प्रहरी असईको हत्या आरोपी थुनामा

प्रहरी असईको हत्या आरोपी थुनामा


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, २ चैत्र २०७२
  • 12.2K
    Shares

मधेस आन्दोलनका क्रममा निर्ममतापूर्वक हत्या गरिएका सशस्त्र प्रहरीका असई थमन विश्वकर्माका ‘दोषी’लाई अझै सजाय हुन सकेको छैन् । हत्यामा २८ जनालाई अभियोग लगाइएपनि तीन जना मात्रै पक्राउ परेका छन् । उनीहरुलाई महोत्तरी जिल्ला अदालतले मंगलबार पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।

सादा पोशाकमा डिउटीमा खटिएका विश्वकर्मालाई एम्बुलेन्सबाट थुतेर लखेटी लखेटी हत्या गरेको आरोपमा जलेश्वर २ का मिश्रीलाल माझी, ३ का संजयकुमार साह र वडा नं १७ परिकौलीका मोहन ठाकुरलाई कर्तब्य ज्यान मुद्दामा प्रहरीले सोमवार र मगंलवार अदालत पेश गरेको थियो । जिल्ला न्यायाधीश किरणकुमार पोखरेलले गरेको मुद्दाको पहिलो सुनवाईपछि मंगलवार थुना आदेश गरेको हो ।

Thaman-Bk-Police

उनीहरुलाई मुलुकी ऐन अदालती वन्दोवस्तिको ११८ नंको देहाय २ बमोजिमको अवस्था विद्यमान देखिएकोले मुद्दाको पुर्पक्ष हुने गरि कारागार पठाईएको अदालतका श्रेस्तेदार भोजप्रसाद बस्नेतले बताए । सामान्यत ३ वर्षभन्दा बढी जेल सजाय हुन सक्ने कसुरका अभियुक्तलाई तत्काल प्राप्त सवुद प्रमाणका आधारमा थुनामा राख्नुपर्ने देखिए अदालतले पुर्पक्षका लागि कारागार पठाउन सक्ने कानूनी प्रावधान अनुसार अभियुक्त तीनै जनालाई थुनामा पठाइएको हो ।

असई विकको हत्या गरेको अभियोगमा २८ तथा एम्वुलेन्स आगजनीमा २५ जनाविरुद्ध मुद्दा दर्ता गरिएको छ । अदालतमा हाजिर नभएका अभियुक्तको नाममा वारेन्ट अर्थात पक्राउ पुर्जी जारी गरिएको छ ।

प्रतिक्रिया