हङकङमा एउटै व्यक्तिलाई दोश्रो पटक कोरोना संक्रमण पुष्टि भएको छ। एउटैँ व्यक्तिलाई दोश्रो पटक कोरोना संक्रमण भएकोप्रति बैज्ञानिकहरु अचम्ममा परेका छन् र बैज्ञानिकहरुले यसलाई संसारकै पहिलो घटना भनेका छन् ।
पहिलो पटक साढे चार महिना अगाडि कोरोनाबाट संक्रमित भएका ३० वर्षभन्दा बढी उमेरका ती व्यक्तिलाई दुई पटक कोरोना संक्रमण हुनु दुर्लभ मानिएको छ ।
हङकङ्ग विश्वविद्यालयको रिपोर्टअनुसार ती व्यक्ति कोरोना संक्रमण ठीक हुनुभन्दा अगाडि १४ दिनसम्म अस्पतालमै थिए । संक्रमण निको भएपछि उनी घर फर्किए । तर एयरपोर्टमा स्वास्थ्य जाँच गर्दा उनमा दोस्रो पटक कोरोना संक्रमण पुष्टि भयो । उनमा कोरोना संक्रमणको कुनै पनि लक्षण थिएन ।
लण्डन स्कुल अफ हाइजिन र ट्रपिकल साइन्सका प्रोफेसर ब्रेन्डन रेन भन्छन्, ‘कोरोना संक्रमण दोहोरिनु निकै दुर्लभ घटना हो । यसबाट थाहा हुन्छ भाइरसले समयअनुसार आफूलाई परिवर्तन गर्दछ । त्यसैले भ्याक्सिन अत्यन्त जरुरी छ ।’
वैज्ञानिकहरुका अनुसार जुन व्यक्ति कोरोना संक्रमणबाट निको हुन्छ, उसको शरीरमा रोग प्रतिरोधात्मक क्षमता विकसित हुन्छ र भाइरसलाई फेरि फर्किनबाट रोक्छ ।
यद्यपि रोग प्रतिरोधात्मक क्षमता कति लामो समयसम्म रहन्छ भन्ने कुरा स्पष्ट भइसकेको छैन ।