पूर्वपश्चिम राजमार्गमा डेढ फिटसम्म पानी,नवलपरासी जलमग्न

पूर्वपश्चिम राजमार्गमा डेढ फिटसम्म पानी,नवलपरासी जलमग्न


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, १९ साउन २०७४
  • 5.3K
    Shares

१९ साउन, नवलपरासी । लगातारको वर्षाले नवलपरासी डुबानमा परेको छ । नवलपरासीको नवलपुर क्षेत्रमा खासै डुबान नपरे पनि परासी क्षेत्रका बर्दघाट, सुनवल लगायतका भूभाग डुबानमा पर्दा स्थानीयको बिचल्ली भएको छ ।

बिहीबार बिहान केहीबेर बर्दघाट नगरपालिका ९ मा रहेको लण्डन ब्रीजमा पानी थुनिँदा सडक समेत अवरुद्ध भएको थियो । ढलको पानी र पुलमाथिसम्म खोलाको पानी आएपछि बाटो नदेखिँदा केही समय पूर्व-पश्चिम राजमार्गमा यातायात आवत जावत बन्द भएको थियो ।

बर्दघाट नगरपालिकाको दिव्यज्योति क्याम्पस अगाडि चिसापानी र लण्डन ब्रीजमा सडक नाघेर डेढ फिट गहिरो पानी बगेको थियो । अहिले पानीको सतह घटेपछि यातायात सञ्चालनमा आएको बर्दघाट प्रहरीले जनाएको छ ।

जलमग्न पूर्व-पश्चिम राजमार्ग । तस्वीर: नरेश ज्ञवाली

त्यस्तै सुनवल बजार समेत जलमग्न भएको सुनवलका पत्रकार गोपी ज्ञवालीले बताए । त्यसैगरी बर्दघाट १० को सुनटाँडी ध्रुवटोल क्षेत्र जलमग्न भएको छ ।

लगातारको वर्षाले नवलपरासीका अधिकांश साना-ठूला खोलाहरुमा बाढी आएको छ । बाढीले मानवीय क्षति नभए पनि खोला छेउँछाउँको जमिन भने कटान भएको छ ।

त्यस्तै मुख्य बजारहरुमा ढलको निकास नहुँदा जलमग्न भएका छन् । नवलपरासीको दाउन्ने डाँडाको १० भन्दा बढी स्थानमा साना पहिरा खसेका छन् ।

वर्षाकै कारण पहिरो खस्दा नवलपरासीको पहाडी क्षेत्र जाने बाटो अवरुद्ध भएको छ । बुलिङटार र बुङ्दीकाली गाउँपालिका जाने बाटो अवरुद्ध भएको हो ।

बुलिङटारको गोजापोखरीमा पहिरो गएका कारण त्यसभन्दा माथि यातायात सञ्चालनमा आउन सकेको छैन । कच्ची सडक रहेका कारण नवलपरासीको पहाडी क्षेत्रमा वर्षाको समय अधिकांश समय बाटो बन्द हुने गर्दछ ।

धोबाहा खोलामा पुल नबन्दा सास्ती

यसैबीच नवलपरासीको सुस्ता गाउँपालिका र प्रतापपुर गाउँपालिकाको सिमानामा पर्ने धोबाहा खोलामा पुल नबन्दा स्थानीयबासीलाई आवत-जावत गर्न कठिनाई भएको छ ।

धोबाहा खोला प्रतापपुर गाउँपालिकाको वडा नम्बर ७ र सुस्ता गाउँपालिकाको वडा नम्बर ५ को सिमानामा पर्दछ । धोबाहा खोलामा पुल नबन्दा पक्लिहवाबासी गुठिप्रसौनीतर्फ र गुठिप्रसौनीका बासिन्दा समस्यामा परेका छन् । उनीहरु जोखिमपूर्ण तरिकाले भेल तर्न बाध्य छन् ।

धोबाहा खोलामा राष्ट्रिय जनता पार्टीका नेता एवम् पूर्व भौतिक योजना तथा यातायात ब्यवस्था मन्त्री हृदेश त्रिपाठीले पुल बनाउनको लागि शिलन्यास गरे पनि हालसम्म पुल बनेको छैन । धोबाहा खोला नेता त्रिपाठी र क्षेत्र नम्बर ६ का सांसद देवकरण कलवारको घर नजिकै पर्दछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार