कोरोना संक्रमितका सक्रिय संख्या २५ हजार पुगे पनि लकडाउन नहुने बताइेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले शुक्रबार आयोजित नियमित प्रेस ब्रिफिङमा तत्काल लकडाउन गर्ने योजना नभएको बताएका हुन्।
‘देशमा फेरि पनि लकडाउन गर्ने योजना रहेको छैन’, गौतमले भने, ‘अहिलेकै अवस्थामा सङ्क्रमित बढ्न थाले भने सरकारी संरचनाले थेग्न नसक्ने भनिएको हो। त्यस्तो अवस्थामा हामी निजी स्वास्थ्य संस्थासँगको सहकार्यमा सङ्क्रमितको उपचार गर्छौँ।’
७ असोजमा स्वास्थ्य सचिव लक्ष्मण अर्यालको अध्यक्षतामा बसेको इन्सिडेन्ट कमाण्ड सिस्टमको बैठकले देशभर सक्रिय सङ्क्रमितको संख्या २५ हजार पुगेको अवस्थामा सरकार समक्ष लकडाउनको सिफारिस गर्ने निर्णय गरेको थियो। जसको कारण दशैं, तिहारको मुखमा पुनः लकडाउन हुने भयले सर्वसाधारण चिन्तित हुन थालेका थिए।
शुक्रबार साँझसम्मको तथ्यांक अनुसार देशभरमा सक्रिय संक्रमितको संख्या २१ हजार २ दुई सय ३४ पुगेको छ ।
सरकारले गएको चैत ११ गतेदेखि साउन ६ गतेसम्म देशभर लकडाउन गरेको थियो।