पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/०८० का लागि आठ अर्ब ७७ करोड ७५ लाख ५५ हजार रुपैयाँको बजेट ल्याएको छ ।
उपमेयर मञ्जुदेवी गुरुङले शुक्रबार पोखरा सभागृहमा आयोजित ११ औं नगरसभामा उक्त बजेट ल्याएकी हुन्। पोखराले चालु आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्षका लागी दुई करोड ५० करोडभन्दा बढी बजेट ल्याएको हो ।
उपप्रमुख गुरुङले आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गर्दै बजेटमा संघीय सरकारको अनुदानबाट दुई अर्ब ५८ करोड ८६ लाख, प्रदेश सरकार अनुदानबाट ११ करोड २८ लाख २० हजार, आन्तरिक आयबाट तीन अर्ब एक करोड, संघीय राजस्व बाँडफाँटबाट ३७ करोड ३७ लाख व्यहोर्ने बताइन् ।
त्यस्तै, प्रदेश राजस्व बाँडफाँटबाट एक करोड ४२ लाख ५२ हजार स्रोत व्यवस्था हुने उल्लेख छ । यसो गर्दा दुई अर्ब ४० करोड ८१ लाख ८३ हजार कम हुने देखिन्छ । न्यून बजेट चालु आर्थिक वर्षको अन्त्यमा बचत हुने रकमबाट व्यहोर्ने उपमेयर गुरुङले बजेट वक्तव्यमार्फत जानकारी दिइन् ।
चालु आर्थिक वर्षका लागि पोखरा महानगरले ६ अर्ब ४१ करोड बजेट विनियोजन गरेको थियो । जसमध्ये जेठ मसान्तसम्म २ अर्ब ८२ करोडमात्रै खर्च गर्न सकिएको उपप्रमुख गुरुङले बताइन् । ‘यो भनेको सुरु विनियोजनको ४४.०७ प्रतिशतमात्रै खर्च हो,’ उनले भनिन्, ‘यो आर्थिक वर्षको अन्तिमसम्म ८० प्रतिशत खर्च हुने संसोधित अनुमान गरेको छ ।’
यस अघि बजेट प्रस्तुत हुनअगाडि नै रातो किताब प्रकाशन गरिएको भन्दै एमालेबाट निर्वाचित जनप्रतिनिधिले नगरसभा बहिष्कार गरेका थिए । एमालेका प्रतिनिधि र महानगर प्रमुख, उपप्रमुख बीचको वार्तापछि नगरसभा करिब ३ घन्टापछि मात्रै सुरु भएको थियो ।
स्रोतका अनुसार वार्तामा महानगर प्रमुख धनराज आचार्य र प्रमुख प्रशासकीय अधिकृत बलराम रिज्यालले माफी मागेका थिए भने रातो किताब पुनः छाप्ने सहमति भएको छ ।
पोखरा-बजेट-फाइनल