पोखरा ३ भदौ २०८३ ।
पोखरा महानगरपालिका–२२, कालिमाटीबाट ठूलो परिमाणमा लागूऔषधसहित एक युवक पक्राउ परेका छन्।
लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय पोखरा र वडा प्रहरी कार्यालय बैदामबाट खटिएको संयुक्त प्रहरी टोलीले मंगलबार राति करिब १०ः१५ बजे कालिमाटी क्षेत्रबाट ठूलो परिमाणमा लागूऔषधसहित पोखरा महानगरपालिका–८, सिर्जनाचोक बस्ने २६ वर्षीय सागर तिमिल्सिनालाई पक्राउ गरेको हो।
अभियुक्त तिमिल्सिनाको साथबाट डाइजापाम ८७ एम्पुल, फेनेरागन ८३ एम्पुल र नुर्फिन ७९ एम्पुल गरी जम्मा दुईसय ४९ एम्पुल, त्यस्तै ओनिरेक्स (Onerx) लेखिएको एकसय ८६ वटा बोतल, ओनसिन (Onecen) लेखिएको पांच वटा बोतल गरी थप एकसय ९१ बोतल र एउटा मोबाइल फोनसमेत लागूऔषध बरामद भएको प्रहरीले जानकारी दिएको छ।
पक्राउ परेका तिमिल्सिनालाई लागूऔषधसम्बन्धी कसुरमा कास्की जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।