला हुन लागेको बताइ। मन्दिर खुलेसँगै पोखराको पर्यटनमा थप टेवा पुग्ने उनले उल्लेख गरे। पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले रत्न मन्दिरले पोखरा आउने पर्यटकको बसाइँ लम्बाउन मद्दत पुग्ने बताए।
‘रत्न मन्दिर खोल्नुपर्छ भन्ने हामी पोखरेलीको पहिले देखिकै माग हो। रत्न मन्दिर खुला गर्न अहिलेको पर्यटनमन्त्रीसहित नेपाल ट्रस्टको नेतृत्वले लिएको पहलप्रति हामी कृतज्ञ छौं, यसले पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण टेवा पुर्याउँछ,’ उनले भने।
इतिहासको बोकेको रत्न मन्दिरलाई पर्यटकीय गन्तव्यस्थलका रूपमा विकास गर्नुपर्ने माग पोखराका पर्यटन व्यवसायीले गर्दै आएका थिए। पोखरा घुम्न आउने पर्यटकलाई रत्न मन्दिरले नयाँ आकर्षण थप्ने पर्यटन व्यवसायीको विश्वास छ। यसअघि नेपाल ट्रस्टले रत्न मन्दिर र हिमागृहलाई व्यावसायिक प्रयोजनका लागि निजी क्षेत्रलाई दिने तयारी गरे पनि पर्यटन व्यवसायीले विरोध जनाएका थिए। अहिले ट्रस्टको व्यवस्थापनमा रत्न मन्दिर खुला गर्न लागिएको हो। मन्दिरको पूर्वपट्टी रहेको हिमागृह भने तत्काल नखुल्ने ट्रस्टको पोखरास्थित एकाइ कार्यालयले जनाएको छ।
पूर्वराजा महेन्द्रका माहिला भाइ हिमालय वीरविक्रम शाहका नामबाट हिमागृह बनेको थियो। रत्न मन्दिर २१ रोपनी र हिमागृह १० रोपनी क्षेत्रफलमा फैलिएको छ। दुवै दरबारसहित रत्न मन्दिरका नाममा कुल एक सय ७४ रोपनी जग्गा छ। रत्न मन्दिर र हिमागृहको स्वामित्व अहिले नेपाल ट्रस्टका नाममा छ।