शैक्षिक संस्था अनिश्चितकालका लागि बन्द, अब रेस्टुरेन्टमा बसेर खान नपाइने

शैक्षिक संस्था अनिश्चितकालका लागि बन्द, अब रेस्टुरेन्टमा बसेर खान नपाइने


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, २७ साउन २०७७
  • 4.1K
    Shares

शैक्षिक संस्थाहरु अनिश्चितकालसम्मका लागि बन्द हुने भएका छन् । सरकारले कोरोना जोखिम रहेकोले अर्को सूचना जारी नभएसम्म शैक्षिक संस्था बन्द रहने जनाएको हो । सोमवार बसको मन्त्रिपरिषद्का निर्णयहरु मंगलबार सार्वजनिक गर्दै सरकारका प्रवक्ता डा.युवराज खतिवडाले अर्को सूचना जारी नभएसम्मका लागि विद्यालय एवं शैक्षिक संस्थाहरु बन्द रहने जानकारी दिएका हुन् ।

‘शैक्षिक संस्था, सेमिनार, पाटी प्यालेस, सैलुन, पुस्तकालय अर्को सूचना नभएसम्म बन्द रहने निर्णय भएको छ’ डा. खतिवडाको भनाई छ । मन्त्रिपरिषद्को बैठकले यसअघि भदौ १ गतेदेखि विद्यार्थी भर्ना अभियान सुरु गर्ने घोषणा गरेको थियो । जसअनुसार शिक्षकलाई भदौं १ अगाडि नै विद्यालयमा पुग्न भनिएको थियो । तर पछिल्लो निर्णयले अघिल्लो निर्णय खारेज भएको छ ।

यसै गरी सरकारले रेष्टुरेन्ट तथा खाजाघरमा बसेर खानेकुरा खान नदिने भएको छ । साना–ठूला रेष्टुरेन्ट र खाजाघरमा खाजाघरमा सुरक्षा मापदण्ड नअपनाइएको र भीडभाड हुने गरेको पाइएको भन्दै सरकारले त्यस्ता रेस्टुरेन्ट र खाजाघरलाई टेक अवे सेवा मात्र दिने निर्णय गरेको हो ।

पर्यटन विभागका महानिर्देशक रुद्रसिंह तामाङका अनुसार अब होटेलस्थित रेष्टुरेन्ट र खाजा घरहरुले समेत मानिसलाई राखेर सेवा दिन पाउने छैनन् । सरकारले स्थानीय प्रशासनमार्फत यसको अनुमगन गर्ने र अटेरी गर्नेमाथि कारवाही गर्नेछ ।

सोमबारको मन्त्रिपरिषद बैठकको निर्णयपछि ठूला होटलहरु पनि थप १५ दिन बन्द अवस्थामा नै रहनेछन् । किनभने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडान भदौ १६ गतेसम्म बन्द हुनेछन् ।

‘जहाज नखुलेपछि होटेल स्वतः बन्द रहनेछन्,’ तामाङले भने । हवाई यातायात र होटेल खुला भएपछि भने सम्बन्धित मुलुकबाट पीसीआर रिपोर्ट नेगेटिभ भएका विदेशी पर्यटकलाई नेपाल आउने अनुमति दिइने भएको छ ।

सरकारले त्यसको आन्तरिक तयारी गरिरहेको छ । यसरी नेपाल आएका पर्यटक ७ दिन अनिवार्य होटेल क्वारेन्टिनमा बस्नु पर्नेछ ।

सरकारले यसरी क्वारेन्टिनका रुपमा उपयोग गर्ने प्रयोजनका लागि भने अब होटल तोक्ने भएको छ । दैनिक ५ सय जनासम्म पर्यटक आउन सक्ने अनुमानसहित क्वारेन्टिन होटेल तोकिने उनले जानकारी दिए । सरकारले ७ दिन क्वारेन्टिनमा बस्ने गरी अनिवार्य होटल बुकिङ गरेको प्रमाण देखाएपछि मात्र नेपाल आउने अनुमति दिनेछ ।

होटलमा बसेर बाहिर निस्कने बेला पनि पीसीआर परीक्षण गरी त्यसमा नेगेटिभ आएमात्र पर्यटकले घुमघामको अनुमति पाउनेछन् ।

मंत्री परिषद निर्णय हेर्न तलको लिंकमा क्लिक गर्नुस

प्रतिक्रिया