नवलपुरको गैँडाकोट सामुदायिक वनमा पुरिएको शव खाडलबाट निकालेको आरोपमा तनहुँका युवा पक्राउ

नवलपुरको गैँडाकोट सामुदायिक वनमा पुरिएको शव खाडलबाट निकालेको आरोपमा तनहुँका युवा पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, ३० असोज २०८३
  • 380
    Shares

चितवन , ३० असोज २०८३।

नवलपुरको गैँडाकोटस्थित सामुदायिक वनमा पुरिएको शव खाडलबाट निकालेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

गैँडाकोटस्थित गैँडाकोट सामुदायिक वन क्षेत्रमा खाडल खनेर गाडिएको गैँडाकोट नगरपालिका-४ रानीताल निवासी ४९ वर्षीया कनिमाया गुरुङको शब निकालेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा तनहुँको देवघाट गाउँपालिका-५ घर भई हाल गैँडाकोट नगरपालिका-४ रानीताल बस्दै आएका ३१ वर्षीय शिव भन्ने शक्ति परियार रहेको प्रहरीले जानकारी दिएको छ।

प्रहरीका अनुसार असोज २४ गते गैँडाकोट-४ रानीताल निवासी ४९ वर्षीया कनिमाया गुरुङको मृत्यु भएको थियो। आफन्तले उनको शव गैँडाकोट सामुदायिक वन क्षेत्रमा खाडल खनेर अन्त्येष्टि गरेका थिए। तर अन्त्येष्टि गरेको दुई दिनपछि असोज २६ गते बिहान ७ बजे समाधीस्थलको माटो लिन गएका आफन्तले शव खाडलबाहिर निकालिएको अवस्थामा फेला पारेका थिए।

खाडल खुला अवस्थामा रहेको देखेपछि आफन्तले जिल्ला प्रहरी कार्यालय नवलपुरमा अनुसन्धान र कारबाहीको माग गर्दै सूचना दिएका थिए। सूचनाको आधारमा खटिएको प्रहरी टोलीले अनुसन्धान गर्ने क्रममा शव बाहिर निकाल्ने व्यक्ति तनहुँको देवघाट गाउँपालिका-५ घर भई हाल गैँडाकोट नगरपालिका-४ रानीताल बस्दै आएका ३१ वर्षीय शिव भन्ने शक्ति परियार रहेको खुलेपछि पक्राउ गरिएको प्रहरीले दाबी गरेको छ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक अनिल पण्डितका अनुसार परियारलाई नियन्त्रणमा लिई थप अनुसन्धान अगाडि बढाइएको छ। जिल्ला अदालतले अनुसन्धानका लागि उनलाई पहिलो पटक सात दिन म्याद थप गर्न अनुमति दिएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार