प्रहरी प्रधान कार्यालयको सवारी व्यवस्थापन शाखामा कार्यरत एक हवल्दार तथा सञ्चार निर्देशनालयमा कार्यरत तीन जनामा कोरोना संक्रमण देखिएको छ । तर, प्रहरी मुख्यालयले यसबारे आधिकारिक सूचना सार्वजनिक गरिसकेको छैन । मुख्यालय उच्च स्रोतका अनुसार थप अन्य केहीमा पनि संक्रमणको आशंका गरिएको छ ।
हवल्दारमा कोरोना पुष्टि भएपछि उनी बस्ने ब्यारेकका १६–१७ जना प्रहरीको पीसीआर परीक्षणका लागि स्वाब नमुना लिएर आइसोलेसनमा राखिएको छ ।
यस्तै मुख्यालयभित्रै रहेको सञ्चार निर्देशनालयमा कार्यरत तीन जनालाई पनि संक्रमणको आशंका गरिएको छ । उनीहरुमा ज्वरोसहितका लक्षण देखिएपछि पीसीआर परीक्षण गरिएको थियो । प्रयोगशालाबाट पीसीआर रिपोर्ट आए पनि ३ जनाको नतिजा प्रहरीले सार्वजनिक गरेको छैन । उनीहरु तीन जनामध्ये एक प्रहरी मेसमा सहयोगीका रुपमा काम गर्थे भने २ प्रहरी मेसका लागि आवश्यक सामग्री ल्याउने काम गर्थे ।
केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी निरजबहादुर शाहीले प्रहरी अस्पतालमा गरिएको परीक्षणमा चार जनालाई संक्रमण देखिए पनि थप पुष्टिका लागि टेकु अस्पताल पठाइएको अनलाइनखबरलाई बताए ।
चार जनामा पुष्टि भएपछि थप प्रहरीको स्वाब संकलन गरेर परीक्षणको लागि पठाइने तयारी भइरहेको प्रवक्ता शाहीले भने । हालसम्म देशभर १ सय १५ प्रहरी संक्रमित छन् ।