नाम एउटै, विचार पनि एउटै, संगठन पनि एउटै, तर व्यक्ति र नियतिचाहिँ भिन्नाभिन्नै । माओवादीको अगुवाइमा भएका जनयुद्धमा लागेका दुई आफन्तको एउटै नाम हो, अर्जुन महर्जन । एक मेरी फुपूको तर्फबाट बहिनी–ज्वाइँ, अर्काचाहिँ मेरी श्रीमतीको तर्फबाट मामा–चेला । बहिनी–ज्वाइँ अर्जुनको लास र सास भेटिएन । बेपत्ताको सूचीमा मात्रै छ, उनको नाम । अर्का अर्जुन बेपत्ता अवस्थाबाट बचेर आउन सफल भए, तर क्यान्सर र समाजसँग अझै युद्धरत छन् । बेपत्ता माओवादीकी पत्नीको पहिचान दिइएकी मेरी बहिनी जनयुद्धपछि पनि नफेरिएको आफ्नै जीवन–जगतसँग संघर्षरत छिन् ।
दस वर्षअघि विस्तृत शान्ति सम्झौतामा सही धस्काउने तत्कालीन सत्तासीन, विद्रोही एवं किनाराका साक्षी दल र नेताहरूलाई लाग्न सक्छ, अब त युद्धको के कुरा, शान्ति प्रक्रियासमेत समाप्त भइसक्यो । तत्कालीन विद्रोही माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयम्लाई पनि सरकारको अगुवाइ गरिरहेको बेला अनुभूत भएको रहेछ, जनयुद्धका कारण भएको क्रान्ति दस वर्षअघि नै समाप्त भइसक्यो, अब त क्रान्तिका बाँकी कार्यभार मात्रै पुरा गर्नुछ । पूर्व माओवादी प्रधानमन्त्री बाबुराम भट्टराईका लागि त शान्ति सम्झौताको क्रियान्वयन र नयाँ संविधान निर्माणसँगै राजनीतिक क्रान्ति नै समाप्त भइसक्यो, अब आर्थिक विकास र समृद्धिको क्रान्तिमात्रै गर्न जरुरी छ । तर अर्जुन र अर्जुनका आफन्तजनका लागि न राजनीतिक क्रान्ति समाप्त भइसकेको छ, नत सामाजिक शान्ति नै कायम भइसकेको छ । अशान्त दैनिक वातावरणबीच अहिले पनि उनीहरू ‘गृहयुद्ध’ र ‘अर्थयुद्ध’मै झोसिएका छन्, जसले उनीहरूलाई विस्तारै मार्दैछ, जसले बेपत्ता पार्दैछ, जसले उनीहरूका सपनाको अपहरण गर्दैछ । यस्तो बेला उनीहरूलाई नै लक्षित गर्दै काठमाडौंको खुलामञ्चदेखि रोल्पाको थबाङबाट नेत्रविक्रम चन्द ‘विप्लव’ले बिगुल फुक्दैछन् । दुई दशक अघिजस्तै राइफल र जीपीएमजी बोक्न तयार हुनुपर्ने आह्वान हुँदैछ, ‘एकीकृत जनक्रान्ति’को नयाँ आकर्षक नारा घन्काउँदै ।
सैन्यीकरणको विकल्प खोइ ?
