एमाओवादी काठमाडौं उपाध्यक्षबाट चन्द्रबहादुर थापा ‘सागर’ले राजीनामा दिएका छन् । रोजगारी र समृद्धिका लागि आर्थिक क्रान्तिको अभियानको नेतृत्व गर्दै आएका थापाले बेरोजगार वर्गको मुक्ति नभएसम्म दलीय जिम्मेवारी पनि नलिने घोषणा गरेका छन् । ‘जबसम्म बेरोजगार वर्गको मुक्ति हुने छैन तबसम्म दलको पदीय जिम्मेवारी नलिने, कुनै पनि चुनावी प्रतिस्पर्धामा सहभागी नहुने र दलीय राजनीतिक लाभको पदसमेत नलिने घोषणा गर्दछु,’ थापाले जारी गरेको विज्ञप्तीमा भनिएको छ ।
रोजगारी र समृद्धिका लागि आर्थिक क्रान्तिको अभियान स्वतन्त्र नागरिकको हैसियतमा गर्ने उनले बताए ।
यसैबीच थापासहित १२ जना युवाहरुले बुधबारदेखि नै सामूहिक आमरण अनसन सुरु गरेका छन् ।
केही युवाहरुले स्वदेशमै रोजगारीको वातावरणको माग गर्दै आमरन अनसन थालेका छन् । अनसन बसेकाहरु प्राय: स्नातक सकेका युवाहरु गरेका छन् ।
रोजगारी र समृद्धिका लागि आर्थिक क्रान्तिको अभियानको तर्फबाट उनीहरु अनसनमा बसेका हुन् ।
उनीहरुले योग्यता, सीप र दक्षता अनुसारको रोजगारीको ग्यारेन्टी, रोजगार दिन नसके स्वरोजगारका लागि प्रमाणपत्र धितोमा राखेर ऋण दिनपर्ने, वेराजगार भत्ताको व्यवस्था गर्नपर्ने लगायतका माग राखेका छन् ।
अनसनमा एमाओवादीका नेता चन्द्रबहादुर थापा(सागर)ले पनि साथ दिएका छन् । उनले पार्टीको काठमाडौं जिल्ला उपाध्यक्षबाट राजिनामा दिएर अनसनमा बसेका छन् । उनीसँगै अनुषा राई, जिविता आचार्य, लक्ष्मी स्याङताङ तामाङ, मञ्जु गौतम, अजित झा, दावा शेर्पा, निरज पुन, भरत लामिछाने, महेश नेपाल, रियाज पौडेल र ज्ञानदेवी विष्ट अनसनमा बसेका छन् ।