काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य र वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ भोला रिजाल दम्पतीलाई कोरोना संक्रमण भएको छ ।
दुई दिनअघि स्वाब दिएका उनलाई सोमबार कोरोना संक्रमण पुष्टि भएको हो । उनकी पत्नीलाई सन्चो नभएपछि शाक्य दम्पत्तिले स्वाब दिएका थिए । तर, उनकी पत्नीलाई भने कोरोना संक्रमण देखिएन ।
मेयर शाक्यलाई कोरोना संक्रमणको लक्षण देखिएको छैन । उनी होम आइसोलेसनमा बसेका छन् ।
यसै गरी, शनिबार स्वाब दिएका कोरोना संक्रमण भएका वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ भोला रिजाल दम्पतीलाई कोरोना संक्रमण देखिएको हो।
संक्रमण देखिएपछि पत्नी सरलासहित आफू सोमबार ह्याम्स अस्पतालको आइसोलेसन कक्षमा भर्ना भएको रिजालले जानकारी दिए ।
दुवैको स्वास्थ्य सामान्य छ। ‘हामी फ्रन्टलाइनमा खटिने चिकित्सकलाई यस्तो संक्रमण हुनु नौलो हैन, कोरोनालाई जितेर फर्किने छौं,’ रिजालले भने, ‘हामीलाई भएपछि परिवारका सदस्यलाई पनि देखिने नै भयो।’