प्रदेश १ सरकारको ब्यबस्थापन र कोशी अस्पतालले संचालन गरेको विराटनगरस्थित कोभिड–१९ उपचार केन्द्र विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्ड विपरीत रहेको गुनासो आएको छ भने सो केन्द्रमा वितरित खाजामा किरैकिरा भेटिएपछि त्यहाँ उपचाररत ६० जना कोरोना संक्रमितहरूले विरोध जनाएका छन् । केन्द्रमा सोमबार बिहान दिइएको खाजामा किरा भेटिएको हो ।
कोरोना उपचारमा संलग्न हुदाहुँदै आफैं कोरोना संक्रमित भएर सोही केन्द्रमा उपचाररत एक स्वास्थ्यकर्मी महिलाले संक्रमितले यस्तो बेला रोग प्रतिरोधक क्षमता बढाउने खाना दिइनुपर्नेमा चिल्लो–पिरो पुरी र तरकारी दिइएकोमा समेत आश्चर्य प्रकट गरिन् । ‘रुघा लाग्दासमेत चिल्लोपिरो खान दिनु हुन्न,’ उनले भनिन् । खानादेखि शौचालयको सरसफाइसम्म विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्ड उक्त केन्द्रले पूरा नगरेको उनले बताइन् । ‘
यसैबीच, आज बिहान ७ बजे खाजा भनेर दिइएको मटरको तरकारीमा किरैकिरा देखेपछि खान नसकेको उनले गुनासो गरिन । उनले ‘संक्रमित भनेर हेला गरेजस्तो लागेको” बताइन् ।
केन्द्र संयोजक ज्ञानबहादुर बस्नेतले सकेसम्म राम्रै व्यवस्थापन गर्न खोजिएको भएपनि खाना पकाउने क्रममा भएको मानवीय त्रुटिले यस्तो हुन गएको बताए । कमसल खालको पुरानो केराउ प्रयोग भएको स्वीकार्दै उनले राम्रोसँग केलाउँदा पनि कुनैकुनैमा किरा भेटिएको स्पस्ट पारे ।
केन्द्र संयोजक बस्नेतले केन्द्रमा दिनको चार पटक शाकाहारी खाजा–खाना दिइने गरेको जानकारी दिए । उनका अनुसार बिहान ७ र दिउँसो २ बजेको खाजामा कहिले रोटी–तरकारी, कहिले पुरी–तरकारी, कहिले पराठा र कहिले दहीच्युरा दिइन्छ । बिहान ११ र राति ८ बजेको खानामा दाल, भात, हरियो तरकारी, फलफूल, पापड र चिप्सलगायत दिइन्छ । ‘रोग प्रतिरोधक क्षमता बढाउन च्यवनप्राश, अश्वगन्धा र गुर्जो पनि दिन्छौं,’ बस्नेतले भने । समाचार्श्रोत कान्तिपुर दैनिक