दुई जनाको गोली हानेर हत्या गरेको आरोपमा एमाले बैकल्पिक केन्द्रीय सदस्य यादव पक्राउ

दुई जनाको गोली हानेर हत्या गरेको आरोपमा एमाले बैकल्पिक केन्द्रीय सदस्य यादव पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, १७ चैत्र २०७२
  • 11.9K
    Shares

नेकपा एमालेका नेता योगनारायण यादवलाई प्रहरीले पक्राउ गरेको छ । एमालेका बैकल्पिक केन्द्रीय सदस्य एवं पूर्वसांसद समेत रहेका यादवलाई धनुषाको सबैलास्थित मदन आश्रति निमावि विद्यालय व्यवस्थापन समितिको चुनावमा गोली चलाएको अभियोगमा प्रहरीले बुधबार काठमाडौंबाट पक्रेको हो । प्रहरीबाट भाग्दै राजधानीमा बसिरहेका यादवलाई प्रहरीले लखेटेर पक्राउ गरेको धनुषा प्रहरी स्रोतले जनाएको छ ।

केही समय अघि विद्यालय व्यवस्थापन समितिको चुनावका क्रममा भएको झडपमा गोली चल्दा रामसेवक राउतको घटनास्थलमै मृत्यु भएको थियो । उक्त हत्याकाण्डको मुख्य योजनाकार यादव भएको भन्दै जिल्ला अदालत धनुषाले यादवसहितको नाममा वारेन्ट (पक्राउ पूर्जी) जारी गरेको थियो । यसैगरी उनीमाथि अर्का एक जना रामप्रकाश यादवको पनि हत्या गरेको आरोप छ ।

को हुन यादव ?

०४७ सालदेखि नेकपा एमालेको युवा संगठन प्ररायु संघको सबैला गाउँको अध्यक्ष भएर राजनीति सुरु गरेका यादव २०४८ सालमा सबैला गाविसको नेकपा एमालेको सचिव, २०४९ मा इलाका सचिव भएर २०५० सालमा नेकपा एमाले जिल्ला समिटी सदस्यमा चुनिएका थिए ।

२०५६ सालमा प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका यादव २०५८ सालमा नेकपा एमालेको धनुषा जिल्ला सचिव भएका थिए । २०६५ सालदेखि नेकपा एमालेको केन्द्रीय सदस्य रहेका यादव २०६६ सालदेखि महोत्तरी जिल्लाको नेकपा एमाले सचिव, अध्यक्ष र सचिव पनि भए ।एमाले नेता रघुवीर महासेठका विश्वास पात्र यादवको एमालेमा राम्रो पहुँच समेत भएको बताइन्छ ।

प्रतिक्रिया