पोखरा, ३० असोज २०८३।
चाडपर्वको समयमा पर्यटक तथा सर्वसाधारणलाई दुःख हैरानी दिएको आरोपमा कास्की प्रहरीले पाँच जनालाई नियन्त्रणमा लिएको छ।
चाडपर्वलाई लक्षित गरेर जिल्ला प्रहरी कार्यालय कास्कीले आज पोखरा महानगरपालिकाका पृथ्वीचोक, सभागृहचोक र सृजनाचोक क्षेत्रमा संचालन गरेको स्वीप अप्रेसन’ का क्रममा पर्यटक तथा सर्वसाधारणलाई दुःख हैरानी दिएको आरोपमा कास्की प्रहरीले पाँच जनालाई नियन्त्रणमा लिएको हो ।
सो क्रममा सर्वसाधारण तथा आन्तरिक र बाह्य पर्यटकलाई जबरजस्ती सवारीसाधनमा चढाउन खोज्ने, होटल मिलाइदिने भन्दै झोला तान्ने, करकाप गर्ने तथा दुःख हैरानी दिने गरेको आरोपमा पाँच जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
नियन्त्रणमा लिइएका व्यक्तिहरूलाई थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि वडा प्रहरी कार्यालय बैदाम पठाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।
नियन्त्रणमा लिइएकाहरूको विवरण
१. चितवनको भरतपुर महानगरपालिका–२ स्थायी घर भई हाल पोखरा महानगरपालिका–९, बसपार्क बस्ने २३ वर्षीय रोसन गुरुङ।
२. नवलपुरको देवचुली नगरपालिका–१६, लक्ष्मिमार्ग बस्ने ३१ वर्षीय सुरेन्द्र पाण्डे।
३. कास्कीको पोखरा महानगरपालिका–२३ बस्ने २९ वर्षीय सन्दिप बस्नेत।
४. कास्कीको रुपा गाउँपालिका–५ बस्ने २४ वर्षीय शंकर सुनार।
५. गोरखाको भीमसेन गाउँपालिका–५, गैरिकुवा बस्ने १९ वर्षीय रमेश रिमाल।
चाडपर्वको समयमा पर्यटकको आवागमन बढ्ने भएकाले पर्यटक तथा सर्वसाधारणलाई अनावश्यक दुःख हैरानी दिने गतिविधि नियन्त्रण गर्न प्रहरीले निगरानी र सुरक्षा कारबाहीलाई तीव्र बनाएको जनाएको छ।