कोरोना संक्रमणबाट पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा दुई जनाको मृत्यु, पोखरामा पत्रकारसहित थप १७ जना नयाँ संक्रमित थपिए

कोरोना संक्रमणबाट पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा दुई जनाको मृत्यु, पोखरामा पत्रकारसहित थप १७ जना नयाँ संक्रमित थपिए


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, ६ माघ २०७७
  • 9.1K
    Shares

पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान

कोरोना संक्रमणबाट पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान साबिक पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा दुई जनाको मृत्यु भएको छ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार, कोरोना संक्रमण पुष्टि भै पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान साबिक पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचाररत तनहूँकी एक महिला र पोखरा महानगरपालिकाका एक वृद्धको मृत्यु भएको हो।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशक बिनोदबिन्दु शर्माका अनुसार, पुस २८ गते कोरोना संक्रमण पुष्टि भई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तरगत पश्चिमाञ्चल क्षेत्रीय अस्पताल कोभिड-१९उपचार केन्द्रमा उपचाररत तनहुँ जिल्ला भीमाद नगरपालिका-६ की ५० वर्षीया महिलाको कोरोना संक्रमणबाट आइतबार राति १०.३० बजे निधन भएको थियो। ती महिलामा कोरोना संक्रमणसँगै प्रेसर, सुगरलगायतको समस्या देखिएको थियो।

त्यस्तै पुस २१ गते कोरोना संक्रमण पुष्टि भई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तरगत पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराको कोभिड- १९ उपचार केन्द्रमा उपचाररत् पोखरा-८ का ७३ वर्षीय संक्रमित पुरुषको उपचारकै क्रममा आइतबार दिउँसो १.४० बजे निधन भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयद्वारा जारी बिज्ञप्तिमा उल्लेख छ। उनमा कोरोना संक्रमणसँगै निमोनिया समेत रहेको बताइएको छ ।

यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय ९९ पुगेको छ ।

यसैबीच केही सिथिल जस्तो देखिएको कोरोना संक्रमण पोखरा महानगरपालिकाका केही वडाहरुमा फेरी देखिन थालेको छ। लाइफ केयर एण्ड डाइग्नोस्टिक सेन्टर पोखरामा गरिएको स्वाब परीक्षणमा पोखरा महानागरपालिकाका सात जना सहित ८ जनामा, पोखरा स्वास्थ्य विज्ञानमा गरिएको स्वाब परीक्षणमा पोखरा-२८ का ३७ वर्षीय पुरुष र क्षेत्रिय क्षयरोग उपचार केन्द्रमा गरिएको परिक्षणमा पोखरा महानगरपालिकाका आठ्सहित १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले सोमबार दिएको जानकारी अनुसार, पोखरा महानगरपालिकाको वडा नम्बर ६ मा चार महिलासहित थप पांच जनालाई कोरोना संक्रमण पुष्टि भएको छ भने पोखरा-८ का थप तीन पुरुष र वडा नम्बर १५ मा थप दुई जनालाई पनि कोरोना पुष्टि भएको छ। त्यस्तै पोखरा महानगरपालिकाको वडा नम्बर ४, १६, १७ , २७ र २८ मा एक-एक जना नयाँ संक्रमित थपिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जारी गरेको बिज्ञप्तिमा उल्लेख छ।

पोखरा महानगरपालिकामा थप भएका नयाँ संक्रमितहरुमा वडा नम्बर १६ को बाटुलेचौर बस्दै आएका पत्रकार यदुबाथ बन्जारा पनि रहेका छन्। पोखराबाट नियमित प्रकाशन हुँदै आएको सराङकोट साप्ताहिकका सम्पादक समेत रहेका बन्जारा यतिबेला आफ्नै घरमा आइशोलेशनमा बसिरहेका छन्।

प्रतिक्रिया