कोरोना संक्रमण कोभिड-१९ का कारण बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा उपचारका क्रममा ज्यान गुमाएका मोरङ सुनबर्सी नगरपालिका- ८ सिक्टीका ४५ वर्षीय पुरुषको मृत्यु संगै नेपालमा कोरोनाकाकारण मृत्यु हुनेको संख्या ५२ पुगेको छ।
सुनबर्सी नगरपालिका मेयर कालिप्रसाद दासकाअनुसार भारतको बिहारमा पर्ने ससुरालीबाट ७/८ दिन अघि मात्र बिरामी अवस्थामा नेपाल घर आएका ती पुरुष स्वास्थ्यमा गम्भिर समस्या भएपछि मंगलबार कोशी अस्पताल, विराटनगर आएका थिए । त्यहाँ स्वाब संकलन गरी परीक्षण गर्दा कोरोना पोजिटिभ आएपछि धरान रिफर गरिएको कोशी अस्पतालका सिनियर फिजिसिन डाक्टर दीपक सिग्देलले जानकारी दिए । उनको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा उपचारका क्रममा नै मृत्यु भएको थियो।
नारायणी अस्पतालमा मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायका अनुसार, पर्सामा मात्रै कोरोना संक्रमणका कारण सात जनाको मृत्यु भएको छ । बुधबार विहान ६८ वर्षीय पुरुषको कोरोना विशेष गण्डक अस्पतालमा र दिउँसो ७१ वर्षीय पुरुषको नेशनल मेडिकल कलेजमा मृत्यु भएको हो।
मिर्गौलामा समेत समस्या देखिएका ७१ वर्षका पुरुष पखाला लागेर उपचारका लागि विभिन्न अस्पताल हुँदै नेशनल मेडिकल कलेजमा पुगेका थिए । उनको मिर्गौलामा समेत समस्या देखिएको थियो र उनको उपचारकै क्रममा मृत्यु भएको नेशनल मेडिकल कलेजका कोभिड फोकल पर्सन डा. असरफ हुसैनले जानकारी दिए ।
अर्का मृतक ६८ बर्षीय पुरुष भने मुटु र निमोनियाका बिरामी रहेको गण्डक कोभिड अस्पतालका कोअर्डिनेटर डा. उदयनारायण सिंहले जानकारी दिए । एडभान्स अस्पतालमा उपचारको क्रममा साउन ७ गते उनमा कोरोना संक्रमण पुष्टि भएपछि उनलाई भोलिपल्ट कोभिड विशेष अस्पतालमा भर्ना गरिएको थियो । गण्डक कोभिड अस्पतालमा ड्युटीमा रहेका डा. निरज सिंहले स्वास्थ्यमा सुधार हुँदै गर्दा अचानक उनको बुधबार बिहान मृत्यु भएको बताए ।
यसैबीच, कोरोना संक्रमण भएर अस्पतालमा उपचार गर्न आउने अधिकांश बिरामीमा कोरोनाका लक्षणहरु देखिने गरेको स्वास्थ्य क्षेत्रमा कार्यरत स्वास्थ्यकर्मीहरुले बताएका छन्।
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अहिले ५९ जना संक्रमितले उपचार गराइरहेका छन् । तीमध्ये ३ जना आईसीयूमा छन् । आइसोलेसनमा रहेका अधिकांश संक्रमितमा कोभिड- १९ को लक्षण देखिएको छ। ‘पहिलेको भन्दा फरक किसिमका केसहरु आएका छन्’ अस्पतालका निर्देशक विष्णुप्रसाद शर्मा भन्छन्, ‘ यहाँ भर्ना भएका केसहरु हेर्दा समुदायमा जोखिम बढेको हो कि भन्ने अनुमान गर्न सकिन्छ ।’
केही समययता संक्रमणको रफ्तार तथ्यांकमा कमजोर देखिए पनि खतरा बढेको जनस्वास्थ्य विज्ञहरु बताउँछन् । अर्थात पहिलेको र अहिलेको कुल परीक्षण र संक्रमित सङ्ख्याको अनुपातको हिसाब गर्दा संक्रमण झन् बढेको देखिन्छ ।