विभिन्न समूहमा विभाजित माओवादीका लागि फागुन १ गते ‘जनयुद्ध दिवस’का नाममा गरिने राजनीतिक श्राद्धको दिन हो भने माओवादी जनयुद्धलाई ‘धनयुद्ध’को संज्ञा दिनेहरूका लागि ‘कालो दिवस ।’ आ–आफ्ना वर्ग, वर्ण, लिंग, क्षेत्र, धर्म र समुदायका हित, स्वार्थ र दृष्टिअनुसार कुनै पनि दिवसको परिभाषामा भिन्नता हुनु अनौठो भएन । तर युद्ध होस् या शान्ति, जेसुकैको पनि उद्यम र व्यापार गर्न सक्नेहरूका लागि समाजमा विद्यमान संरचनागत हिंसा तथा त्यसले जन्माएको प्रतिरोधबीच कुनै भिन्नता हुँदैन । अहिले पनि प्रत्यक्ष र परोक्ष रूपमा जारी हिंसाको सघन छाया र त्यसको प्रतिरोधका झिल्का समाजमा देखिन्छन्, जसले धेरैजसो अर्जुनहरूको सिकार गरिरहेका छन् । जनयुद्ध र जनआन्दोलनका उपलब्धिको रक्षा गर्दै लोकतान्त्रिक गणतन्त्रलाई राजनीतिक लोकतन्त्रसँगै आर्थिक र सांस्कृतिक लोकतन्त्रको रूपमा विकास र समृद्ध गर्न सकिएन भने समाजमा जारी हिंसा र प्रतिरोधले जंगली आगोको रूप लिन सक्छन् । त्यसैको एउटा झिल्को हुनसक्छ, नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले आठौं महाधिवेशनको नाममा काठमाडौंमा गरेको शक्ति प्रदर्शन ।
‘एकीकृत जनक्रान्ति’रूपी झिल्कोले फेरि पनि के सिद्ध गर्न सक्छ भने प्रश्न, तर्क, तथ्य र विवेकबिना भावनामा बल्न र उत्तेजनामा बालिन तयार हुने समाजमा आगोको कुनै समस्या हुँदैन । त्यस्तो समाजमा आगो र आगो लगाउने दुवैको भाउ सधैं बढी हुन्छ नै, त्यस्तो आगोमा बल्ने र बालिने काठपातको पनि कुनै अभाव हुँदैन । मेक्सिकोको जापातिस्ता आन्दोलनसँग जोडिएका आइरिस समाजशास्त्री एवं चिन्तक जोन होलोवेका अनुसार संसारमा सय वर्षदेखि युवाहरूको उत्साह पार्टीलाई मजबुत बनाउने र बन्दुक चलाउनमै खर्च भएको इतिहास छ । एक शताब्दीदेखि नै मानवता अनुकूल समाज रचना गर्न चाहनेहरूको सपना नोकरशाहीकरण र सैन्यीकरणको सिकार भइरहेको वर्तमान छ । सबैजसो पार्टी, आन्दोलन र नेता–कार्यकर्ताका सपना नोकरशाहीकरण र सैन्यीकरण भएको तथा उनीहरूका ऊर्जा पनि पार्टी र बन्दुक चलाउनमै खर्चिएको आफ्नै महँगो इतिहासबाट गम्भीर पाठ सिक्ने कि नसिक्ने, ‘विप्लव’ वा अरू क्रान्तिकारी र माओवादी भनिएका नेताबाट यी प्रश्न अनुत्तरित छन् ।
पुरातन शासनमै समाहित हुने दुश्चक्र
नेपाल लगायत विश्वका सबैजसो क्रान्ति अधुरो रहेका छन्, अनि क्रान्तिकारी आन्दोलन, दल र तिनका नेताहरू ‘आँशिया रेजिम’ (पुरातन शासन) मै समाहित भएका छन्, थोरबहुत कस्मेटिक सुधार र परिवर्तनका साथ । यसरी दल र नेतृत्व ‘को–अप्ट’ हुने पुरातन प्रक्रियाबाट कांग्रेस वा एमाले वा माओवादी र तिनका नेताहरू बच्नसकेका छैनन् । दह्रो राजनीतिक–सांस्कृतिक आन्दोलनको निरन्तरता बिना यस्तो सिसिफसको जस्तो नियतिबाट बच्न कठिन पनि छ । विभेद र हिंसामा आधारित समाज र राज्यको स्थायी सत्ताले यसरी निल्ने प्रक्रियालाई डा. देवेन्द्रराज पाण्डे मेटाफर (उपमा) प्रयोग गर्दै ‘काठमाडौंको पानीको दुष्प्रभाव’ भन्ने गर्छन् । स्थायी सत्ताले सुनको किस्तीमा सजाएर उपलब्ध गराउने अभिजात वर्गीय सुख, सुविधा र संस्कृतिमा रमाउने प्रवृत्तिबाट प्रचण्डबाट मुक्त नभएको भन्दै मोहन वैद्य ‘किरण’देखि नेत्रविक्रम चन्द ‘विप्लव’समेत जसरी कुर्लिए, त्यसरी त कुनै जमानामा प्रचण्ड वा लालध्वज (बाबुराम) पनि उफ्रिएकै थिए । त्यसरी कुर्लिनेहरूको आवाज भने अभिजात वर्गीय सत्ता, सुख, सुविधा र संस्कृतिमा रमाउन थालेपछि मत्थर भएको विगत–वर्तमान छ भने विप्लवी–भविष्य मात्रै त्यसबाट कसरी मुक्त होला, उत्तर पाइएको छैन ।
‘हामी डलर र भारुबाट संक्रमित हुँदैनौं’ भनी घोषणा गर्न र ताली पाउन जति सजिलो छ, त्यति सजिलो छैन, संक्रमित नहुने वैकल्पिक संरचना, प्रक्रिया र संस्कृति बनाउन । वैकल्पिक सोचाइ र सपना बुन्ने चिन्तन एवं चेष्टा कतै नदेखिएको अवस्थामा ‘बालुवाटार, लैनचौर वा भट्टी पसलबाट हाम्रै साथीहरू संक्रमित भएको’ आरोपले पनि कुनै प्रकाश दिँदैन । खड्गप्रसाद शर्मा ओलीदेखि पुष्पकमल दाहाल ‘प्रचण्ड’सम्म हिजोका सबैजसो क्रान्तिकारी आन्दोलन, दल र नेता ‘आँशिया रेजिम’मै समाहित गरिने तथा त्यस्तो स्थायी सत्ताले पचाउन सक्ने हदसम्मका राजनीतिक सुधार/परिवर्तन/नेतृत्व मात्रै स्वीकारिने जटिल समस्याबारे न प्रचण्डमा चिन्ता देखिन्छ, नत विप्लवमा चासो देखिन्छ ।
ओली वा प्रचण्ड नहुने प्रक्रिया
यतिखेर सबै विप्लवी वा विप्लवप्रेमी सामु उठेको यक्षप्रश्न हो : २०२८ सालमा राजा महेन्द्रको शासनविरुद्ध नयाँ जनवादी क्रान्ति र वर्गसंघर्ष गर्ने नाममा टाउको काट्दै हिँडेका खड्गप्रसाद शर्मा ओली आज महेन्द्रीय राष्ट्रवादका नाइकेमा जसरी फेरिए, त्यसरी नै चन्द पनि ओलीको नयाँ अवतारमा नफेरिने कुनै जडिबुटी छ ? अब प्रचण्डपथीय स्कुलबाट दीक्षित विप्लव ‘एकीकृत जनक्रान्ति’रूपी सुरुङबाट छिरेर दुई–तीन वर्षको भूमिगत संघर्षपछि काठमाडौंमा सार्वजनिक हुँदा प्रचण्ड वा ओलीकै क्लोनमा नफेरिएको वा संक्रमित नभएको वा साँच्चैको विप्लवी भेट्टिने सुनिश्चितता कतै छ ? आजको आधा दशकसम्म पनि उनी वा उनीजस्ता नेताहरू नलोभिएको वा नकिनिएको वा डलर–भारुबाट संक्रमित नभएको विप्लव बनिरहने संरचना के हो ? रूपचन्द विष्टको