उपप्रधानमन्त्री एवम् सहकारी तथा गरिबी निवारणमन्त्री चित्रबहादुर केसीले भारत र ईयूको संयुक्त वक्तव्य विषको संज्ञा दिएका छन् । राष्ट्रिय जनमोर्चाका अध्यक्षसमेत रहेका केसीले आइतबार चितवनमा कार्यकर्तासँगको भेटघाटका क्रममा भने, ‘भारत र ईयूको वक्तव्य मन्द विषको रुपमा आएको छ । नेपालका दल मिलेर यसको सामना गर्नुपर्छ ।’
केसीले वक्तव्य मार्फत नेपालमाथि नाङ्गो हस्तक्षेप भएको समेत टिप्पणी गरे । उपप्रधानमन्त्री केसीले नेपालका राजनीतिक दलबीच भएको एकतालाई टुटाउने प्रयत्नस्वरुप वक्तव्य आएको जिकिर गरे । ‘नेपालमाथि हुने जस्तोसुकै बाह्य हस्तक्षेप सह्य हुँदैन,’ केसीले भने ।
केसीले नयाँ संविधानले सबैको अधिकार सुनिश्चित गरेकोसमेत बताउदै वक्तव्यले एकता फुटाउने खेल खेले पनि एकता भंग नहुने उल्लेख गरे । ‘नेपाललाई सिक्किमीकरण गरेर एकता फुटाउने खेल खेलिएको छ । यो खेल सफल हुँदैन,’ उपप्रधानमन्त्री केसीले भने । सङ्घीयताकै कारण मधेस आन्दोलन भएको उल्लेख गर्दै केसीले नेपालका लागि सङ्घीयता आवश्यक नभएको जिकिर गरे ।
कार्यक्रममा केसीले सहकारी क्षेत्रका कानुन सुधार गर्ने पक्षमा आफू रहेको जानकारी गराए । सहकारीले देशको विकासमा सहयोगी भूमिका खेल्ने उनको भनाइ छ । रासस