तनहुँ, ३ कार्तिक २०८३।
तनहुँको कोत्रेमा मंगलबार दिउँसो भारतीय स्कोर्पियोले स्कुटर र ट्याक्सीलाई दिंदा ६ जना घाइते भएका छन्।
दमौलीबाट पोखरातर्फ जाँदै गरेको बीआर ११ बिडब्लु ६०६७ नम्बरको भारतीय स्कोर्पियोले तनहुँको शुक्लागण्डकी नगरपालिका–२ कोत्रेमा मंगलबार दिउँसो आफ्नो लेन नाघेर विपरीत दिशाबाट आउँदै गरेको ग १ ज २०६६ नम्बरको ट्याक्सी र ग ०१००२ प १४२ नम्बरको स्कुटरलाई ठक्कर दिंदा छ जना घाइते भएका हुन्।
जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका अनुसार, दुर्घटनामा स्कुटर चालक पोखरा–८ की ३० वर्षीया रुपा गुरुङ घाइते भएकी छन्। यस्तै ट्याक्सीमा सवार पोखरा–१० घर भएका एकै परिवारका ४ जना पनि घाइते भएका छन्।
प्रहरीका अनुसार ट्याक्सीमा सवार घाइतेहरुको पहिचान खुल्न बाँकी छ भने स्कोर्पियोमा सवार एक जनासमेत सामान्य घाइते भएका छन्।
घाइते सबैलाई तत्काल उद्धार गरी उपचारका लागि मणिपाल शिक्षण अस्पताल पोखरा लगिएको छ। उनीहरुको अवस्था मध्यम रहेको र थप उपचार भइरहेको प्रहरीले जनाएको छ।
दुर्घटनापछि भारतीय स्कोर्पियोका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।
पृथ्वी राजमार्गको कोत्रे खण्डमा तीव्र गति र लेन अनुशासन पालना नगर्दा दुर्घटना बढेको भन्दै ट्राफिक प्रहरीले चालकहरुलाई सचेत रहन आग्रह गरेको छ।