पोखरा ३ भदौ २०८३ ।
हिमाली जिल्ला मनाङमा निर्माण सम्झौता भएको एक दशक बितिसक्दा पनि मोटरेबल पुल निर्माण सम्पन्न हुन सकेको छैन। मनाङ ङिस्याङ गाउँपालिका–३ ङावल र वडा नम्बर ४ हुम्डे जोड्ने गरी मर्स्याङ्दी नदीमाथि निर्माणाधीन पुल लामो समयदेखि अलपत्र हुँदा स्थानीयवासी जोखिम मोलेर आवतजावत गर्न बाध्य छन्।
पूर्वाधार कार्यालयका अनुसार पुल निर्माणका लागि ठेकेदार कम्पनीले सम्झौता रकमको करिब ७० प्रतिशत भुक्तानी लिइसकेको छ। तर, निर्माणको गति भने निकै सुस्त रहेको कार्यालयले जनाएको छ।
कार्यालय प्रमुख हरि थापाका अनुसार निर्माण कम्पनीलाई आवश्यक रकम भुक्तानी गरिए पनि अपेक्षाअनुसार काम अघि बढ्न सकेको छैन। पटक–पटक निर्माण म्याद थपिँदै आए पनि पुल अझै सम्पन्न हुन नसकेको उनले बताए।
“भुक्तानी भइसकेको छ, तर पुलको बिम उठाउनेबाहेक अरू काम भएको देखिँदैन,” थापाले भने।
करिब चार करोड रुपैयाँ लागतमा निर्माण हुने गरी सम्झौता गरिएको उक्त पुल विसं २०७३ असार मसान्तसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको थियो। मर्स्याङ्दी नदी पार गरी माथिल्लो मनाङ पुग्ने मुख्य सडकमा पर्ने भएकाले यो पुल स्थानीयवासीका साथै पर्यटकका लागि पनि महत्वपूर्ण मानिन्छ।
वडा नम्बर ३ का वडाध्यक्ष कृष्णबहादुर लामाले पुल निर्माणमा ठेकेदार कम्पनीसँगै सम्बन्धित कार्यालयले समेत पर्याप्त चासो नदिएको आरोप लगाए। पुल नबन्दा गाउँपालिका कार्यालयसम्म पुग्न स्थानीयवासीले लामो समय खर्च गर्नुपरेको उनको भनाइ छ।
स्थानीय मुखिया लामाका अनुसार पुल निर्माण सम्पन्न भए गाउँपालिका कार्यालय पुग्न चार–पाँच मिनेट मात्र लाग्ने भए पनि अहिले पुलको अभावमा निकै लामो बाटो घुमेर जानुपर्ने अवस्था छ।
“पुल बनेपछि चार–पाँच मिनेटमै गाउँपालिका पुग्न सकिन्छ। अहिले पुल नहुँदा घरबाट गाउँपालिका पुग्न धेरै समय खर्चिनुपरेको छ,” उनले भने।
स्थानीयवासीले लामो समयदेखि काम अघि नबढाउने ठेकेदार कम्पनीसँगको सम्झौता तोडेर नयाँ कम्पनीमार्फत पुल निर्माण सम्पन्न गर्न माग गर्दै आएका छन्। पुल निर्माणमा भएको ढिलाइका कारण अन्य विकास निर्माणका कामसमेत प्रभावित भएको उनीहरूको भनाइ छ।
जिल्ला अनुगमनका क्रममा मनाङका सांसद एवं पूर्वमन्त्री टेकबहादुर गुरुङले ठेकेदार कम्पनीलाई तत्काल निर्माण अघि बढाउन निर्देशन दिएका छन्। उनले पुल निर्माण सम्पन्न भएपछि मात्रै मूल्याङ्कनका आधारमा भुक्तानी गर्न सम्बन्धित पूर्वाधार कार्यालयलाई निर्देशनसमेत दिएका छन्।
मनाङ ङिस्याङ गाउँपालिकाका अध्यक्ष कान्छा घलेले पटक–पटक ठेकेदार कम्पनीसँग सम्पर्क गरी काम पूरा गर्न आग्रह गरे पनि निर्माण कम्पनीले पर्याप्त चासो नदिएको बताए। काम अघि बढाउने भन्दै पटक–पटक म्याद थप गरिए पनि अपेक्षित प्रगति हुन नसकेको उनको भनाइ छ।
पूर्वसांसद पाल्देन छोम्पाङ गुरुङले पर्यटकीय क्षेत्रका रूपमा परिचित मनाङमा आवश्यक पूर्वाधार निर्माणमा भइरहेको ढिलाइले स्थानीयवासीसँगै पर्यटकलाई समेत समस्या परेको बताए। पुललगायतका पूर्वाधार समयमै निर्माण सम्पन्न भए आवतजावत सहज हुनुका साथै पर्यटन प्रवर्द्धनमा समेत सहयोग पुग्ने उनको भनाइ छ।