पर्सा जिल्लामा समुदायमा कोरोना संक्रमणको संकेत ! राज्यको गलत नीतिका कारण कोरोना समुदायमा फैलिएको वीरगन्जका मेयर सराबगीको आओप

पर्सा जिल्लामा समुदायमा कोरोना संक्रमणको संकेत ! राज्यको गलत नीतिका कारण कोरोना समुदायमा फैलिएको वीरगन्जका मेयर सराबगीको आओप


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, ९ साउन २०७७
  • 4.6K
    Shares

पर्सामा कोरोना संक्रमणबाट मृत्यु भएका व्यक्तिबाट न्रित्यु भएका व्यक्तिको दाहसंस्कार गरिदै

वीरगञ्ज–६ माईस्थानका श्यामनारायण वर्णवालको घरमा गहना पसल छ । छोरा प्रभाकरले संचालन गर्ने त्यस गहन पसलमा श्याम्नारायाना त्यति धेरै बस्दैनथे।  उनी गहना पसलमा आएपनि काउन्टरमा बस्दैनथे।  तर काउन्टरको धेरै पछाडी बस्ने आफ्ना ७० वर्षका बुबा श्यामनारायन को कोरोना संक्रमणका कारण मंगलबार मृत्यु भएको खबरले प्रभाकरलाई सार्है दुखित बनाएको छ र अचम्मित पनि बनाएको छ।

विभिन्न अस्पताल हुँदै गण्डक अस्पतालमा लगिएका आफ्ना बुबाको मृत्युका बारे प्रभाकर अघि भन्छन, ‘उहाँलाई कसरी कोरोना संक्रमण भयो, अचम्ममा छौं ।’

कोही कसैसंग सम्पर्क नहुने श्यामनारायणको मृत्यु कोरोना संक्रमणका कारण भएपछी पर्सामा समुदाय स्तरमा संक्रमणको संकेत देखिइसकेको जनस्वास्थ्य विज्ञहरु बताउँछन् ।

नारायणी अस्पताल, वीरगञ्जका मेडिकल सुपरिपेन्डेन्ट डा. मदन उपाध्यायका अनुसार सो अस्पतालमा आफैले पैसा तिरेर पिसिआर परिक्षण गरेका एकसय ८८ जनामध्ये २५ जनामा कोरोना संक्रमण देखिएको छ । कोरोना संक्रमणको शंका लागेर भन्दा पनि काठमाडौं जानुपर्ने, कार्यालय फर्किनुपर्ने जस्ता कारणले मानिसहरुले आफैं ५ हजार ५०० रुपैयाँ तिरेर पीसीआर टेष्ट गराउने गरेका छन् । यसरी परिक्षण गरिएका मध्ये विद्यार्थी, कर्मचारी, सुरक्षाकर्मी र उद्योग व्यवसाय गर्नेहरु सबै परेका छन्। यसले समुदायमा एउटा स्तरमा कोरोना संक्रमण छ भन्ने बुझ्नुपर्ने डा. उपाध्याय बताउँछन् ।

हुन पनि वीरगञ्जमा मात्र होइन, पर्सामा भेटिएका धेरै संक्रमितको संक्रमणको स्रोत पत्ता लागेको छैन । वीरगञ्जमा पहिलो पटक २९ चैतमा तीन भारतीय जमातीमा देखिएको कोरोना संक्रमणको समेत स्रोत पत्ता लागेको छैन ।

जनस्वास्थ्य विज्ञहरुका अनुसार धेरै केसको संक्रमण स्रोत पत्ता नलाग्नु भनेकै समुदायमा संक्रमण भएको संकेत हो ।तर, समुदायमा कुन स्तरमा संक्रमण छ भन्ने पत्ता लागाउन समुदायमै गएर व्यापक परीक्षण गर्नुपर्ने डा. मदन उपाध्याय बताउँछन् ।

वीरगञ्ज महानगरपालिकाले एक घर, एक पीसीआर टेष्टको नारा दिएको छ । उसले नागरिक स्तरबाट रकम उठाएर नारायणी अस्पतालमा पीसीआर मेसिन पनि थप गरेको छ । तर, डा. उपाध्याय भने संक्रमित भेटिएको पकेट क्षेत्रमा व्यापक परीक्षण गर्नुपर्ने बताउँछन् । उनले भने, ‘कन्ट्याक ट्रेसिङमा सिमित मान्छे मात्र पर्छन्, त्यसैले पकेट क्षेत्रमा ब्यापक परीक्षण गर्नु उपयुक्त हुन्छ ।’

