कोरोना समुदायमा पुगेको संकेत : परीक्षणको दायरा बढाउन विज्ञको सुझाव

कोरोना समुदायमा पुगेको संकेत : परीक्षणको दायरा बढाउन विज्ञको सुझाव


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, १० साउन २०७७
  • 3.7K
    Shares

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय आय्प्जना गरेको कार्यक्रममा स्वास्थ्य बिज्ञहरु

श्रीमतीको उपचारका लागि भारत गएका सप्तरीका ७२ वर्षीय बृद्धको साउन २ गते कोरोना संक्रमण पुष्टि भएको केही घण्टामै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा निधन भयो। श्रीमतीको उपचार गरेर असार २० गते नेपाल फर्किएका मुटु रोगका बिरामी उनलाई श्वासप्रश्वासमा समस्या थियो।

७२ वर्षीय कोरोना संक्रमितको मृत्यु भएपछि कन्ट्याक ट्रेसिङका क्रममा परिवारका सदस्य र पसलमा काम गर्नेसहित १९ जनाको स्वाब संकलन गरेर परीक्षण गरियो । उनका परिवारका ५ जना र कर्मचारी र व्यापारिक साझेदारसहित सात जना पोजेटिभ देखिए ।

गजेन्द्रनारायण सिंह अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. रंजित झा २९ जनामा भेटिएको संक्रमणको स्रोत ७२ वर्षीय बृद्धको परिवार भएको बताउँछन् । उनले भने, ‘उहाँहरु भारतबाट आउनुभएको थियो । परिवारको कुनै सदस्यमा संक्रमण थियो र, त्यहीबाट अरुमा सर्‍यो । र, समुदायमा पुगेको देखिन्छ ।’

यसैबीच, स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालकै उपस्थितिमा मन्त्रालयले शुक्रबार गरेको छलफलमा जनस्वास्थ्य विज्ञहरुले कोरोना परीक्षणको दायरा बढाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई सुझाव दिएका छन् ।  उनीहरुले देशभरमा संचालित ३३/३४ वटा प्रयोगशालाबाट दैनिक करीब चार हजार जनाको स्वाब परिक्षण हुने गरेको उल्लेख गर्दै परीक्षणको दायरा बढाउनुपर्ने कुरामा जोड दिए।  त्यस्तै विज्ञहरुले समुदाय स्तरमा संक्रमण गएको संकेतहरु देखिएकाले पनि परीक्षणको दायरा बढाउनुपर्ने बताए ।

नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा‍‍. भगवान कोइरालाले विदेशबाट आएका सबैमा कोरोना परीक्षण गर्नुपर्नेमा जोड दिए ।

संक्रामक रोग विशेषज्ञ डा. अनुप सुवेदीले स्वास्थ्यकर्मी र अस्पतालमा संक्रमण हुनबाट जोगाउनुपर्ने बताएका छन् । जनस्वास्थ्यविद डा‍. सुजन मरहठ्ठाले कोरोनाको व्यपकता अझै फैलिने सम्भवना रहेको भन्दै यससँग सम्बन्धित थप अध्ययन र अनुसन्धानमा जोड दिए ।

डा. समिरमणि दीक्षितले कोरोना भाइरसको जिन सिक्वेन्सिङ गरेर वास्तविक अवस्था पत्ता लगाउनुपर्ने बताए । छलफलमा नेपाल मेडिकल एसोसिएसनका अध्यक्ष डा. लोचन कार्कीले स्वास्थ्यकर्मीलाई महामारीबाट जोगाउन विशेष ध्यान दिनुपर्ने बताएका छन् ।

छलफलमा विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का नेपाल प्रतिनिधि डा. जोस भ्यान्डेलरले खास ठाउँमा देखिएको संक्रमणलाई समूदायको भन्न नमिल्ने बताए । तर समुदायमा व्यापक संक्रमण हुन नदिन अझै सतर्कता अपनाउनुपर्नेमा उनले जोड दिए ।

छलफलमा स्वास्थ्यमन्त्री ढकालले भने विदेशबाट आउने सबै नागरिकको कोरोना परीक्षण गरिने बताए । भारतबाट स्वदेश फर्किने नागरिकहरूको सीमा नाकामै स्वाब संकलन गरेर र विमानस्थल हुँदै नेपाल आउने नागरिकको होल्डिङ सेन्टरमा राखेर पाँचदिनपछि स्वाब संकलन गरेर कोरोना परीक्षणको काम भइरहेको उनले बताए ।

प्रतिक्रिया