फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्ते एक पटक फेरि बलात्कार विषयलाई मजाक बनाउँदा विवादमा तानिएका छन् ।
१४ जेष्ठ/ देशको दक्षिणमा सैनिक कानुन अर्थात मार्शल ल लगाएपछि एक सैन्य शिविरमा सैनिकलाई सम्बोधन गर्दै उनले तीन जनासम्मलाई बलात्कार गर्न छुट रहेको बताएका थिए ।
राष्ट्रपतिका लागि आफ्नो उम्मेदवारीपछि उनले बलात्कारलाई यति हल्का ढंगले मजाक गरेको यो दोस्रो पटक हो । एक मानवअधिकारकर्मी संगठनले उनको टिप्पणीलाई घृणा गर्न लायक भनेको छ ।
अमेरिकी पूर्वराष्ट्रपति बिल क्लिन्टनकी छोरी चेल्सी क्लिन्छनले ट्विट गर्दै बलात्कार कहिल्यै मजाक नहुने टिप्पणी गरेकी छन् ।
डुटेर्तेले सैनिकसँग भनेका थिए, ‘यदि तिमीहरुले तीन महिलालाई बलात्कार गरेमा म नै जेल जाउँला, मैले नै गरेको भनिदिउला । तर चार जनासँग विवाह गरेमा मार्नुपर्नेछ ।’
डुटेर्तेको यो भनाईमाथि चेल्सी क्लिन्टनले ट्विट गर्दै उनी एक हत्यारा ठग रहेको र उनको मानवअधिकारसँग कुनै सम्बन्ध नरहेको तथा बलात्कार कहिल्यै मजाक नहुने टिप्पणी गरेकी छन् ।
मानवअधिकार कार्यकर्ता फेलिम किनले राष्ट्रपति जस्तो व्यक्तिले बोलेका यी कुरा मजाकको एक घृणाजनक रुप भएको र मार्शलन लका आडमा अधिकारको दुरुपयोग गर्ने चिन्ता व्यक्त गरेका छन् । गत वर्ष डुटेर्तेले १९८९ मा एक अस्ट्रेलियालीसँग भएको बलात्कार र हत्याको मजाक उडाएका थिए ।