कोशी अस्पतालमा कोरोना संक्रमणबाट एक वृद्धको मृत्यु, काठमाडौं उपत्यकामा ५१ जनामा कोरोना संक्रमण

कोशी अस्पतालमा कोरोना संक्रमणबाट एक वृद्धको मृत्यु, काठमाडौं उपत्यकामा ५१ जनामा कोरोना संक्रमण


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, १९ साउन २०७७
  • 3K
    Shares

विराटनगरको कोशी अस्पतालमा कोरोना संक्रमणबाट एक वृद्धको मृत्यु भएको छ । ज्वरो र स्वासप्रश्वासको समस्या लिएर सोमबार विहान ९ बजे अस्पताल भर्ना भएका विराटनगर महानगरपालिका– ५ का ७७ वर्षका वृद्धको मृत्यु भएको कोशी अस्पताल विराटनगरका मेडिकल सुपरिटेण्डेन्ट डा. चुमनलाल दासले जानकारी दिए ।

वृद्धलाई आइसोलेसनमा राखी अस्पतालले १० बजे स्वाब परीक्षण गर्न पठाएको थियो । उनको सवा ३ बजे मृत्यु भएको थियो भने त्यसको करिब एक घण्टापछि संक्रमण पुष्टि भएको रिपोर्ट आएको हो ।

मधुमेहको समस्यासमेत रहेका वृद्धलाई चार दिनयता ज्वरो र श्वासप्रश्वासमा समस्या देखिएको अस्पतालले जनाएको छ ।

मोरङमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २ पुगेको छ । गत बुधबार सोनवर्षी नगरपालिका ८ का १ जनाको मृत्यु भएको थियो । विराटनगरको मृत्युपछि नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ५८ पुगेको छ ।

यसैबीच, काठमाडौं उपत्यकामा ५१ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा मात्र ४३ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै ललितपुरमा ३ र भक्तपुरमा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितहरु कुन ठाउँका हुन् भन्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खुलाएको छैन ।

प्रदेश २ को मुख्यमन्त्री कार्यालयका ६ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

सोमबार मुख्यमन्त्री कार्यालयका ६ जना कर्मचारीमा कोरोना संक्रमण देखिएको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिए । उनका अनुसार उनीहरु २२ देखि ५२ वर्ष उमेर समूहका छन् । मुख्यमन्त्री कार्यालयमा खटिएका १ जना ट्राफिक प्रहरीमा पनि कोरोना संक्रमण पुष्टि भएको उनले बताए ।

प्रादेशिक अस्पताल जनकपुरधामका दुई जना चिकित्सकसहित १६ जना कर्मचारीमा पनि कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयका सह-निर्देशक विजय झाले जानकारी दिए । झाका अनुसार संक्रमितमध्ये २ जना नर्स हुन् भने अन्य कर्मचारी छन् । उनीहरु २३ देखि ७२ वर्ष उमेर समूहका छन् ।

त्यस्तै, प्रादेशिक प्रयोगशालाका २ जना कर्मचारीमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

जनकपुरधामस्थित ग्लोबल आईएमई बैङ्कका तीन जना कर्मचारी पनि कोरोना संक्रमण देखिएको प्रजिअ भट्टराईले बताए । उनीहरुको थप विवरण पत्ता लगाउने काम भइरहेको उनले बताए ।

प्रतिक्रिया