कोरोना भाइरस (कोभिड १९) संक्रमण रोकथाम तथा नियन्त्रणका लागि खटाइएका स्वास्थ्यकर्मीहरु काममा नआएपछि प्रहरीले पक्राउ गरेको छ। वीरगञ्ज महानगरपालिकाले खटाएको ठाउँमा नजाने २५ जना स्वास्थ्यकर्मीलाई प्रहरीले पक्राउ गरेको हो।
महामारीको अवस्थामा काममा विभिन्न बहानाबाजी गरेर काममा नखट्ने कर्मचारीलाई समातेर ल्याउन प्रशासनले आदेश दिएपछि उनीहरुलाई पक्राउ गरिएको पर्साका प्रहरी उपरीक्षक गंगा पन्तले जानकारी दिइन् । फरार रहेका अरु पांच जनालाई प्रहरीले खोजी गरिरहेको बताइएको छ।
विपद्का बेला काम नगर्ने कर्मचारीलाई नियन्त्रणमा लिन माथिल्लो निकायबाटै आदेश भएकोले सोही अनुसार निर्देशन दिइएको सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिए।
प्रशासनले कोभिड महामारीमा खटाउन कर्मचारी माग गरेपछि महानगरपालिकाले ३० जना कर्मचारीको विवरण अस्पतालमा पठाएको थियो । जसमध्ये ४ जना जनस्वास्थ्य निरीक्षक, ११ जना सिनियर अहेब (छैटौं), ६ जना हेल्थ असिस्टेन्ट, ५ जना अहेब र ४ जना अनमी पठाएको थियो । तर अस्पतालबाट उनीहरुलाई सम्पर्क गर्दा कसैले पनि सकारात्मक जवाफ नदिएको तितो अनुभव नारायाणी अस्पतालका डा. उदय नारायाण सिंहसँग छ ।
नारायणी अस्पतालमा स्वाब संकलन, थप आइसोलेसन व्यवस्थापन, अस्थयी कोभिड अस्पतालमा आवश्यक जनशक्तिको अभाव छ । त्यसका लागि स्थानीय प्रशासनले महानगरपालिकासँग कर्मचारी मागेको थियो । महानगरको स्वास्थ्य महाशाखाका कर्मचारीले सहयोग गरे थप आइसोलेसन सेन्टर स्थापना गरेर सञ्चालनमा ल्याउन सकिने प्रशासनको निष्कर्ष छ ।