जस्तो कि, बुधबार ६ हजार ३७ जनाको परीक्षण गर्दा २१० जनामा संक्रमण देखियो भने हिजो मंगलबार ५ हजार ३२ जनाको परीक्षण गर्दा ३११ जनामा संक्रमण पुष्टि भयो।
स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार लकडाउन कायमै रहेका बेला असार ३१ देखि साउन ६ गतेसम्म ३४ हजार ४९७ नमुनाको पीसीआर परीक्षण गरिएकामा १ हजार ४९ जनामा कोरोना पोजिटिभ देखिएको थियो । लकडाउन हटेपछि साउन ७ देखि १४ गतेसम्म २० हजार ७२ नमुना परीक्षण गर्दा १ हजार २८९ जनामा संक्रमण देखिएको छ ।
संक्रमितको तथ्यांकजस्तै पछिल्लो समय मृत्युको रफ्तार पनि बढेको छ। गएका १४ दिनमा मात्रै कोरोना संक्रमित १२ जनाले ज्यान गुमाइसकेका छन्। जबकि पहिलो मृत्यु भएको सवा तीन महिनामा मृत्यु हुनेको सङख्या ४० पुगेकै थिएन ।
स्वास्थ्य मन्त्रालयको तथ्याकंअनुसार असारको अन्तिम सातादेखि देखिएका धेरै संक्रमितहरू क्वारेन्टिन बाहिरका हुन् । मन्त्रालयले जारी गरेको टेस्टिङ प्रोटोकल अन्तर्गत भेटिएका यी संक्रमितमध्ये थोरै मात्र विदेशबाट फर्किएकाहरु हुन् । कतिपय संक्रमित अन्य रोगको उपचार गराउन जाँदा भेटिएका छन् । यी मध्ये धेरैको संक्रमण स्रोत भेटिएको छैन ।
पछिल्लो समय झन् खतरा बढेको पुष्टि गर्न यिनै उदाहरण धेरै हुने संक्रामक रोग विशेषज्ञ डा. प्रभात अधिकारी बताउँछन् । ‘परीक्षणको दायरा घटाउँदा पनि दिनहुँ केस बढ्नु पक्कै पनि राम्रो लक्षण होइन, थोरै परीक्षण गरेर धेरै संक्रमित भेटिएनन भन्नु बेतुकको कुरा हो’ संक्रामक रोग विशेषज्ञ डा. अधिकारी भन्छन्,’ खतरा टरेको होइन, झन् बढेको हो ।’
परीक्षणको दायरा नबढाउने र कन्ट्याक ट्रेसिङ चुस्त नबनाउने हो भने संक्रमण अनुमान गरेभन्दा व्यापक फैलिने डा. दीक्षित बताउँछन् । ‘योबेला राज्य निदायो भने समुदायमा संक्रमण फैलिन बेर लाग्दैन’ डा. दीक्षित भन्छन्, ‘धेरै कुरा नियन्त्रण बाहिर गइसके पनि अझै असम्भव भन्ने केही छैन ।’
समुदायमा संक्रमण फैलिएको थाहा पाउन अहिलेको परीक्षण पर्याप्त नहुने डा. अधिकारी बताउँछन् । स्वास्थ्य मन्त्रालयले मास टेस्टिङ गर्ने भनेर १० हजार मानिसको नमुना परीक्षण गर्दैमा उपत्यकाको संक्रमणको वास्तविक अवस्था थाहा नहुने उनको तर्क छ ।
‘४० लाख मानिस बसोबास रहेको शहरको १०/२० हजार जनामा परीक्षण गरेर के हुन्छ ? ‘ उनी सोध्छन्, ‘सरकारले अहिले नै खर्च धान्न नसकेर खर्च उठाएको हो भने भयावह अवस्था आउँदा झन् के होला ?’
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतम अहिलेको उपयुक्त विकल्प मास टेस्टिङ रहेको बताउँछन् । मास टेस्टिङ गर्दा संक्रमणको वास्तविक अवस्था थाहा हुने बताउँदै उनी भन्छन्, ‘ हामी कोरोना नियन्त्रणमा गम्भीरतापूर्वक लागेका छौं ।’