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतम पनि समुदायमा गएर अलि धेरै स्वाब संकलन गर्न निर्देशन दिइसकेको बताउँछन् । त्यसको नजिता आएपछि समुदायमा संक्रमण छ/छैन भन्न सकिने उनको भनाई  छ।

पर्साका प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीको अध्यक्षतामा बसेको कोभिड–१९ टास्क फोर्सको बैठकले निषेधाज्ञा र परीक्षणलाई सँगसँगै लैजानुपर्ने निष्कर्ष निकालेको छ । ‘निषेधाज्ञा लगाएर मात्रै नहुने भयो, मास टेष्टिङको कामलाई पनि सँगसँगै अगाडि बढाउनुपर्ने हुन्छ’ सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले भने, ‘त्यसका लागि महानगर प्रमुख, राजनीतिक दलसँग छलफल गर्ने र निर्णयमा पुग्ने सहमति भएको छ ।’

उता वीरगन्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगी राज्यको गलत नीतिका कारण वीरगन्जमा कोरोना समुदायमा फैलिएको बताउँछन् । ‘सुरुदेखि नै मैले भन्दै आएको थिएँ कि एक ठाउँमा ४ जना भेला हुन नदिउँ, नाकामा कडाई गरौं,’ उनले भने, ‘तर, स्थानीय प्रशासनले मतलब राखेनन्, नाका खुल्ला बराबर नै छ ।’

सरकारले भारतसँग जोडिएका सीमा नाकाहरु बन्द गर्ने निर्णय गरे पनि त्यो लागू नभएको उनी बताउँछन् । ‘सरकारले नेपाल-भारतको बोर्डर शील गरेर आवागमन ठप्प गर्ने निर्णय गरेको छ,’ मेयर सरावगीले भने, ‘तर, यहाँ दैनिक सयौंको संख्यामा मान्छेको ओहोरदोहोर भइरहेको छ । नाकाबाट विगतझैं चोरी तस्करीको धन्दा जारी नै छ ।’

सरकारले कल–कारखाना खोल्ने निर्णय गरेसँगै घर गएका भारतीय कामदार पुन फर्किएको उल्लेख गर्दै उनले भने, ‘जब बोर्डर शील छ, तब कामदार कहाँबाट आए ?’ मेयर सरावगीले भने, ‘अहिले चालु रहेका उद्योगमा भारतीय कामदार काम गरिरहेका छन् । ‘सुरक्षा निकायले बोर्डरबाट हुने आवागमन रोक्न सकेनन्,’ उनले भने, ‘भित्रभित्रै वीरगन्जको अवस्था भयावह भइसकेको छ ।’ वीरगन्जमा तीव्र परीक्षण गरियो भने हजारभन्दा बढी संक्रमित फेला पर्नसक्ने उनको अनुमान छ । सबभन्दा डरलाग्दो कुरा के छ भने, पहिलेको कोरोना संक्रमितमा लक्षण थिएन, अहिले करिब सबैमा लक्षण देखिएको छ,’ उनले भने, ‘ज्वरो, झाडापखाला, घाँटी दुख्ने लक्ष्यण छ र एउटै घरमा ४/५ जना संक्रमित देखिएका छन् ।’

नारायणी अस्पतलको ओपीडी, जेनरललगायतको हरेक सेवा सुचारु भइसकेको छ । अस्पतालकै भवनमा पीसीआर परीक्षण प्रयोगशाला पनि सञ्चालनमा छ । स्वाब परीक्षण समेत नारायणीमै गर्ने गरिएको छ । यसले पनि संक्रमण फैलाएको उनले बताए ।

गण्डक कोभिड विशेष अस्पतालमा उपचाररत ५ जना कोरोना संक्रमित आईसीयूमा छन् । एकजनाको अवस्था गम्भीर भएकाले काठमाडौं पठाउन हेलिकप्टर माग गरिएको छ । २२ जनामा सामान्य लक्षण देखिएको छ भने अन्यको अवस्था सामान्य रहेको अस्पतालका को–अर्डिनेटर उदयनारायण सिंहले जानकारी दिए ।

प्रतिक्रिया