कोरोना भाइरस (कोभिड–१९) को नयाँ प्रकार नेपालमा पनि भित्रिएको पुष्टि भएको छ । पुसको पहिलो साता बेलायतबाट नेपाल आएका तीन जना नेपालीसंगे कोरोना भाइरस (कोभिड–१९) को नयाँ प्रकार नेपालमा पनि भित्रिएको पुष्टि भएको हो ।
पुसको पहिलो साता बेलायतबाट नेपाल आएका ६ जनामा कोरोना संक्रमण भएको पुस १३ गते पुष्टि भएको थियो । तर जिन सिक्वेन्सिङ नभएका कारण नयाँ प्रकार भए/नभएको खुलेको थिएन । उनीहरुको स्वाब नमुना संकलन गरी पुष २७ गते हङकङस्थित प्रयोगशालामा पठाइएकोमा त्यसमध्ये तीन जनामा नयाँ प्रकारको कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रबक्ता डा. जगेस्वर गौतमले जानकारी दिएका छन्।
नयाँ प्रकारको कोरोना संक्रमण पुष्टि भएकाहरुमा २८ वर्षीया महिला, ३२ र ६७ वर्षीय पुरुष रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। उनीहरुमध्ये २८ वर्षीया महिला र ३२ वर्षीय पुरुष नेगेटिभ भइसकेका छन् भने ६७ वर्षीय पुरुष पोजेटिभ नै छन् । तर उनमा लक्षण नभएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जनाएका छन् ।