भाषामा अवसर नपाएर मात्रै इमानदार भइरहने संस्कार हावी रहेको सांस्कृतिक परम्पराबीच विप्लवले नेत्रविक्रम चन्दको पुरानै अवतार नलिने रूपान्तरणकारी प्रक्रिया के होला ? अहिलेभन्दा भिन्न ढंगले रूपान्तरणकारी राजनीति गर्ने हो भने यी आलोचनात्मक प्रश्न, चिन्ता र चिन्तनका सवाल हुन् । त्यस्तै अब सबैजसो नेता–कार्यकर्ताका मनमस्तिष्कमा हुने एकसाथ उत्पीडक र उत्पीडितको बासबारे आलोचनात्मक मन्थन गर्दै उत्पीडितहरूका जीवन र संघर्षसँग घनिष्ठ रूपमा जोडिने एवं आफूलाई फेर्दै जाने मामिलामा पनि व्यापक विमर्श हुनु जरुरी छ, विशेषत: आफूलाई महान सांस्कृतिक क्रान्तिका हकवाला ठान्नेहरूबीच त अझ बेसी छ ।
विडम्बनाको कुरा, फागुन १ मा खुलामञ्चमा दिइएको भाषण सुन्दा अनुभूत भएको छ, अब कुनै दिन विभिन्न पहिचानका जनताको उत्पीडनबारे कुनै संवदेनशीलता नदेखाएका ‘विप्लव’ले पनि शेखर कोइरालाको भाषामा धर्मनिरपेक्षता, चित्रबहादुर केसीको भाकामा संघीयता, ओलीको चुटकिला शैलीमा समावेशी समानुपातिकता जस्ता जनयुद्ध र जनआन्दोलनका उपलब्धिको ठाडो विरोध गरेमा कुनै अनौठो हुने छैन । अपरिभाषित राखिएको ‘एकीकृत जनक्रान्ति’को नाममा एकाध वर्षको क्रियाशीलतासँगै केही शक्ति–संगठन–प्रभाव विस्तार भएपछि उनले संसदीय व्यवस्थाको विरोधको झण्डा उचाल्ने नाममा लोकतान्त्रिक गणतन्त्रकै विरोधमा पाइला चालेमा पनि छक्क हुने अवस्थासमेत रहँदैन । त्यसै क्रममा एकीकृत माक्र्सवादी— लेनिनवादीका नेता ओलीदेखि संघीयताका विरोधी वामनेताद्वय चित्रबहादुर केसी/मोहनविक्रम सिंहसम्म, दक्षिणपन्थी विचारका पक्षपाती कमल थापादेखि सत्ताच्युत राजा ज्ञानेन्द्रसँग हातेमालो गर्न पुग्ने सम्भावनालाई पनि नकार्न सकिँदैन, राष्ट्रवादको झण्डा र खुकुरी बोक्ने नाममा ।
चुनावी राजनीतिमा आकर्षक राष्ट्रवादी नाराका आधारमा दक्षिणपन्थी शक्ति र व्यक्तिहरूबीच नयाँ गठबन्धन एवं सत्ताको अंकगणित तयार हुने स्थितिमा सडक वा जंगलको विप्लवी शक्ति पनि कुनै न कुनै रूपमा त्यसमा समाहित हुन सक्छन् । त्यसमा भारतीय चलखेलबाट सतर्क बनेको हिमालपारिको छिमेकीले खेल्ने सुपरग्लुको भूमिकाले आकार लिने सम्भावना पनि छँदैछ । यस्तो अवस्थामा नेत्रविक्रम चन्द ‘विप्लव’ वा विप्लवी माओवादी वा त्यसबाट सुधारिएको ‘नेकपा’को भविष्य ‘उज्ज्वल’ देखिन्छ । त्यस्तो ‘उज्ज्वल’ भविष्य र वर्तमानमा गरिने ‘एकीकृत जनक्रान्ति’को केन्द्रमा गरिखाने उत्पीडित जनता र तिनका लागि चाहिने समग्र रूपान्तरण कसरी हुन सक्छन्, आठौं महाधिवेशनमा जुटिरहेका सबै विप्लवीका लागि विचारणीय प्रश्न हो ।