बहुलाह कुकुरले टोकेर तीन जनाको मृत्यु : गलत भ्याक्सिन दिएको भन्दै स्वास्थ्यकर्मी पक्राउ

बहुलाह कुकुरले टोकेर तीन जनाको मृत्यु : गलत भ्याक्सिन दिएको भन्दै स्वास्थ्यकर्मी पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, ११ भाद्र २०७७
  • 4.5K
    Shares

रेबिज रोग लागेको कुकुरले टोकेर तीन जनाको मृत्यु भएपछी दोलखाका एक स्वास्थ्यकर्मीलाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले मेलुङ गाउँपालिका-६, स्थित स्थानीय एक मेडिकल संचालकलाई पक्राउ गरेको हो।

सिएमए अध्ययन गरेको भनिएका ती मेडिकल संचालकको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन।  उनलाई कुकुरले टोकेका मानिसलाई गलत भ्याक्सिन दिएको आरोप लगाइएको छ।  हाल उनलाई जिल्ला प्रहरी कार्यालय दोलखामा राखिएको बताइएको छ।

प्राप्त समाचार अनुसार, असार २६ गते मेलुङ गाउँपालिका-६, तिनपिप्लेमा २ घण्टाको अवधिमा छाडा कुकुरले १० जनालाई टोकेकोमा ती मध्ये स्थानीय ३२ वर्षीय रामचन्द्र भण्डारीको बुधबार बिहान पाटन अस्पतालमा मृत्यु भएको थियो।  रेविज रोगकै कारण भण्डारीको मृत्यु भएको पाटन अस्पताल ललितपुरले पुष्टि गरेपछि आक्रोशित स्थानीय बासिन्दाले रेबिज रोगको भ्याक्सिन दिने स्थानीय मेडिकलमा तोडफोड गर्नुका साथै मेडिकल संचालक समेतलाई दुर्ब्यबहार गरेका थिए।  उनीहरुले मेडिकल संचालाक्माठी गलत भ्याक्सिन दिएको आरोप लगाएका छन्।

मेलुङ गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख हरिराम चापागाईंका अनुसार, छाडा कुकुरले टोकेका १० मध्ये तीन जनाको मृत्यु भएपनि सात जनामा रेविज रोगको लक्षण देखिएको छैन।  छाडा कुकुरले टोकेर भण्डारीसंगै मेलुङ गाउँपालिका-५ का १५ वर्षीय सुरेश विकको पनि मृत्यु भएको थियो भने मेलुङ मामाघर गएको बेला कुकुरले टोकेर घाइते भएका बैत्यश्वर गाउँपालिकाका ८ वर्षीय बालक कुशल नेपालीको प्राथमिक स्वास्थ्य केन्द्र चरिकोटमा उपचारको क्रममा मृत्यु भएको थियो।

मुलुकी अपराधसंहिता, २०७४ को दफा २३० को उपदफा-१ बमोजिम नियन्त्रणमा लिईएको र सो अनुसार कसुर गरेको पाईएमा मुद्धा दर्ता गरेर कारवाही गरिने दोलखाका प्रहरी प्रमुख डीएसपी रेवतीरमण पोखरेलले जानकारी दिए । स्वास्थ्य कार्यालय दोलखाका प्रमुख विभुकुमार झाले सीएमए पास गरेकोले मात्र त मेडिकल खोल्न पाउने कानुन विद्यमान नभएको बताए।

प्रतिक्रिया