दुई दिन हिडेर निःशुल्क स्वाश्थ्य शिबिर गर्न डोल्पा पुगेका डा. गोबिन्द केसीलाई गाउपालिका अध्यक्षलगायत जनप्रतिनिधिको अवरोध, वातावरण असहज देखेपछि डा. केसी फर्किए

दुई दिन हिडेर निःशुल्क स्वाश्थ्य शिबिर गर्न डोल्पा पुगेका डा. गोबिन्द केसीलाई गाउपालिका अध्यक्षलगायत जनप्रतिनिधिको अवरोध, वातावरण असहज देखेपछि डा. केसी फर्किए


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, २१ साउन २०७७
  • 4.4K
    Shares

जगदुल्ला गाउँपालिका अध्यक्ष नारासिं रोकाया र डा. गोविन्द केसी

निःशुल्क स्वाश्थ्य शिबिर संचालन गर्न दुई दिन पैदल हिँडेर डोल्पाको जगदुल्ला गाउँपालिका–६, रिमी पुगेका हाडजोर्नी विशेषज्ञ डा. गोविन्द केसीलाई गाउपालिका अध्यक्ष लगायतका जनप्रतिनिधि र केही स्थानीय बासिन्दाले अवरोध गरेपछि डा. केसी त्यसै फर्किएका छन्।

प्राप्त समाचार अनुसार, जगदुल्ला गाउँपालिका–६ मा रहेको रिम स्वास्थ्यचौकीमा साउन १३ गते नि:शुल्क स्वास्थ्य शिबिर आयोजना गरेका डा. केसीले स्वास्थ्य शिबिरका लागि सहयोग र समन्वय गर्न रिम स्वास्थ्यचौकीका कर्मचारीलाई अनुरोध गरेका थिए।

गाउँपालिकासँग समन्वय नगरेको विषयलाई मुद्दा बनाइयो । गाउँपालिकासित समन्वय नगरेको तथा गाउँपालिकालाई जानकारी नगराइएको भन्दै गाउँपालिका अध्यक्ष नारासिंह रोकायको निर्देशनमा स्वास्थ्यचौकीमा कार्यरत स्वास्थ्यकर्मीले सर्वसाधारणलाई खबर गरिदिएनन् । राजधानीबाट डाक्टर आएको खबर पाएका केही स्थानीय बासिन्दाले नि:शुल्क स्वास्थ्य शिबिर आयोजना गरिएको दिन उपचार गरे।  तर, गाउँपालिकाका अध्यक्षसहित जनप्रतिनिधिले अवरोध गर्दा उनी निराश भएर फर्केका छन् ।

दुई दिन पैदल हिडेर १३ गते बेलुका रिमी पुगेका डा. केसीले १४ गते केही बिरामी जाँच गरे । वातावरण सहज नभएपछि उनी १५ गते बिहानै जुम्ला फर्किए ।

दुई दशकसम्म देशका विभिन्न कुनाकाप्चामा पुगेर स्वास्थ्य सेवा दिनेक्रममा आफूले पहिलोपटक नमिठो अनुभूति गर्नुपरेको डा.केसीको भनाइ छ । आफ्नै कारण स्वास्थ्यचौकीमा कार्यरत स्वास्थ्यकर्मीले धम्की सहनु परेको केसीले बताए । लोकतान्त्रिक गणतन्त्र नेपालमा यस्तो व्यवहारको अपेक्षा आफूले नगरेको उनले बताए ।

रिमी स्वास्थ्यचौकी पुगेपछि स्वास्थ्य सेवा प्रदान गर्नबाट रोक्ने गरी गाउँपालिका अध्यक्षले उक्त स्वास्थ्यचौकीका स्वास्थ्यकर्मीलाई धम्की दिएको डा. केसीको आरोप छ । ‘म कुनै राजनीतिक कार्यक्रम गर्न गएको होइन, न त सरकारको विरोध गर्न गएको हुँ,’ उनले भनेका छन्, ‘मेरो उद्देश्य स्वास्थ्य सेवा प्रदान गर्नु थियो, तर समन्वय नगरिएको विषयलाई ठूलो इस्यू बनाइनु पीडादायी क्षण भएको छ ।’

स्वास्थ्य शिविर गर्ने कुराबाट पछाडि नहटेपछि ६ नम्बर वडाका अध्यक्ष भक्तबहादुर बुढाथोकी आएर पनि आफूलाई रोक्ने प्रयास गरेको डा. केसीले बताए । गाउँपालिका अध्यक्ष, वडाध्यक्ष समेतले स्थानीय स्वास्थ्यकर्मीलाई धम्की दिएपछि आफू १५ गते बिहानै रिमी छाडेर हिँडेको डा.केसीले बताए ।

स्वास्थ्यचौकी रिमीका इन्चार्ज ऐनबहादुर बोहोराले डा .केसीले गाउँपालिकामा कुनै जानकारी नगराएकाले भनेअनुसार सर्वसाधारण बोलाउन नसकिएको बताए । उक्त समयमा आफू फिल्डमा रहेको भन्दै बोहोराले शिविरका लागि आवश्यक तयारीसमेत हुन नपाएको बताए ।

गाउँपालिका अध्यक्ष रोकायले सबैले स्थानीय सरकारको नियम, प्रक्रिया र पद्धति मान्नुपर्ने बताए । उनले गाउँपालिकासित कुनै समन्वय नगरेको, जानकारी नगराएको जिल्ला अस्पतालबाट पनि अनुमति लिएको तथा अरु कुनै प्रक्रिया पूरा नगरेको पाइएपछि प्रक्रियाअनुसार आउन भनिएको बताए । कुनै पनि काम गर्न प्रक्रिया पूरा गर्नुपर्ने भन्दै उनले यस विषयमा अरु कुनै कुरा नभएको बताए । समाचार श्रोत कान्तिपुर 

प्रतिक्रिया