बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा एकाबिहानै मृत्यु भएका दुईसहित ११ जनाको कोरोनाकाकारण मृत्यु

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा एकाबिहानै मृत्यु भएका दुईसहित ११ जनाको कोरोनाकाकारण मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, १२ भाद्र २०७७
  • 2.8K
    Shares

धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएका दुई जना कोरोना संक्रमितसहित गएको २४ घन्टामा ११ जनाको कोरोना संक्रमणकाकारण  मृत्यु भएको छ ।

झापाको दमक–३ घर भएका ८३ वर्षीय पुरुषको आज बिहान ३ः४५ बजे र मोरङको बेलबारी–५ की ५६ वर्षीया महिलाको ३ः१४ बजे मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए ।

त्यस्तै, कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट हिओ नौ जनाको मृत्यु भएको पुष्टि भएको छ ।

काठमाडौं, ललितपुर, बारा, कास्की, रुपन्देही, कपिलवस्तु, बाँके, धनुषा र पर्सामा एकएक जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा ५ महिला र चार पुरुष छन् ।

काठमाडौंको तारकेश्वर–११ का ४८ वर्षीय पुरुषको किस्ट अस्पतालमा मृत्यु भएको छ । कोरोनासँग मिल्दोजुल्दो लक्षण लिएर ७ भदौमा अस्पताल भर्ना भएका उनलाई कोरोना संक्रमण भएको ९ गते पुष्टि भएको थियो । संक्रमणका कारण निमोनिया भइसकेको उनको भेन्टिलेटरमा राखेर उपचारका क्रममा मृत्यु भएको हो ।

ललितपुरकी ६५ वर्षीया कोरोना संक्रमित महिलाको पाटन अस्पतालमा मृत्यु भएको छ । उनी ९ गतेदेखि अस्पतालमा उपचाररत थिइन् ।

पोखरा–१२, कास्कीकी ३२ वर्षीया महिलाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ । श्वास प्रश्वासको समस्या लिएर ३२ साउनमा कास्की सेवा अस्पतालमा भर्ना भएकी उनलाई कोरोना संक्रमण भएको ७ भदौमा पुष्टि भयो । लगतै प्रतिष्ठानको कोभिड–१९ आइसोलेसन सेन्टरको आईसीयूमा सारिएको थियो ।

रुपन्देहीको तिलोत्तमा–२ की ७० वर्षीया महिलाको कोरोना विशेष अस्पतालमा मृत्यु भएको छ । २६ साउनमा कोरोना पुष्टि भएकी उनलाई स्वास्थ्यमा समस्या भएपछि ३१ गते अस्पताल भर्ना गरिएको थियो । उनको प्लाज्मा थेरापी समेत गरिएको थियो ।

कपिलवस्तुका ५० वर्षीय पुरुषको कोरोना विशेष अस्पतालमा मृत्यु भएको छ । भदौ ५ मा कोरोना संक्रमण पुष्टि भएपछि अस्पताल भर्ना भएका उनको पछिल्लो समय भेल्टिलेटरमा उपचार भइरहेको थियो ।
नेपालगञ्ज–७, बाँकेकी ७० वर्षीया महिलाको नेपलगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएको छ । दम बढेपछि ३ भदौमा नर्सिङ होममा भर्ना भएकी उनलाई कोरोना संक्रमण पुष्टि भएपछि कोहलपुरमा रिफर गरिएको थियो ।

धोविनी–३ पर्साको ७२ वर्षीय पुरुषको नारायणी अस्पतालमा मृत्यु भएको छ । भदौ ८ मा भर्ना भएका उनलाई निमोनिया समेत भएको थियो ।

सुर्वण–४ बाराका २३ वर्षीया महिलाको पनि नारायणीमै मृत्यु भएको थियो । ३३ हप्ताकी गर्भवती उनी ८ गते अस्पताल भर्ना भएकी थिइन् । भेल्टिलेटरमा राखेर उपचार गर्ने क्रममा उनको मृत्यु भएको छ ।

प्रादेशिक अस्पताल, जनकपुरधाममा बुधबार मृत्यु भएका धनुषाको मुपखयापट्टी मुसहरनिया–४ का ४५ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । रुघाखोकी र ज्वरो आएपछि अस्पताल पुगेका उनको उपचार सुरु भएको केही घण्टामा नै मृत्यु भएको थियो ।

प्रतिक्रिया