पोखरा महानगरपालिकाको लेखनाथ क्षेत्रमा संचालित एक एफएममा कार्यरत एक जना संचारकर्मी/पत्रकारलाई कोरोना संक्रमण पुष्टि भएको छ।
३४ वर्षीय पुरुष ती संक्रमित सञ्चारकर्मीलाई अहिले आइसोलेशनमा लैजाने तयारी भइरहेको छ ।
उनी कार्यरत एफएम रहेको भवनमा रहेको राष्ट्रिय बाणिज्य बैँकमा कार्यरत दुई जनामा संक्रमण देखिएपछि उनी कन्ट्याक्ट ट्रेसिङमा परेका थिए । गत भदौ ६ गते नमूना परीक्षण गरिएकामा सोमबार नतिजा पोजिटिभ आएको महानगर स्वास्थ्य महाशाखाले जनाएको छ ।
यसैबीच नेपाल पत्रकार महासंघ कास्की शाखाले सम्पूर्ण पत्रकाहरहरुलाई त्रसित नबन्न र पूर्ण सुरक्षित रहेर कार्यक्षेत्रमा खटिन आग्रह गरेको छ । महासंघका अध्यक्ष दीपेन्द्र श्रेष्ठले कोरोना संक्रमणका जोखिम बढ्दो भएकाले फिल्ड रिपोर्टिङमा जान कम गर्न समेत आह्वान गरेका छन् ।
“लेखनाथमा अवस्थित एक एफएममा कार्यरत पत्रकार मित्रलाई कोरोना संक्रमण पुष्टि भएको छ । उहाँलाई आइसोलेशनमा लैजाने व्यवस्थापनमा महासंघ कास्की जुटिरहेको छ । कुनै समस्या भए वा रिपोर्टिङको क्रममा जाँदा (ट्राभल हिस्ट्रि) को कुनै आशंका रहे पि.सि.आर.टेस्ट व्यवस्थापनका लागि खबर गर्न समेत आग्रह गर्दछौँ ।” श्रेष्ठले भनेका छन् ।